News Summary
Generated by OK AI. Editorially reviewed.- गर्भावस्थाको ३७ हप्ता पूरा हुनुभन्दा पहिले जन्मिएका बच्चालाई प्रिम्याच्योर भनिन्छ र उनीहरूमा विभिन्न स्वास्थ्य जोखिमहरू हुन्छन्।
- प्रिम्याच्योर बच्चामा फोक्सोको समस्या रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम सामान्य हुन्छ, जसमा सर्फ्याक्टेन्टको कमी हुन्छ।
- प्रिम्याच्योर बच्चाहरूमा निमोनिया, जन्डिस, एप्निया र ब्रोन्कोपल्मोनरी डिस्प्लेसिया जस्ता फोक्सो सम्बन्धी रोगहरू देखिन्छन् र तिनीहरूको उपचार आवश्यक हुन्छ।
गर्भावस्थाको ३७ हप्ता पूरा हुनुभन्दा पहिले बच्चा जन्मिनुलाई ‘प्रिम्याच्योर’ अर्थात समयपूर्व जन्म भनिन्छ । यस्ता बच्चाहरूमा विभिन्न स्वास्थ्य जोखिमहरू हुन सक्छन् । विशेष गरी ३२ हप्ताभन्दा पहिले जन्मेका बच्चाहरूमा जोखिम धेरै हुन्छ ।
यस्ता बच्चाहरूको अंगहरू पूर्ण रूपमा विकसित नभएको कारणले गर्दा उनीहरूमा विभिन्न स्वास्थ्य समस्याहरू देखिन सक्छन् । यद्यपि बच्चाहरूमा धेरै प्रकारका समस्याहरू देखिन्छन्, तर फोक्सोको समस्या समयपूर्व जन्मिएका बच्चाहरूमा हुने आम समस्या हो ।
‘प्रिम्याच्योर’ बच्चामा फोक्सोको समस्या
समयभन्दा पहिले जन्मेका बच्चाहरूमा फोक्सोको समस्या सामान्य हुन्छ, जसलाई ‘रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम’ भनिन्छ । यो समस्यामा बच्चाको फोक्सोमा पर्याप्त मात्रामा ‘सर्फ्याक्टेन्ट’ उत्पादन हुँदैन । फोक्सोभित्रका वायुथैलीलाई खुल्ला राख्न र अक्सिजन साटफेर गर्न सजिलो बनाउन ‘सर्फ्याक्टेन्ट’ आवश्यक हुन्छ ।
प्रिम्याच्योर बच्चाहरूको फोक्सो गर्भमा पूर्णरूपमा विकसित नभएको कारणले यस्तो समस्या हुन्छ । फोक्सोले पर्याप्त अक्सिजन अवशोषण गर्न सक्दैन । गर्भावस्थाको लगभग ३५ हप्ताअघि फोक्सोले ‘सर्फ्याक्टेन्ट’ उत्पादन गर्न सक्दैन । ३२ हप्ताभन्दा पहिले जन्मेका बच्चाहरूमा यो समस्या धेरै देखिन्छ ।
रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमको जोखिम बढाउने अन्य कारणहरू
-गर्भावस्थामा गल्ती वा जटिलताहरू
-परिवारमा यस्तो इतिहास भएको अवस्था
-आमालाई मधुमेह भएको अवस्था
उपचार
‘प्रिम्याच्योर’ बच्चाहरूलाई ‘सर्फ्याक्टेन्ट’ उपचार दिइन्छ । यो एक प्राकृतिक प्रक्रिया जस्तै हो, जसले फोक्सोलाई बलियो बनाउँछ । यो उपचारमा बच्चाको श्वासप्रश्वास नलीमा ट्यूब राखेर ‘सर्फ्याक्टेन्ट’ प्रदान गरिन्छ, जसले सास फेर्न सजिलो बनाउँछ ।
निमोनिया
निमोनिया पनि ‘प्रिम्याच्योर’ बच्चाहरूमा फोक्सो सम्बन्धी अर्को सामान्य समस्या हो । यो एक ब्याक्टेरियल संक्रमण हो, जुन जन्मको समयमा आमाबाट बच्चामा सर्न सक्छ । समयभन्दा पहिले जन्मेका बच्चाहरूको फोक्सो पूर्णरूपमा विकसित नभएको कारणले यस्ता समस्याहरू देखिन्छन् ।
जन्मको केही हप्तापछि पनि निमोनिया हुन सक्छ । यसले बच्चालाई सास फेर्न गाह्रो बनाउँछ । निमोनिया रुघाखोकी वा फ्लूको कारणले पनि हुन सक्छ । ‘प्रिम्याच्योर’ बच्चाहरूमा ‘रेस्पिरेटरी सिन्सिटियल’ भाइरस बाट निमोनिया हुने सबैभन्दा सामान्य कारण हो ।
