
२२ असोज काठमाडौं । बाढीपहिरोको बहाना बनाएर व्यापारीले खाद्यान्न तथा तरकारीको भाउ मनलाग्दी बढाएका छन् ।
व्यापारीले बाढी र पहिरोबाट आपूर्ति शृङ्खलामा अवरोध पुगेको बहाना बनाएर उपभोक्ताको ढाड सेक्ने गरी भाउ बढाएको पाइएको छ ।
व्यापारीले कृत्रिम अभाव देखाएर खुलेआम दिनहुँ उपभोक्ता लुट्दा सरकारका नियमनकारी निकायहरू भने मूकदर्शक बनेको उपभोक्ताहरूको आरोप छ ।
महँगीको मार खेपेका सर्वसाधारण उपभोक्ता वस्तुको गुणस्तरमा समेत सम्झौता गर्न बाध्य छन् । दैनिक अत्यावश्यक वस्तु खाद्यान्न, तरकारी, तेलजस्ता सामग्रीसम्मको मूल्य अस्वाभाविक रूपमा बढाइँदा हरेक घरको बजेट प्रभावित भएको छ ।
एकातर्फ चाडपर्वको खर्च व्यवस्थापनको चुनौती, अर्कातर्फ बजारमा व्याप्त कालोबजारी र नियमनकारी निकायको प्रभावहीनताले उपभोक्ताहरू दोहोरो मारमा परेका छन् ।
काठमाडौं नयाँबानेश्वरको एक किराना पसलमा भेटिएकी सम्झना कुमालले एक साताअघि प्रतिकिलो ३५ रुपैयाँमा किनेको आलु आज बिहान दोब्बर मूल्य तिरेर खरिद गर्नुपरेको गुनासो सुनाइन् ।
‘आज बिहान मात्रै सेतो आलुलाई ६० रुपैयाँ तिरेर ल्याएँ, हरियो तरकारीको भाउ छोइसक्नु छैन, टमाटरको मूल्य १ सयभन्दा बढी छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘कसले कहाँ कतिबेला कुन तरिकाले लुट्ने र ठग्ने हो टुंगै नहुने भो, अहिलेको सरकारलाई यस्ता विषयमा सोच्ने फुर्सद नै छैन ।’
एक सातामा कति बढ्यो तरकारीको भाउ ?
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक केलाउने हो भने १३ देखि २२ असोजसम्म सेतो आलुको भाउ ४० पैसा मात्रै बढेको देखिन्छ । तर, खुद्रा व्यापारीले भने दोब्बर मूल्यमा बेचेका छन् ।
१८ असोज शनिबार भारी वर्षाका कारण केही राजमार्ग अवरुद्ध भए पनि कालीमाटी तरकारी बजारमा २ सय ५९ टन तरकारी भित्रिएको समितिले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।
१७ गते १ सय २९ टन, १६ गते ६२ टन तरकारी भित्रिएको थियो । त्यस्तै १९ असोजमा २ सय ३ टन, २० गते ४ सय ७३ टन, २१ गते ५ सय १५ टन र आज २२ गते १ सय ८६ टन भित्रिएकाले बजारमा पर्याप्त आपूर्ति रहेको देखिन्छ ।
कालीमाटी तरकारी बजार विकास समितिले भने दैनिक ठूलो मात्रामा आपूर्ति भइरहेको हुँदा बजारमा मूल्यवृद्धि नहुने दाबी गरेको छ ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले कालीमाटी होलसेल बजारमा मूल्यवृद्धि नभएको बताए । उनले अहिले अधिकांश तरकारीको भाउ घटेको समेत दाबी गरे ।
तर, बजारको यथार्थ भने उनको दाबीभन्दा फरक छ, जहाँ तरकारी तथा फलफूलको मूल्य नियन्त्रणमा नदेखिएको उपभोक्ताहरूको गुनासो छ ।
होलसेलमा आजै मात्र प्रतिकिलो ८५ रुपैयाँ रहेको तने बोडी खुद्रा व्यापारीले १ सय ३० रुपैयाँमा बेचिरहेका छन् । यस्तै काँक्रो लोकल १ सय ३० र हाइब्रिड १ सय रुपैयाँ बेचेका छन् । जबकि, हाइब्रिड काँक्रोको होलसेलमा अधिकतम मूल्य ३५ रुपैयाँ छ भने लोकलको ८० रुपैयाँ कायम छ ।
