News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गुल्शन झाले क्यामिओ पारी खेलेर खेलमा मोमेन्टम ल्याएको बताए।
- रोहितले कुशल भुर्तेलको संयमित ब्याटिङ र बलिङमा सोमपाल, सन्दीप, ललित र दीपेन्द्रको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरे।
- रोहितले मैदानमा उपस्थित दर्शकलाई १२औं खेलाडीको रूपमा लामो समयदेखि साथ दिनुमा कृतज्ञता व्यक्त गरे।
२३ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले बुधबार कुवेतसँगको खेल जितेपछि पहिलो इनिङमा गुल्शन झाले खेलेको क्यामिओ पारीको प्रशंसा गरेका छन् ।
उनले गुल्शनको ब्याटिङबाट नेपालले मोमेन्टम प्राप्त गरेको उल्लेख गरे । ‘गुल्शन झाले क्यामिओ खेल्दा धेरै सजिलो भयो, गुल्शनको त्यो ब्याटिङले खेलमा नै प्रभाव पार्यो र हामीले मोमेन्टम प्राप्त गर्यौं’ रोहितले भने ।
गुल्शनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए । उनले ६ बलमा २० रनको क्यामिओ पारी खेलेका थिए ।
रोहितले कुशल भुर्तेलको ब्याटिङ शानदार र संयमित रहेको उल्लेख गरे । ‘भुर्तेलले पनि राम्रो ब्याटिङ गरे अनि हामीले डिफेन्ड गर्न सक्ने योगफल खडा गर्न सक्यौं’ उनले थपे, ‘विकेट ट्रिकी थियो, हामीले १५०-१६० सम्म बनाउन खोजेका थियौं । कुवेतले राम्रो बलिङ गरेको थियो । हामीले निरन्तर विकेट दिइराख्यौं तर भुर्तेल र गुल्शनले राम्रो फिनिस गराए।’
खेलमा म्यान अफ द म्याच भएका कुशल भुर्तेलले आफ्नो करियरमा खेलेको उत्कृष्टमध्येको एक इनिङ भएको उल्लेख गरे ।
रोहितले बलिङमा सबैको प्रदर्शन उत्कृष्ट रहेको उल्लेख गरे । ‘बलिङमा सोमपालबाट शानदार सुरुवात भयो । त्यसपछि सन्दीप, ललित र दीपेन्द्रले पनि राम्रो बलिङ गरे’ रोहितको भनाइ थियो ।
रोहितले मैदानमा उपस्थित दर्शकहरूलाई पनि धन्यवाद दिए । ‘लामो समयदेखि हाम्रो १२औं खेलाडीका रूपमा हुनुहुन्छ । ड्युटी नै छाडेर खेल हेर्न आउनुभएको छ, सबैजनाप्रति हाम्रो टिम कृतज्ञ छ’ रोहितले भने ।
प्रतिक्रिया 4