News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल क्यालेन्डर बनाएको भए पनि अधिकांश प्रतियोगिता आयोजना गर्न सकेको छैन।
- शहीद स्मारक ए डिभिजन लिग दुई वर्षभन्दा बढी समयदेखि नियमित रूपमा सञ्चालन हुन सकेको छैन।
- एन्फाले फुटसल एसियन कप छनोटमा नाम फिर्ता लिएपछि १० हजार डलर जरिवाना तिरेको छ र आगामी प्रतियोगितामा भाग लिन पाउने भएको छ।
७ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल खेललाई क्यालेन्डरमा मात्र सीमित गरेको छ । क्यालेन्डरमा मात्र फुटबल खेलाउने एन्फा भन्दा खासै फरक नपर्ला । किनभने अखिल नेपाल फुटबल संघ (एन्फा) ले पछिल्लो ६ महिना गरेको फुटबल गतिविधि प्रतियोगिताहरू हेर्दा पनि प्रष्ट हुन्छ ।
कुनै पनि देशको फुटबल विकासको मेरुदण्डको रुपमा रहने शहीद स्मारक ए डिभिजन लिग नभएको दुई वर्ष भन्दा बढी भइसक्यो ।
नेपालको घरेलु फुटबलको कुने निश्चित संरचना छैन । निश्चित मितिमा प्रतियोगिता हुँदैन । तोकिएको प्रतियोगिताहरू सरिरहन्छ । कहिले हुने टुङ्गो हुँदैन । भएका प्रतियोगिताहरू पनि व्यवस्थापकीय पक्षबाट उत्कृष्ट देखिँदैन ।
नेपालको राष्ट्रिय टिम र उमेर समूहका टिमले फिफा र एएफसीको कार्यक्रमअनुसार हुने छनोट प्रतियोगिता (विश्वकप छनोट, एसियन कप छनोट, उमेर समूहको एसियन कप छनोट), मैत्रीपूर्ण खेल (पुरुष र महिला) र साफ च्याम्पियनसिप खेल्दै आएको छ ।
यो फिफा, एएफसी र साफको कार्यक्रम अनुसार हुने प्रतियोगिता, खेल हो । यसलाई छाड्ने हो भने नेपालमा कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको छैन ।
अझ पछिल्लो समय त दशरथ रंगशाला अयोग्य हुँदा नेपालले विश्वकप र एसियन कप छनोटका खेलहरू समेत आयोजना गर्न पाएको छैन । महिला साफ च्याम्पियनसिप र केही मैत्रीपूर्ण खेल बाहेक नेपालमा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल हुनै छाडिसकेको छ ।
अन्तर्राष्ट्रिय खेललाई छाडेर हेर्ने भने एन्फाले नेपालको शीर्ष डिभिजनको लिग, महिलाको राष्ट्रिय लिग, उमेर समूहको लिगहरू, पुरुषको राष्ट्रिय लिग, एन्फा प्रेसिडेन्ट कप (पुरुष), फुटसलको राष्ट्रिय प्रतियोगिता वा लिग, स्कुल स्तरको राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने, ग्रासरुटलाई विकास गर्ने र एकेडेमीहरू सञ्चालन गर्दे नयाँ प्रतिभावान खेलाडीहरू जन्माउने काम गर्नुपर्ने हो ।
तर यहाँ ठीक उल्टो भइरहेको छ । यसो भन्दा अलि कठोर पनि सुनिएला । तर एन्फाले नेपालको फुटबलको विकासका लागि पछिल्लो समय खासै प्रगति गरेको देखिँदैन । हुँदै आएको शहीद स्मारक ए डिभिजन लिग नै रेगुलर गर्न नसक्ने एन्फाले अन्य कुनै बहाना बनाएर पन्छिने छुट छैन ।