यस्तै हरियो फर्सीको मूल्य खुद्राले १ सयदेखि १ सय २० रुपैयाँमा बेचेका छन् । होलसेलमा ६० देखि ७० रुपैयाँ छ ।
होलसेलमा मुलाको मूल्य ५० रुपैयाँ किलो छ भने खुद्रामा १ सय २० रुपैयाँसम्ममा बेचिएको छ । काउलीको होलसेल मूल्य ७० देखि ८० रुपैयाँ हुँदा खुद्रामा भने उपभोक्ता १ सय ५० रुपैयाँ तिर्न बाध्य छन् ।
व्यापारीले मनलाग्दी बढाए चामल र तेलको भाउ
नेपाल चामल, तेल, दाल उद्योग संघ र नेपाल खुद्रा व्यापार संघले चामलको मूल्य नबढेको दाबी गरिरहँदा खुद्रा व्यापारीले भने सबै प्रकारको चामलमा १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म बढेको दाबी गरेका छन् ।
बुद्धनगरका एक किराना व्यापारीले शनिबारको वर्षापछि आएको बाढी पहिरोका कारण चामलको मूल्य बोरामा डेढ सय रुपैयाँसम्म बढेको बताए ।
‘सडक अवरुद्ध भएपछि चामलको मूल्य बढेर आएको छ,’ उनले भने, ‘तिहारको मुखमा सबै चामलको मूल्य अझै बढ्ने देखिन्छ ।’
अनलाइनखबरले बुधबार गरेको स्थलगत रिपोर्टिङ क्रममा प्रत्येक पसलमा चामलको मूल्य मनलाग्दी बढाइएको पाइयो । व्यापारीले उद्योगबाट बढेर आएको दाबी गरे ।
यस्तै बुद्धनगरकै खुद्रा व्यापारी यमकुमार महर्जन भने बाढी पहिरोपछि खाद्यान्न र उपभोग्य वस्तुहरूको मूल्यमा खासै ठूलो परिवर्तन नआएको बताउँछन् । उनले कुनै–कुनै व्यापारीले बाढीपहिरोको बहाना बनाएर मनलाग्दी मूल्य बढाएको बताए ।
‘मैले कुनै सामानको मूल्य बढाएको छैन,’ उनले भने, ‘धेरैजसो व्यापारीले मौकाको फाइदा उठाएर मनलाग्दी बढाएका हुन् ।’
उनले तेलको मूल्यमा भने प्रतिलिटर १० रुपैयाँ बढेको बताए । यसअघि २ हजार २ सय ५० रुपैयाँ प्रतिकार्टन रहेको सनफ्लावर तेलको होलसेल मूल्य हाल २ हजार ३ सय ७५ रुपैयाँ पुगेको उनको भनाइ छ ।
तर, खुद्रामा भने व्यापारीहरूले प्रतिलिटर २ सय ७० देखि ३ सय रुपैयाँसम्ममा बेचिरहेका छन् । महर्जनले तेलको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) ३ सय रुपैयाँसम्म हुने र कतिपय किराना पसलले सोही मूल्य र कतिपय व्यापारीले ३ सय १० देखि ३ सय २० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको उनको भनाइ छ ।
‘चामलको भाउ बढेको छैन’
नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवालले हाल सडककै कारण खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन् । बजारमा चामल सहज उपलब्ध रहेको उनको भनाइ छ ।
चामलको मूल्यवृद्धिको विषयमा उनले खुद्रा व्यापारीहरूले अनावश्यक रूपमा मूल्य बढाएको दाबी उनको छ ।
‘उद्योगका तर्फबाट कुनै पनि चामलको मूल्य बढेको छैन,’ उनले भने, ‘करिब डेढ–दुई महिना अगाडि जुन मूल्यमा जिरा मसिनो चामल बिक्री भइरहेको थियो, सोही मूल्य (प्रतिबोरा २ हजार रुपैयाँ) मा अहिले पनि बिक्री भइरहेको छ ।’
कतिपय अवस्थामा त उल्टै प्रतिबोरा १ हजार ९ सय ९० वा १ हजार ९ सय ८० रुपैयाँमा बिक्री गरेर २० रुपैयाँसम्म मूल्य घटाइएको पनि उनको दाबी छ ।
