
News Summary
Generated by OK AI. Editorially reviewed.- साउन २०७९ मा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ भने भारतमा २.०७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
- साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशत ऋणात्मक र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ।
- साउनमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.२६ प्रतिशत र थोक मुद्रास्फीति २.३७ प्रतिशत रहेको राष्ट्र बैंकले खुलाएको छ।
३० भदौ, काठमाडौं । नेपालको अर्थतन्त्र आयातमा निर्भर छ । अन्तर्राष्ट्रिय व्यापारको करिब ६४ प्रतिशत हिस्सा भारतमै निर्भर हुँदा पनि नेपालको मूल्यवृद्धि भारतभन्दा कम भएको देखिएको हो ।
चालु आर्थिक वर्ष पहिलो महिना साउनमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत छ । अगस्ट २०२५ मा भारतमा यस्तो मुद्रास्फीति २.०७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
आन्तरिक उत्पादन सुधार आउन नसक्दा पनि भारतभन्दा न्यून मूल्यवृद्धि देखिएको हो । राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ मुद्रास्फीति ऋणात्मक भएसँगै मूल्यवृद्धि न्यून भएको हो ।
गत साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.६८ प्रतिशत छ । गत आव साउन ४.०९ प्रतिशत थियो । चालु आव साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशत ऋणात्मक र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत छ । गत आव सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ६.१७ र २.९४ प्रतिशत थियो ।
चालु आव साउनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घिउ तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.९७ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थ ४.६४ र फलफूलको ३.०१ प्रतिशतले बढेको छ ।
यस्तै तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १८.५६ प्रतिशत, मरमसला ४.८१ र माछा तथा मासुको २.४१ प्रतिशत घटेको छ ।
गैरखाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.६० प्रतिशत, शिक्षा ७.६७, कपडाजन्य तथा जुत्ताचप्पल ६.८४, फर्निसिङ तथा घरायसी उपकरण ५.०६ र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२२ प्रतिशत घटेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.६५ प्रतिशत र सहरी क्षेत्रको १.७० प्रतिशत बढेको छ ।
यसैगरी कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.८४ प्रतिशत, मधेश १.८६, बागमती १.६७, गण्डकी १.०३, लुम्बिनी १.३५, कर्णाली १.७९ र सुदूरपश्चिमको ०.३१ प्रतिशत छ ।
चालु आव साउनमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.२६ प्रतिशत, तराई १.३३, पहाड १.५६ र हिमालको २.५९ प्रतिशत छ ।
साउनमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.३७ प्रतिशत छ । गत आव सोही महिना ३.६६ प्रतिशत थियो । साउनमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.५७ प्रतिशत, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ०.१२ प्रतिशत ऋणात्मक र २.९६ प्रतिशत छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकांक ४.०८ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया 4