एन्फाले मंगलबार फुटबलको क्यालेन्डरको परिमार्जन गर्दै बाँकी रहेको प्रतियोगिता र खेलको सूची सार्वजनिक गरेको छ । एन्फाले फुटबलको क्यालेन्डर बनाउने सार्वजनिक गर्नु खासै ठूलो कुरा रहेन ।
तर क्यालन्डर बनाएर पनि त्यसमा समावेश भएका प्रतियोगिताहरू नगर्ने भन्दै एन्फाको खुबै आलोचना हुँदै आएको छ । २६ वैशाखमा धुलिखेलमा भएको साधारण सभामा एन्फाले फुटबलको वार्षिक क्यालेन्डर पारित गर्दै सार्वजनिक गरेको देख्दा फुटबल गतिविधिहरू धेरै होला भन्ने आश थियो ।
त्यस्तै देखियो । एन्फा प्रेसिडेन्ट लिग जेठमा गर्ने भनेर समावेश गरिएपनि तोकिएको समयमा भएन । यस्तै सी डिभिजन छनोट जेठ १८ देखि साउन १६ सम्म गर्ने भनिएपनि अहिलेसम्म भएको छैन ।
राष्ट्रिय लिग साउन १९ देखि असोज १० सम्म गर्ने क्यालेन्डरमा उल्लेख भएपनि आयोजना हुन सकेन । यस्तै नेपाल सुपर लिग २०२५ सेप्टेम्बरमा सुरु गर्नेगरी एन्फाले कयालेन्डरमा समावेश गरेपनि यस बारे कुनै काम सुरु भएन ।
यसबाहेक एन्फाले जिल्ला देखि यू-१४ र यू-१७ उमेर समूहका विभिन्न प्रतियोगिता गर्ने भनेर क्यालेन्डरमा समावेश गरेको थियो । यी कार्यक्रमहरू पनि क्यालेन्डरमा समावेश हुनुबाहेक मैदानमा भएको देखिएन ।
यसअघि क्यालेन्डर हेर्दा लाग्थ्यो फुटसलमा पनि एन्फाले विशेष ध्यान दिएको छ र अब फुटसल विकास हुन्छ । एन्फाले छनोटसहित फुटसलको पाँच प्रतियोगिता क्यालेन्डरमा समावेश गरेको थियो । त्यस अनुसार अहिले छनोट चरणको दुई र ए डिभिजन लिग फुटसल गरी तीन प्रतियोगिता भइसक्नुपर्ने थियो ।
तर फुटसल लिग क्वालिफायर पहिलो राउण्ड (२७ अप्रिलदेखि १५ मेसम्म) र दोस्रो राउण्ड (२० मेदेखि ५ जुनसम्म) आयोजना भएन । ए डिभिजन फुटसल लिग (मध्य जुलाईदेखि मध्य अगस्ट २०२५) पनि बयोजना भएन ।
यति मात्र होइन एन्फाले एएफसी फुटसल एसियन कपमा नाम दर्ता गरेर पनि पछि नाम फिर्ता लिँदा राष्ट्रिय पुटसल टिमले खेल्न पाएन । त्यति मात्र होइन एएफसीले फुटसल एसियन कप छनोटमा नाम फिर्ता लिएको भन्दै एन्फालाई १० हजार डलर जरिवाना लगाउँदै अर्को वर्षको फुटसल एसियन कप छनोटमा भाग लिन पाउने गरी कारवाही गरेको छ ।
एन्फा अन्तर कलेज फुटसल च्याम्पियनसिप (नोभेम्बर २ देखि २७ नोभेम्बरसम्म) र महिला फुटसल च्याम्पियनसिप डिसेम्बर मध्यममा आयोजना गर्नेगरी क्यालेन्डरमा समावेश थियो । अब यी दुई प्रतियोगिता पनि हुने/नहुने कुनै टुङ्गो छैन ।
एन्फा प्रवक्ता सुरेश शाहले अन्तर्राष्ट्रिय खेलहरूलाई आधारमा मानेर क्यालेन्डर बनाएको र बाँकी कार्यक्रमहरू पछि सार्वजनिक गरिने बताए । ‘अन्तर्राष्ट्रिय म्याचलाई आधार मानेर हामीले क्यालेन्डर निर्माण गर्ने हो । हामीले रिभ्यु गरेर अहिले तत्काल हुने कार्यक्रमहरू मात्र समावेश गरेका छौं’ उनले भने, ‘अन्य कार्यक्रमहरू पनि पछि सार्वजनिक गरिनेछ।’
के छ परिमार्जित क्यालेन्डरमा ?