नयाँ धानको सिजन (कात्तिक–मंसिर) मा नयाँ माल आउनुअघि पुरानो माल सल्टाउनुपर्ने चापका कारण मूल्य बढाउने कुरा नभएको उनको तर्क छ । साथै, भारतमा पनि धान उत्पादनमा कमी नआएकाले उद्योगहरूले अनावश्यक मूल्य बढाउनुपर्ने कुनै कारण नभएको उनले स्पष्ट पारे ।
तेलको मूल्यबारे भने उनले सामान्य वृद्धि भएको स्वीकारे । कच्चा तेल (क्रुड आयल) को मूल्य बढेकाले तेलको मूल्यमा थोरै वृद्धि भएको उनले बताए । यसमा धेरै नभई सामान्य वृद्धिमात्र भएको उनको भनाइ छ ।
त्यसैगरी नेपाल खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरले हाल बजारमा खाद्यान्न आपूर्तिमा ठूलो समस्या नरहेको बताए । दशैंको समयमा एक–दुई दिन बाटो बन्द भएका कारण सामान ढुवानीमा केही ढिलाइ भए पनि खुद्रा पसलहरूमा खाद्यान्न अभाव नभएको उनको भनाइ छ ।
तुलाधरका अनुसार खुद्रा क्षेत्रमा व्यापारीहरूसँग पर्याप्त स्टक रहेकाले उपभोक्ताले चामल, चिनी वा तेल किन्न नपाएको अवस्था छैन ।
बाढीपहिरो बहानामा मूल्यवृद्धि हुँदा नियामकजति मौन
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बाढी र पहिरोको बहाना बनाएर तरकारी तथा खाद्यान्न लगायतका उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा वृद्धि भइरहेको र यसमा सरकार तथा नियमनकारी निकायहरूको भूमिका प्रभावहीन देखिएको बताउँछन् ।
जेनजी आन्दोलनपछि बजारमा सरकारी उपस्थिति कमजोर भएको र अनुगमन तथा नियमनको जिम्मेवारी पाएका स्थानीय सरकार, वाणिज्य तथा आपूर्ति विभाग, जिल्ला प्रशासन कार्यालय जस्ता निकायले प्रभावकारी काम गर्न नसकेको उनको आरोप छ ।
‘हालसालै आएका बाढी र वर्षा तथा मुग्लिन–नारायणघाट सडक खण्डमा हुने जाम देखाएर व्यापारीहरूले काठमाडौं उपत्यकाभित्र आफ्ना गोदाममा पहिले नै थन्क्याइसकेका तरकारी, फलफूल र खाद्यान्नको मूल्य पनि कृत्रिम रूपमा बढाएका छन्,’ उनले भने, ‘मूल्यवृद्धि नियन्त्रण र अनुगमन गर्नुपर्ने निकायहरूले आफ्ना जिम्मेवारी बेवास्ता गरेकाले यस विपद्लाई व्यवसायीहरूले फाइदाका रूपमा उपयोग गरी अस्वाभाविक मूल्यवृद्धि गरेका छन् ।’
मूल्यवृद्धिसँगै गुणस्तरमा पनि गम्भीर समस्या देखिएको तिमल्सिनाको भनाइ छ । तरकारी, फलफूल, दूध, पानी लगायत वस्तुमा गुणस्तरहीनता बढेको तर नियमनकारी निकायले नियमन नगरेको उनी बताउँछन् । यसले गर्दा नागरिकहरू आक्रान्तित र त्रसित बनेको अवस्था रहेको उनको भनाइ छ ।
दशैं, तिहार, छठजस्ता पर्वमा समेत बजार अनुगमन प्रभावकारी हुन नसकेको र वाणिज्य विभागको ११३७ नम्बरको टोल–फ्री हटलाइन तथा सम्बन्धित अधिकारीहरूको फोनसमेत नउठ्ने गरेको गुनासो उपभोक्ताले गरेका छन् ।
विगतका वर्षहरूमा दशैंका अष्टमी, महानवमी, दशमीजस्ता महत्त्वपूर्ण दिनमा पनि अनुगमन हुने गरेकोमा यस वर्ष अनुगमन शून्य नै भयो ।
