News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाका क्रिकेटर ग्लेन म्याक्सवेलले विराट कोहलीलाई आईपीएलपछि मेलबर्न स्टार्समा खेल्ने सम्भावना खुला रहेको बताए।
- म्याक्सवेलले बीबीएलमा निजी लगानीले लिगलाई विश्वकै उत्कृष्ट बनाउन मद्दत गर्ने उल्लेख गरे।
- कोहलीले अन्तर्राष्ट्रिय टी-२० र टेस्टबाट सन्यास लिइसकेका छन् भने ओडिआई खेलिरहेका छन्।
२३ असोज, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर ग्लेन म्याक्सवेलले भारतका विराट कोहलीलाई मेलबर्न स्टार्समा ल्याउने सम्भावना खुला नै रहेको टिप्पणी गरेका छन्। कोहलीको करियर अन्त्यतिर पुग्दै गर्दा यस्तो चर्चा बढ्दै गएको हो।
भारतका खेलाडीहरू विदेशी लिगमा खेल्न नपाउने नियम भए पनि अहिले श्रीलंका प्रिमियर लिगले केही भारतीय घरेलु खेलाडीहरूलाई अनुबन्ध गर्न खोजिरहेको छ।
कोहलीले आईपीएलबाट सन्यास लिएपछि मात्र अन्य लिगमा खेल्न सक्ने सम्भावना छ। हालै रविचन्द्रन अश्विनले आईपीएलबाट सन्यास लिएपछि आगामी सिजनको बिग ब्यास लिगमा सिड्नी थन्डरबाट खेल्ने पक्का भइसकेको छ ।
म्याक्सवेलले कोहलीसँग रोयल च्यालेन्जर्स बेंगलुरुबाट आईपीएलमा सँगै खेलेका थिए। उनले भने, ‘मैले विराटलाई मेसेज गरेको छैन, किनकि उनी अझै आरसीबीसँग अधुरो काममा छन्। उनले एक पटक उपाधि जितेका छन्, तर अब लगातार दोस्रो पटक जित्ने सोचमा छन्। सायद उनले रिटायर भएपछि हामी फेरि सँगै खेल्नेछौं।’
कोहलीले अन्तर्राष्ट्रिय टी-२० र टेस्टबाट सन्यास लिइसकेका छन् । उनले ओडिआई भने खेलिरहेका छन् । यता म्याक्सवेलले ओडिआईबाट सन्यास लिएका छन् ।
यसबीच क्रिकेट अस्ट्रेलियाले बिग ब्यास लिग (बीबीएल)मा निजी लगानी ल्याउने सम्भावना अध्ययन गरिरहेको छ। म्याक्सवेलका अनुसार निजी लगानीले बीबीएललाई फेरि विश्वका उत्कृष्ट लिगमध्ये एक बनाउन मद्दत गर्नेछ।
उनले भने, ‘यो भारतीय लगानी मात्र होइन, जसले पनि लगानी गर्न चाहन्छ, सबैका लागि खुला हुनुपर्छ। हामी फेरि बीबीएललाई शीर्ष स्तरमा ल्याउन चाहन्छौं।’
दक्षिण अफ्रिकाको फ्रेन्चाइज लिग एसए टी२० अहिले बिग ब्याससँगै समानान्तर हुनेगरी सञ्चालन हुन्छ। उच्च तलबका कारण धेरै खेलाडीहरू त्यतातिर आकर्षित भइरहेका छन्।
यसले बीबीएलका टोलीहरूलाई स्थायी खेलाडी पाउन गाह्रो बनाएको म्याक्सवेलको भनाइ छ। ‘पूरा सिजन खेल्ने खेलाडी पाउन कठिन छ,कतिपय खेलाडी केही खेल मात्र खेल्न आउँछन्, जसले टोली निर्माणमा समस्या ल्याउँछ’ उनले भने ।
-अस्ट्रेलियाको न्युज डटकमबाट साभार
प्रतिक्रिया 4