२६ वैशाखमा धुलिखेलमा भएको साधारण सभामा एन्फाले फुटबलको वार्षिक क्यालेन्डर पारित गर्दै सार्वजनिक गरेको देख्दा फुटबल गतिविधिहरू धेरै होला भन्ने आश थियो ।
फुटबल र एन्फालाई नजिकबाट बुझ्नेहरू भने त्यतिबेलै यो क्यालेन्डर अनुसार नेपालको फुटबल सञ्चालन हुन्छ भन्नेमा ढुक्क थिएनन् । उनीहरूलाई थाहा थियो एन्फाको यो नेतृत्वले क्यालेन्डर बनाउँछ फुटबल गर्दैन भनेर ।
यस पटक परिमार्जन गरिएको क्यालेन्डरमा एन्फाले महिला मैत्रीपूर्ण फुटबलको नेपालले खेल्ने विपक्षी टिम बाहेक अन्य नयाँ कुरा केही राखेको छैन । बरु यसअघि धुलिखेलमा सम्पन्न साधारण सभामा पारित भएको क्यालेन्डरमा समावेश गरिएको नेपाल सुपर लिग एनएसएलको नाम नै गायब भएको छ ।
यसबारे सोध्दा एन्फा प्रवक्ता सुरेश शाहले एनएसएल आफ्नो कार्यक्रम नभएकोले समावेश नगरेको जवाफ दिए । तर उनले यसअघि किन क्यालेन्डरमा राखियो भन्ने विषयमा स्पष्ट जवाफ दिएनन् । ‘त्यो हाम्रो क्यालेन्डर नभएर नराखेको हो । एनएसएल अब उहाँहरूको आफ्नै क्यालेन्डर अनुसार हुन्छ । हामीले त मिति उपलब्ध गराउने मात्र हो’ शाहले अनलाइनखबरसँग भने ।
प्रतियोगिता र मैत्रीपूर्ण खेल गरी कूल १५ कार्यक्रम (राष्ट्रिय/अन्तर्राष्ट्रिय) समावेश क्यालेन्डरमा ४ वटा कार्यक्रम (खेल) एसियन कप छनोट अन्तर्षत पुरुष टिमले खेल्न बाँकी खेलहरू छन् । यस्तै एउटा साफ महिला क्लब च्याम्पियनसिप साफको कार्यक्रम हो जुन डिसेम्बरमा नेपालमै हुँदैछ । महिला फुटबलमा पहिलो पटक साफ क्लब च्याम्पियनसिप हुन लागेको हो ।
यस बाहेक नेपाली महिला टोलीले अक्टोबरमा एक र डिसेम्बरमा २ मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ ।
बाँकी ७ प्रतियोगिता नेपालको घरेलु फुटबलसँग सम्बन्धित छ । जसमा ए डिभिजन लिग, सी डिभिजन क्वालिफायर, उमेर समूहको दुई प्रतियोगिता र महिला फुटबलको तीन प्रतियोगिता समावेश छ । त्यसमा पनि एन्फा यू-१६ युथ लिग यसअघि नै सञ्चालनमा छ र जेनजी आन्दोलका कारण स्थगित भएको थियो । यू-१६ लिग अब कात्तिक १७ गतेदेखि फेरि सुरु हुने र मंसिर २ गतेसम्म सञ्चालन हुने एन्फाले जनाएको छ ।
यस्तै शहीद स्मारक सी डिभिजन छनोट मंसिर ४ देखि २८ गतेसम्म हुने क्यालेन्डरमा उल्लेख छ । जसमा ३८ टिम सहभागी हुनेछन् तर २५ दिन मात्र चल्नेछ ।
यस्तै ललित मेमोरियल यू-१८ युथ लिग मंसिर २९ गतेदेखि सुरु गर्ने उल्लेख गरिएपनि टिम संख्या, मिति र भेन्यु क्यालेन्डरमा उल्लेख गरिएको छैन ।
साधारण सभाबाट पारित भएका केही प्रतियोगिताहरू परिमार्जित क्यालेन्डरमा समावेश छैन ।
एन्फाले क्लबहरूको नकआउट च्याम्पियनसिप पनि २०२५ को अन्त्यतिर बयोजना गर्ने जनाएको थियो । तर त्यो कतै उल्लेख गरिएको छैन ।
महिला फुटबलको तीन प्रतियोगिता
परिमार्जित क्यालेन्डर अनुसार यस वर्ष महिला फुटबलको तीन प्रतियोगिता हुन बाँकी छ । जसमा १२ टिम सहभागी हुने एन्फा महिला च्याम्पियनसिप पुस ११ देखि २२ गतेसम्म च्यासल स्टेडियममा हुनेछ ।
शहीद स्मारक महिला लिग माघ ९ देखि फागुन ५ गतेसम्म हुनेछ । यसमा १० टिम सहभागी हुनेछन् । कूल २६ खेल हुने यो लिग उपत्यका बाहिर हुने एन्फाले जनाएको छ । यसमा एन्फा महिला लिग छनोटका शीर्ष पाँच र गत वर्षको महिला लिगको शीर्ष पाँचमा रहेका टोलीले खेल्नेछन् ।
यस्तै लिगबाट आएका शीर्ष ६ टिमले शहीद स्मारक महिला सुपर लिग खेल्नेछन् । जुन फागुन ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने एन्फाले जनाएको छ ।
ए डिभिजन लिग कहिले हुन्छ?
