
२० असोज, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार गर्न आउने बिरामीको संख्या ह्वात्तै बढेको छ । बिरामीको संख्या बढेसँगै शय्या अभाव भएपछि थप पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको छ ।
प्रतिष्ठानका अनुसार बहिरङ्ग र अन्तरङ्ग गरेर २ लाख १८ हजार ७९ जना बिरामीहरुले चालु आर्थिक वर्षमा सेवा लिइसकेका हुन् ।
आर्थिक वर्ष २०८०/८१ मा बहिरङ्ग र अन्तरङ्ग १ लाख ७६ हजार ९ सय ७४ जना विरामीले सेवा लिएका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा बहिरङ्ग र अन्तरङ्ग गरेर १ लाख ६० हजार ६ सय ५८ जना बिरामीले सेवा पाएका थिए ।
प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानमा विशेषज्ञ सेवा र अत्याधुनिक उपकरणहरु थपिदै गएपछि सेवा विस्तार हुँदै गएको र बिरामीको संख्या पनि बढेको बताए ।
रजिष्ट्रार लम्सालले दिएको जानकारी अनुसार प्रतिष्ठानले गएको आर्थिक वर्षदेखि न्युरो सर्जरी सेवा सेवा सुरु गरेको छ । आगामी मंसिर महिनाभित्र क्याथ्ल्याब सेवा पनि सुरु गरी मुटु रोग उपचार सुरु गर्ने योजना छ । युरोलोजी र युरो सर्जरी सेवा सुचारु रहेको छ ।
बिरामीको संख्या बढेकाले ४ सय शय्याको भवन यसै आर्थिक वर्षमा निर्माण शुरु हुने छ । सामुदायिक सेवा अन्तरगत रोल्पाको होलेरी र त्रिवेणीमा सेवा सुरु गरी एमविविएस कार्यक्रम सहजरुपमा सञ्चालनमा छ । प्रतिष्ठानमा हाल ३ सय २० शय्या चालु अवस्थामा छन् ।
प्रतिक्रिया 4