
News Summary
Generated by OK AI. Editorially reviewed.- जेन–जी आन्दोलनले पुरानो राजनीतिक संरचना र नेतृत्वलाई चुनौती दिँदै नयाँ युगको सुरुवात गरेको छ र तत्कालीन प्रधानमन्त्रीलाई पदत्याग गर्न बाध्य पारेको छ।
- यो आन्दोलनले पहिलो पटक सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गराएर महिला नेतृत्वको सम्भावना स्थापित गरेको छ र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाएको छ।
- जेन–जी आन्दोलनले युवाहरूमा राजनीतिक चेतना बढाएको छ र नयाँ निर्वाचनको घोषणाले वैकल्पिक नेतृत्व छान्न अवसर प्रदान गरेको छ, तर यसको दिगोपनका लागि संगठनात्मक चुनौतीहरू छन्।
नेपालको राजनीतिक इतिहासलाई फर्केर हेर्दा, विभिन्न समयमा भएका परिवर्तनकारी आन्दोलनहरूले समाजलाई नयाँ दिशा गरेका छन्। राणा शासनविरुद्ध २००७ सालमा भएको क्रान्तिले १०४ वर्षको निरंकुश पारिवारिक शासनको अन्त्य गर्यो। पञ्चायत शासनकविरुद्ध २०४६ सालमा भएको जनआन्दोलनले बहुदलीय व्यवस्था पुनर्स्थापना गर्यो।
२०५२ बाट सुरु भएको माओवादी जनयुद्धले गणतन्त्र स्थापनाका लागि जग बसाल्यो। २०६२/६३ को दोस्रो जनआन्दोलनले नेपाली समाजलाई क्रमशः लोकतान्त्रिक बाटोमा अघि बढायो। मधेश आन्दोलनले मधेशलाई हेर्ने राज्यको चस्मा केही हदसम्म सफा गर्यो।
माथि उल्लेख यी आन्दोलनहरूले व्यवस्था परिवर्तन गरे, तर राजनीतिक नेतृत्वले जनताका अपेक्षाअनुसार काम नगर्दा निराशा र असन्तुष्टि बढ्दै गयो। यही पृष्ठभूमिमा हालै देखा परेको जेन–जी आन्दोलनले पुरानो राजनीतिक संस्कृति र संरचनालाई चुनौती दिँदै एउटा नयाँ युगको सुरुवात गरेको छ। यो आन्दोलन केवल आक्रोशको विस्फोट मात्र नभई, भविष्यको पारदर्शी र जवाफदेही शासन प्रणालीको आधारशिला निर्माण गर्ने सामर्थ्य बोकेको एक महत्त्वपूर्ण सामाजिक र राजनीतिक घटना हो।
जेन–जी आन्दोलनको उदयलाई केवल तात्कालिक घटनाका रूपमा हेर्नु अपूरो हुन्छ। यसको मूल औचित्य दशकौंदेखि नेपालको राजनीतिक प्रणालीमा जकडिएको संरचनागत अकर्मण्यता र नैतिक क्षयीकरणमा निहित छ। विगतका आन्दोलनहरूले व्यवस्था परिवर्तन गरे, तर ती व्यवस्था सञ्चालन गर्ने प्रवृत्तिहरू पुरानै रहे।
राजनीतिक दलहरू सत्ताका लागि मात्र सीमित भए, जसले गर्दा बारम्बारको सरकार परिवर्तन, अस्थिरता, नातावाद, कृपावाद र गुटबन्दीले राज्य संयन्त्रलाई पङ्गु बनायो। जब राजनीतिक नेतृत्वले जनतालाई भविष्यको आशा दिनुभन्दा बढी निराशा दिन थाल्यो, युवापुस्तामा एक प्रकारको राजनीतिक शून्यताको भावना उत्पन्न भयो।
यही शून्यतालाई चिर्दै जेन–जी आन्दोलनको जन्म भयो, जसले ‘हामी आफ्नै भविष्यका निर्माता आफैं हौं’ भन्ने सन्देश दियो। यो आन्दोलनले राजनीतिक दलहरूको असफलता र देशको वर्तमान अवस्थाप्रति युवाहरूको सामूहिक निराशालाई प्रतिविम्बित गर्यो।
यो आन्दोलनको उदयको अर्को महत्त्वपूर्ण कारण डिजिटल क्रान्ति हो। जेन–जी पुस्ता इन्टरनेट र सामाजिक सञ्जालको युगमा हुर्केको पुस्ता हो। उनीहरूले विश्वभरका राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्न सक्छन्। जब उनीहरूले अन्य देशमा भइरहेका प्रगति र आफ्नै देशमा व्याप्त कुशासन, भ्रष्टाचार र राजनीतिक अस्थिरताबीचको असमानता देखे, उनीहरूमा विरोधको भावना जागृत भयो। यसले उनीहरूलाई परम्परागत राजनीतिको साटो आफ्नै तरिकाले आवाज उठाउन प्रेरित गर्यो।
