+
+
Shares

माधव नेपालसँग संवादमा अशोक राई

राईसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, उपाध्यक्ष बेदुराम भुसाल, उपाध्यक्ष प्रकाश ज्वाला समेत उपस्थित थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ११ गते १२:५६

११ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)सँग संवाद अघि बढाएको छ । विभिन्न पार्टीसँग एकता वार्ता गर्ने सन्दर्भमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जसपाका अध्यक्ष राईसंग संवाद गरेका हुन् ।

एक नेताका अनुसार, राईसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, उपाध्यक्ष बेदुराम भुसाल, उपाध्यक्ष प्रकाश ज्वाला समेत उपस्थित थिए । उक्त अनौपचारिक भेटमा पार्टी एकताको विषयमा छलफल भएको थियो ।

‘एकीकृत समाजवादी र जसपा मात्रै पार्टी एकता गर्ने भनेर कुरा भएको होइन । माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासँग समेत कुरा भइराखेको छ । यही सिलसिलामा अशोक राईसँग समेत भेट भएको हो,’ एक नेताले भने ।

उनका अनुसार जसपाका अध्यक्ष अशोक राईले कम्युनिष्ट नाम र झण्ड एमाले छाडेपछि नै छाडेको उल्लेख गर्दै यो विषयमा पार्टी प्रष्ट रहेको बताएका छन् । तर, कार्यगत एकता वा मोर्चा आदिबाट नजिकिएर अगाडि बढ्न सकिने राईको जवाफ रहेको छ ।

एकीकृत समाजवादीले विभिन्न पार्टीसँग एकता गर्ने सन्दर्भमा छलफल गर्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा वार्ता टोली नै बनाएको छ ।

अध्यक्ष माधवकुमार नेपालले गत शुक्रबार अपानि जारी गरेका छन् । जसमा वरिष्ठ नेता भुसालको नेतृत्वमा वार्ता टोली गठन गरेको उल्लेख छ ।

टोलीमा वरिष्ठ नेता प्रमेश हमाल र अर्का ज्वाला पनि सदस्य छन् । उपाध्यक्ष ज्वालाले वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्न वार्ता टाली गठन भएको जानकरी दिए । उनका अनुसार टोलीले एकताको सैद्धान्तिक आधार तयार पार्ने जिम्मेवारी समेत पाएको छ ।

यसआधारमा विगतमा भएका अनौपचारिक संवाद समेतका आधारमा औपचारिक संवाद अगाडि बढाउने उपाध्यक्ष ज्वाला बताउँछन् ।

उनका अनुसार एकताका सैद्धान्तिक आधारमा पार्टीको नाम, नेपाली क्रान्तिको अवस्था, वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध जस्ता विषय तय गरिन्छन् । नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको मान्ने, आम नेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबिचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्ने लगायतका विषय तय भइसकेका छन् ।

पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने भन्ने विषयमा पनि मत मिलेको छ । तर, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नेपालले यो विषय स्वीकार गरेको छैन ।

माओवादी केन्द्र, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी भने पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने भन्ने विषयमा सहमत छन् । एकीकृत समाजवादी सहितका यी चार पार्टी पार्टीको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने, पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने भन्नेमा पनि सहमत छन् ।

तर, जनता समाजवादी पार्टी यी विषयमा सहमत छैन । यस्तोमा चार पार्टीबीच एकता गर्ने एकता नभए मोर्चा बनाउने र मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेत सामेल गराउने प्रयास छ ।

यस अन्तर्गत एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहितका नेताहरूले जसपा अध्यक्ष राईसँग संवाद गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?