अहिले सबैभन्दा ठूलो प्रश्नको रुपमा रहेको विषय हो शहीद स्मारक ए डिभिजन लिग । पछिल्लो पटक ए डिभिजन लिग २०८० जेठमा सम्पन्न भएको थियो । त्यो लिग सकिएको ८०० दिन भन्दा बढी भइसक्यो भने पछिल्लो दुई सिजन शीर्ष श्रेणीको लिग बयोजना नै हुन सकेन । जसले गर्दा खेलाडी विदेशी पलयान हुने, नयाँ प्रतिभावान खेलाडीहरू उत्पादन नहुने र अन्तर्राष्ट्रिय फुटबलमा नेपालको नतिजा कमजोर भइरहेको छ ।
धुलिखेलमा भएको साधारण सभामा पारित क्यालेन्डरमा पनि ए डिभिजन लिग पुष १ देखि २०८२ जेठ ३१ सम्म (२०२५ डिसेम्बर १६ देखि २०२६ जुन २४ सम्म) गर्ने उल्लेख गरिएको थियो ।
केही समयअघि एन्फाले ए डिभिजन क्लबहरूसँग गरेको छलफलमा होम एण्ड अवेका आधारमा ए ढिभिजन लिग गर्ने र पुस ९ देखि सुरु गर्ने प्रस्ताव राखेको थियो ।
मंगलबार सार्वजनिक बाँकी क्यालेन्डर अनुसार ए डिभिजन लिग पुस ९ गते देखि सुरु गर्ने उल्लख छ । ६ महिना चल्ने लिग २०८३ असार २६ गतेसम्म हुने जनाएपनि एन्फाले भेन्यु उल्लेख गरेको छैन ।
एन्फाले यसअघि पनि क्यालेन्डर सार्वजनिक गर्ने ए डिभिजन लिग गर्ने भनेर मिति उल्लेख गर्दै क्यालेन्डरमा समावेश गर्ने अनी मैदानमा फुटबल भने नगर्ने उदाहरण धेरै सार्वजिनक भइसकेको छ । त्यसैले यस पटक पनि ए डिभिजन लिग होला भनेर क्लबहरू नै विश्वस्त छैनन् ।
एन्फाले २०८० साल फागुनमा पनि वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै २०८१ साल पुसदेखि ए डिभिजन लिग सुरु गर्ने जनाएपनि त्यो समयमा लिग हुन सकेन ।
२०७९-८० सालको लिग २०८० जेठ अन्तिममा सकिएपछि नयाँ सिजनको लिग पनि सुरु हुन सकेन ।
२०८१-८२ सिजनमा पनि ए डिभिजन लिग भएन । अब एन्फाले २०८२ पुष ९ देखि सुरु गर्ने गरी २०८२-८३ सालको सिजन घोषणा गरेको छ । तर त्यो समयमा पनि कुनै बहाना बनाएर लिगको मिति सरेमा अचम्म नमाने हुन्छ ।
प्रतिक्रिया 4