यो आन्दोलन राजनीतिक आक्रोश मात्र नभई, यसले तय गरेका केही गम्भीर आधारहरू पनि छन्। नेपालमा हरेक वर्ष लाखौं युवाहरू रोजगारीका लागि विदेशिन बाध्य छन्। देशभित्र उत्पादनमूलक क्षेत्रको विकास नहुनु, लगानीमैत्री वातावरणको अभाव र नीति कार्यान्वयनमा देखिने अक्षमताले युवाहरूलाई भविष्यविहीन बनाएको छ।
जेन–जी आन्दोलन केवल राजनीतिक नारामा सीमित नभई, ‘देशमै रोजगारी, देशमै भविष्य’ भन्ने गहिरो आर्थिक मुद्दाको अभिव्यक्ति पनि हो। साथै, हाम्रो शिक्षा प्रणाली महँगो र डिग्री केन्द्रित मात्र हुँदा यो सीप र रोजगारीसँग जोडिन सकेको छैन, जसले शिक्षित तर बेरोजगार युवाको पीडालाई थप बढाएको छ र आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गरेको छ।
भ्रष्टाचार, सार्वजनिक सम्पत्तिको दुरुपयोग र नेतृत्वको गैर–जवाफदेहिताले नागरिकहरूमा राज्यप्रतिको विश्वास गुमेको थियो। जेन–जी पुस्ताले यसलाई स्वीकार गर्न सकेन र आफ्नो हक स्थापित गर्न सडकमा उत्रियो। यो आन्दोलन परम्परागत राजनीतिक दलहरूको नेतृत्व र संगठनबाट नभई, डिजिटल प्रविधिमार्फत स्वतःस्फूर्त रूपमा विकसित भयो।
उनीहरूले सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, टिकटक) लाई आफ्नो आवाज, विचार र संगठनको मुख्य हतियार बनाए। यसले आन्दोलनलाई छोटो समयमै व्यापक बनाउन र नयाँ पुस्ताको शक्तिलाई उजागर गर्न मद्दत गर्यो।

यो आन्दोलनले नागरिक समाजलाई पनि नयाँ ढङ्गले संगठित हुने बाटो देखाएको छ। परम्परागत नागरिक समाजका अगुवाहरूले राजनीतिक दलहरूसँग निकटता राख्दा उनीहरूको विश्वसनीयतामाथि प्रश्न उठेको थियो। जेन–जी आन्दोलनले स्थापित संरचनालाई बाइपास गर्दै सीधा जनतासँग जोडिने र उनीहरूको वास्तविक पीडालाई सतहमा ल्याउने काम गर्यो, जसले नागरिक समाजको परिभाषालाई नै फराकिलो बनायो।
यो आन्दोलनले छोटो समयमै केही ठोस र ऐतिहासिक उपलब्धिहरू हासिल गरेको छ। यसले तत्कालीन प्रधानमन्त्रीलाई पदत्याग गर्न बाध्य पार्यो। यो घटनाले स्थापित राजनीतिक नेतृत्वलाई स्पष्ट सन्देश दिएको छ कि जनताको शक्ति अझै पनि बलियो छ र जनइच्छाविपरीत कुनै पनि नेतृत्व लामो समय टिक्न सक्दैन। यसले राजनीतिक नेतृत्वमा नैतिकता र जवाफदेहीताको आवश्यकता महसुस गराएको छ।
यस आन्दोलनको सबैभन्दा ठूलो र ऐतिहासिक उपलब्धि भनेको सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरिनु हो। नेपालको इतिहासमा पहिलो पटक महिलाले सरकारको नेतृत्व सम्हाल्ने अवसर पाइन्। यसले लैङ्गिक समानताको संघर्षलाई नयाँ आयाम दिएको छ र समाजमा महिला नेतृत्वको सम्भावनालाई स्थापित गरेको छ।
सरकारले आन्दोलनको दबाबमा सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध हटाउनु पर्यो। यसलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रताको ठूलो विजयका रूपमा लिइएको छ र भविष्यमा सरकारलाई नागरिकको डिजिटल अधिकार कुण्ठित गर्नबाट रोक्ने सन्देश दिएको छ।