बजार अनुगमन र नियमनका लागि स्थायी संयन्त्र नहुनु, चौबिसै घण्टा ३ सय ६५ दिन विशेष संयन्त्र मार्फत चुस्त, दुरुस्त, प्रभावकारी र पारदर्शी अनुगमन नहुनुले बजार स्वच्छ र प्रतिस्पर्धी हुन नसकेको तिमल्सिनाले बताए ।
उपभोक्ता अधिकार स्थापित गर्न, स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्न तथा मूल्य, गुणस्तर र नापतौलमा एकरूपता ल्याउन सरकारले यसलाई प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिए ।
‘नागरिकहरूले नै निरन्तर गुनासो गर्नुपर्ने, लेख्नुपर्ने र बोल्नुपर्ने अवस्था आउनु भनेको जिम्मेवार निकायहरूको कुनै काम नभएको अवस्था हो,’ उनले भने ।
सरकारी निकायहरूले ‘गुनासो आएन’ भनेर पन्छिने काम गरिरहेको र नागरिकप्रतिको उत्तरदायित्व बहन गर्न नसक्दा बजारमा अराजकता बढेको उनको भनाइ छ । उनले विभिन्न बहानामा मूल्य बढाउने, गुणस्तर घटाउने र उपभोक्ताको अनुहार हेरेर वस्तु तथा सेवाको मूल्य तोक्ने काम भइरहेको बताए ।
गुणस्तर तथा नापतौल विभाग जस्ता संवेदनशील निकाय जेनजी आन्दोलन क्रममा ध्वस्त भएकाले ग्यास, सिमेन्ट, डन्डीजस्ता सामग्रीको गुणस्तर मापन गर्ने र मिसावट जाँच गर्ने निकायहरूको पनि अवस्था ध्वस्त भएको हुँदा बजारमा कस्ता वस्तु आइरहेका छन् भनेर हेर्ने निकाय तत्काल नभएको तिमल्सिनाले बताए ।
अहिलेको अवस्था निकै भयवह भएको र नागरिकहरूले मिहेनतले आर्जन गरेको पैसा पनि मूल्य तिरेर लुटिनुपरेको उनको भनाइ छ ।
बजार अनुगमन निरन्तर छ : महानिर्देशक ज्ञवाली
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गरिरहेको दाबी गरे पनि १२ असोजपछि बजार अनुगमन भएको छैन । १३ गतेदेखि दशैं बिदा भएकाले विभागको टोली बजार अनुगमनमा खटिएन ।
२१ गतेदेखि कार्यालय खुलेपछि विभागको टोलीले आज बुधबार मात्रै अनुगमनको विज्ञप्ति सार्वजनिक गरेको छ । विभागले जारी गरेको विज्ञप्तिमा २० वटा उद्योग तथा फर्ममा अनुगमन गरिएको र एक फर्मलाई ५ हजार जरिबाना तिराइ बाँकी १९ फर्मलाई सामान्य निर्देशन मात्रै दिइएको उल्लेख छ ।

विभागका महानिर्देशक रोशन ज्ञवालीले बजार अनुगमन कार्य निरन्तर भइरहेको दाबी गरेका छन् ।
उनले मूल्यवृद्धिका विषयमा विभागमा कुनै उजुरी र गुनासो नआएको तर्क गरे । जबकि, दशैंको मुखमा र विपद्का बेला व्यापारीले मौका छोपेर खाद्यान्न तथा तरकारीको मूल्य बढाउँदा नियामक निकाय वाणिज्य विभागका महानिर्देशक ज्ञवाली र सूचना अधिकारी भरत आचार्य मोबाइल स्विच अफ गरेर बसेका थिए ।
बाढीपहिरोको बहानामा तरकारी र खाद्यान्नको मूल्यमा मनपरी गर्दा विभागको उपस्थिति नदेखिएको र फोन सम्पर्क हुन नसकेको भन्ने गुनासोका सम्बन्धमा भने महानिर्देशक ज्ञवालीले थप टिप्पणी गर्न चाहेनन् ।
महानिर्देशक ज्ञवालीले उपभोक्ताबाट यस विषयमा गुनासो वा सूचना आए त्यसका आधारमा आवश्यक परेको खण्डमा थप अनुगमन गरिने तर्क गरे ।
विभाग उपभोक्ताको हितका लागि सधैं अग्रसर रहेको र आफूहरूलाई नीतिले दिएको अधिकारको सीमाभित्र रहेर काम गरिरहने ज्ञवालीको भनाइ छ ।
प्रतिक्रिया 4