+
+
Shares

घृणाजन्य अभिव्यक्ति बन्द गर्न नेताहरूलाई मानव अधिकार आयोगको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ५ गते १५:२७

५ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न क्षेत्रका व्यक्तिहरूबाट घृणाजन्य अभिव्यक्ति आएको भन्दै ध्यानाकर्षण गराएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले केही व्यक्ति, समूह र दलका नेताहरुबाट विभिन्न कोणबाट घृणाजन्य अभिव्यक्ति आएको र यस प्रकारका कार्यबाट हिंसात्मक कार्यलाई थप बल पुग्न जाने अवस्थाप्रति ध्यानाकर्षण गराएको हो ।

‘विकसित परिस्थितिप्रति आफ्नो धारणा राख्न पाउने एवम् कुनै सार्वजनिक व्यक्तिले गरेका कामप्रति टिप्पणी गर्न पाउने नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारको विषय हो,’ आयोगले भनेको छ, ‘तर यस्ता अभिव्यक्तिहरू संयमित, मर्यादित र मानव अधिकारको मूल्य मान्यताको परिधिभित्र रहेर गर्नुपर्ने हुन्छ ।’

हिंसात्मक कार्यलाई प्रश्रय पुग्ने गरी गतिविधिहरु नगर्न र विकसित राजनीतिक परिस्थितिमा संयमित भएर उचित निकास खोज्ने कार्यमा लाग्न आयोगले आग्रह गरेको छ ।

‘आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा ठेस पुग्ने खालका अभिव्यक्ति नदिन, घृणाजन्य अभिव्यक्तिबाट समाजमा सिर्जना हुनसक्ने हिंसात्मक अवस्थाप्रति सचेत हुँदै कुनै पनि हिंसात्मक कार्यलाई प्रश्रय पुग्ने गरी गतिविधिहरू नगर्न र विकसित राजनीतिक परिस्थितिमा संयमित भएर उचित निकास खोज्ने कार्यमा लाग्न आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ,’ आयोगले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?