जेन–जी आन्दोलन सफल भए पनि यसले दीर्घकालीन प्रभाव छोड्ने निश्चित छ। यो आन्दोलनको सबैभन्दा दूरगामी प्रभाव भनेको युवाहरूमा राजनीतिक चेतनाको अभूतपूर्व वृद्धि हो। यसले ‘राजनीति पुराना पुस्ताको खेल हो’ भन्ने धारणालाई तोडिदिएको छ।
अब युवाहरूले राजनीतिलाई आफ्नो जीवन, अधिकार र भविष्यसँग जोडेर हेर्न थालेका छन्। यो चेतनाको जागरणले भविष्यमा नेपालको राजनीतिक परिदृश्यमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने सम्भावना छ।
आन्दोलनपश्चात् नयाँ निर्वाचनको घोषणाले पुराना राजनीतिक संरचनालाई चुनौती दिएको छ र नयाँ पुस्तालाई वैकल्पिक नेतृत्व छान्न अवसर प्रदान गरेको छ। यसले राजनीतिक प्रणालीमा सुधार ल्याउने ढोका खोलेको छ।
आन्दोलनले प्रभावसँगसँगै केही गम्भीर चुनौतीहरू पनि खडा गरेको छ। जेन–जी आन्दोलनले धेरै उपलब्धिहरू हासिल गरे पनि यसका आफ्नै गम्भीर चुनौतीहरू छन्, जसको सम्बोधन गरिएन भने उपलब्धिहरू क्षणिक बन्न सक्छन्।
यो आन्दोलन स्वतःस्फूर्त र नेतृत्वविहीन भएकाले यसलाई दिगो राजनीतिक संरचनामा रूपान्तरण गर्न कठिन छ। यदि यसलाई उचित संगठनात्मक स्वरूप दिन सकिएन भने, यो ऊर्जा छोटो समयमै हराउन सक्छ।
पुराना राजनीतिक दलहरूले यो आन्दोलनलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने खतरा छ। यदि उनीहरूले आन्दोलनको मूल उद्देश्यलाई कमजोर बनाउन खोजे भने, युवाहरूमा निराशा बढ्ने सम्भावना छ।
आन्दोलनका क्रममा केही स्थानमा देखिएको आगजनी र तोडफोडले यसको विश्वसनीयतामाथि प्रश्न उठाएको छ। यदि यस्ता हिंसात्मक गतिविधिहरू नियन्त्रण गर्न सकिएन भने, आन्दोलनको नैतिक आधार कमजोर हुन सक्छ।
सरकार परिवर्तन हुनु मात्र पर्याप्त हुँदैन। न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र आर्थिक प्रणालीमा जकडिएका विकृतिहरूलाई हटाउनु सबैभन्दा ठूलो चुनौति हुनेछ। यो आन्दोलनको ऊर्जाले मात्र यी संरचनागत सुधारहरू सम्भव नहुन सक्छ।
नेपालको भू–राजनीतिक संवेदनशीलताका कारण छिमेकी राष्ट्र वा अन्य शक्तिहरूले आन्दोलनलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने सम्भावना रहन्छ। यसले आन्दोलनको विश्वसनीयता र राष्ट्रिय हितमाथि खतरा निम्त्याउन सक्छ।

जेन–जी आन्दोलन नेपालमा राजनीतिक चेतनाको एउटा नयाँ अध्यायको सुरुवात हो। यसले पुरानो राजनीतिक संस्कृति र असफलताप्रति युवाहरूको आक्रोशलाई सशक्त रूपमा प्रस्तुत गरेको छ। यो केवल आक्रोशको अभिव्यक्ति नभई, पारदर्शी, जवाफदेही र समावेशी शासनको लागि एउटा महत्त्वपूर्ण प्रयास हो।
सरकार परिवर्तन, महिला नेतृत्वको उदय र अभिव्यक्ति स्वतन्त्रताको पुनर्जागरणजस्ता यसका उपलब्धिहरूले भविष्यका लागि आशा जगाएका छन्। तर, यी उपलब्धिहरूलाई दिगो बनाउन संगठनात्मक संरचना निर्माण, भ्रष्टाचार नियन्त्रण र दूरगामी नीति–निर्माणमा ध्यान दिनु जरुरी छ।
यदि यो आन्दोलनको ऊर्जालाई सही दिशामा प्रयोग गरियो भने, जेन–जी आन्दोलनले नेपाललाई एउटा नयाँ र उन्नत राजनीतिक संस्कृतिमा प्रवेश गराउनेछ, जसले देशको भविष्यलाई उज्ज्वल बनाउन सक्छ। सकिएन भने उही देश एउटा खाल्डोबाट अर्को खाल्डोमा भनेझैँ मात्रै हो।
प्रतिक्रिया 4