निमोनियाका लक्षणहरू
-बच्चालाई उच्च ज्वरो आउनु
-कम्पन वा चिसो महसुस हुनु
-ज्वरो छिटो–छिटो बढ्नु
– काेखा हान्नु
-बच्चाले दूध नखानु
-सास फेर्न गाह्रो हुनु
यस्ता लक्षणहरूलाई बेवास्ता गर्नुहुँदैन । डाक्टरले स्टेथोस्कोपबाट बच्चाको फाेक्साेकाे अवस्था जाँच गर्छन् र आवश्यक परेमा फोक्सोको अवस्था बुझ्न एक्स–रे सिफारिस गर्न सक्छन् ।
उपचार
निमोनियाको उपचार यसको गम्भीरतामा निर्भर हुन्छ । हल्का निमोनियाका लागि डाक्टरले एन्टिबायोटिक सिफारिस गर्छन् । यदि बच्चाको अवस्था गम्भीर छ भने अस्पतालमा भर्ना गर्नुपर्ने हुन सक्छ । बच्चालाई पूर्ण आरामको सल्लाह दिइन्छ । ज्वरो कम गर्न डाक्टरको सल्लाहमा प्यारासिटामोल दिन सकिन्छ । साथै, फोक्सोको कन्जेसन हटाउन नेबुलाइजरको प्रयोग पनि सिफारिस गर्न सकिन्छ ।
जन्डिस
नवजात शिशुमा जन्डिस पनि सामान्य मानिन्छ, तर ध्यान नदिएमा यो गम्भीर हुन सक्छ । यो समस्याले बच्चाको सम्पूर्ण शरीरलाई प्रभाव पार्न सक्छ । प्रिम्याच्योर बच्चाहरूमा जन्मपछि यो समस्या धेरैजसो देखिन्छ । समयमै उपचार नगरे यो खतरनाक हुन सक्छ ।
एप्निया अफ प्रिम्याच्युरिटी
‘प्रिम्याच्योर’ बच्चाहरूमा श्वास-प्रश्वास सम्बन्धी समस्या एप्नियाको कारणले पनि हुन सक्छ । यो अवस्थामा बच्चाको श्वास हल्का हुन्छ वा कहिलेकाहीं रोकिन्छ । एप्निया ३२ हप्ताभन्दा पहिले जन्मेका बच्चाहरूमा धेरै देखिन्छ । यो समस्या सामान्यतया: जन्मको तुरुन्तै नभई १ देखि २ दिनपछि देखिन सक्छ ।
एप्नियाका दुई मुख्य कारणहरू छन्
-बच्चाले सास फेर्न कोसिस गर्छ तर सास लिन सक्दैन ।
-बच्चाले सास फेर्नै बन्द गर्छ ।
उपचार
एप्नियाको जोखिम भएका बच्चाहरूलाई मनिटरिङ सहित अक्सिजन दिइन्छ । सामान्य अवस्थामा एमिनोफिललाइन नामक औषधि प्रयोग गरिन्छ, जसको मात्रा डाक्टरले निर्धारण गर्छन् । गम्भीर अवस्थामा बच्चालाई भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ। यो समस्या बच्चा ३६ देखि ४० हप्ताको नहुँदासम्म रहन सक्छ ।
फोक्सोको दीर्घकालीन रोग
यो अवस्थालाई ‘ब्रोन्कोपल्मोनरी डिस्प्लेसिया’ पनि भनिन्छ । यो तब हुन्छ, जब बच्चा धेरै समयअघि जन्मिन्छ वा लामो समयसम्म भेन्टिलेटरमा रहन्छ । यसले फोक्सोलाई कडा बनाउँछ । यस्ता बच्चाहरूलाई भेन्टिलेटरबाट हटाएपछि पनि केही समय अक्सिजनको आवश्यकता पर्न सक्छ । ‘ब्रोन्कोपल्मोनरी डिस्प्लेसिया’ सामान्यतः ३२ हप्ताभन्दा पहिले जन्मेका र २.२ पाउन्ड भन्दा कम तौल भएका बच्चाहरूमा २६ देखि ३३ प्रतिशतमा देखिन्छ ।
उपचार
‘ब्रोन्कोपल्मोनरी डिस्प्लेसिया’ भएका बच्चाहरूलाई प्रायः भेन्टिलेटरमा राख्नुपर्छ । बच्चा ६ देखि १२ हप्ताको भएपछि डाक्टरले औषधिहरूको प्रयोग गर्न सक्छन् । पहिले स्टेरोइड औषधिहरू प्रयोग गरिन्थ्यो, तर सेरेब्रल पाल्सी जस्ता समस्याहरू देखिएकाले अब स्टेरोइड केवल गम्भीर अवस्थामा मात्र प्रयोग गरिन्छ ।
प्रतिक्रिया 4