
१२ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा केहीबेर अघिदेखि बैठक जारी छ ।
जेनजी युवा आन्दोलनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो । युवा आन्दोलनपछि पार्टी नेतृत्वमाथि सवाल उठिरहेका बेला बोलाइएको यो बैठकलाई चासोका साथ हेरिएको छ ।
सचिवालय बैठकमा जेनजी युवा आन्दोलन, आन्दोलनमा भएको जनधनको क्षति, केपी शर्मा ओलीले नेतृत्व गरेको तत्कालीन सरकारको भूमिका, पार्टीले अवलम्बन गर्ने अबको बाटो लगायतका विषयमा छलफल हुने बताइएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जेनजी युवा आन्दोलनपछि पहिलोपटक आयोजित केन्द्रीय सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाबारे समीक्षा गरी आवश्यक निर्णय लिइने बताए ।
२३ र २४ भदौको प्रदर्शनमा ७४ जनाको मृत्यु भएको थियो भने सरकारी र निजी सम्पत्ति समेत गरी खर्बौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।
तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको दिन एक विज्ञप्ति निकालेर जेनजी युवा आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश नदिइएको र प्रहरीले प्रयोग गर्ने भन्दा बाहेकका हतियारबाट गोली चलेको दाबी गरेका थिए ।
प्रतिक्रिया 4