
१३ असोज, काठमाडौं । सरकारले हरेक साल दशैंको घटस्थापनादेखि पूर्णिमासम्मका लागि देशैभरी लागू हुनेगरी रुट परमिट खुला गर्छ । यससँगै सडकमा घातक दूर्घटनाहरु समेत बढ्ने गर्छन् ।
बुटवलबाट गुल्मीको मदाने गाउँपालिकास्थित पुर्कोट दहका लागि छुटेको जिप आज बिहान करिब साढे ३ बजे अर्घाखाँचीको सन्दिखर्क ९ टारीमा दुर्घटनामा पर्यो । घटनामा दुई जनाको मृत्यु भएको छ । २६ जना सवार सो सवारी दुर्घटनामा केही मानिस गम्भीर घाइते छन् ।
सोमबार नै काठमाडौंबाट छुटेको बस सिन्धुलीको दुधौली नगरपालिका ५ घारीथुम्सीस्थित मदन भण्डारी राजमार्गमा दुर्घटनामा पर्यो । सो घटनामा १४ जना यात्रु घाइते भएका छन् ।
आइतबार तानसेन–गुल्मी सडक खण्डका इभी भ्यान दुर्घटनामा पर्यो । सडकबाट ५० मिटर तल खसेर रुखमा अड्किएको सो दुर्घटनामा १४ जना घाइते भएका थिए । बुटवलबाट गुल्मी जाँदै गरेको सवारी दुर्घटनामा परेको हो ।
आइतबार नै सल्यानमा फोर्स गाडी दुर्घटनामा पर्यो । दुर्घटनामा ३ जनाको ज्यान गएको छ । सडकबाट ३ सय मिटर तल खसेको गाडीमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । आइतबार नै काठमाडौंबाट हेलम्बु जाँदै गरेको बस सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित फटकशिला ठाँटीमा दुर्घटनामा पर्यो ।
सो दुर्घटनमा केही यात्रु घाइते भएको विवरण आएको छ । शनिबार दशैंका यात्रु बोकेर धनगढीबाट बैतडी लागेको इभी गाडी बैतडीको सुर्नया गाउँपालिका ७ भञ्ज्याङमा दुर्घटनामा परेको थियो । सो घटनामा १४ यात्रु घाइते भएका छन् ।
पछिल्लो तीन दिनमा भएका यी घाइत दुर्घटनाले नेपालको सडक यात्राको जोखिम मात्र देखाउँदैन, रुट परमिट खुला भएको समयमा चालकको लापरवाही र स्थानीय प्रशासनको उदासिनतालाई सँगसँगै पर्दाफास समेत गरेको छ । यातायातविद् आशिष गजुरेलका अनुसार, सबै सवारी साधन नेपालजस्ता मुलुकमा बनाएका सबै सडकमा गुड्न योग्य हुँदैनन् ।
सोहीकारण दशैंको बेला सडकमा दुर्घटनाको जोखिम बढेको हो । उनी भन्छन्, ‘सबै सवारी सबै रुटमा हिँड्न मिल्ने नमिल्ने कसले तोक्ने ?, सबै रुटमा गुड्न प्राविधिक रुटमा मिल्ने नमिल्ने कसले तोक्ने ?’
यस बेला काठमाडौंको स्कुल कलेजका गाडीहरू समेत ग्रामिण सडकमा यात्रु बोकेर पुगेका हुन्छन् । शहरको आरामदायी सडकमा मात्र गुडाइरहेका चालकले ग्रामिण सडकको भेउ पाउँदैनन् । त्यसमाथि तीव्र गति र सडकमा प्रहरीको ‘नाम मात्रको चेकिङ’ले चाडबाडमा चालक र सवारी धनीलाई स्वच्छन्द छाडिदिएको छ । यसै समयमा मनपरी भाडा असुल्ने धन्दा समेत हुन्छ ।
अर्कोतर्फ मनसुन जारी रहँदा राजमार्गका धेरैजसो स्थानमा पहिरो बाँकी छ । स्थानीय प्रशासनले सूचना जारी गरी वैकल्पिक सडक प्रयोग गर्न भन्छ । तर, त्यो सडक सबै सवारी साधनका लागि उपयुक्त छ वा छैन, सवारी चाप थेग्न सक्छ, सक्दैन जस्ता विषय ख्याल नगरी यात्राको अनुमति दिँदा समेत चाडवाडमा बढी दुर्घटना हुने विज्ञहरुको भनाई छ ।
औपचारिक बैठक र नाम मात्रका योजना–निर्देशन
सरोकारवालाले हरेक वर्ष रुट परमिट र अग्रिम बुकिङ खुलाउनु अघि एक औपचारिक बैठक र निर्णय गर्छन् । जसको निर्णयको भाषा हरेक वर्ष उस्तै हुन्छ । तर, कार्यान्वयन हुँदैन ।
यसवर्ष यातायात व्यवसायीले टिकट बिक्रिमा उथाशक्य अनलाइन बुकिङको व्यवस्था गर्ने उल्लेख थियो । तर, बसपार्कमा यात्रुलाई लाइन लगाएर टिकट काट्ने प्रथा हटेन । अनलाइनमा टिकट नै नपाइने गरी १/२ दिनमै बुक भएको देखाइयो । सरकारले उपत्यकाबाट बाहिरिने सवारीका लागि नागढुङ्गा सुरुङ खोल्ने निर्णय गर्यो ।
तर, आवश्यक तयारी नपुगेको भन्दै निमार्ण कम्पनी तयार भएन । घोषणा कागजमै सिमित भयो । लामो दूरीका यात्रुबाहक सवारी साधन गन्तब्यमा प्रस्थान गर्नुपूर्व अनिवार्य सवारीको यान्त्रिक अवस्था लगायत चेकजाँच गर्ने निर्णयमा लेखियो ।
सवारी साधनमा खराबी नदेखिएसम्म र स्वयम: सवारी धनीले बाहेक राज्यका तर्फबाट यसलाई अनिवार्य गर्ने कुनै कदम चालिएन । लामो दूरीका यातायातका साधनमा दुई चालक अनिवार्य भनेको धेरै भइसक्यो । व्यवहारमा एउटै चालकले घण्टौं सवारी कुदाइरहेका छन् ।
प्रतिक्रिया 4