७ असोज, जनकपुरधाम । सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका-१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार आज बिहान बालकको शव फेला परेको हो । घरभन्दा केही पर आँप बगैंचामा उनको शव फेला परेको हो ।
घटनाको अनुसन्धान थालिएको र डग टोली बोलाउने तयारी भएको उनले बताए ।
परिवारका अनुसार अभिषेक गत आइतबार राति ८ बजे बेपत्ता भएका थिए । परिवारले रातभरि खोजतलास गर्दा पनि फेला परेनन् ।
सोमबार बिहान करिब ८ बजे अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा अपहरण भएको र फिरौती मागिएको म्यासज आएको थियो । यसबारे परिवारले प्रहरीमा खबर गरेका थिए । प्रहरीमा सोमबार नै खबर आएको सूचना अधिकारी यादवले जानकारी दिए ।
अपहरणकारीले हिन्दीमा पठाएको सन्देश यस्तो थियो
‘तुमहारा आदमी हमारे पास है । अगर तुमहरा आदमी सही सलामत चाहिए तो ५ करोड रुपैयाँ हामे ढो तब हम तुमहरा आदमी तुम्हे देङे । अगर नहि दिया तो मार के फेक दुङ्गागा । पुलिसके बताने कि कोशिश कि तो मार के फेक दुङ्गा । हमे २५ तारिक तक पैसा चाहिए नहितो मार ढुङ्गा । तुम्हारे गाउँ मे किसिको पता नहि चल्ना चाहिए । जान्कारी के लिए हम विहार से है । टेन्सन नहि लेना तुम्हरा आदमी सहि सलामत है । बस हमारी माग पुरी कर्दो, हम तुम्हरा आदमी वापस कर्दुङगा ।’
प्रतिक्रिया 4