News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको पाँच खेलको टी-२०आई शृंखला ३-२ ले जितेर स्वदेश फर्किएको छ।
- कप्तान इन्दु बर्माले ५ खेल जित्न पाएको भए उत्कृष्ट हुने तर शृंखला जितेर आत्मविश्वास बढेको बताइन्।
- नेपालले पहिलोपटक टी-२० विश्वकपको एसिया छनोट पार गरी ग्लोबल छनोट नेपालमै खेल्ने अवसर पाएको छ।
२४ असोज, काठमाडौं । मलेसियासँगको टी-२०आई शृंखला जितेको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । महिला टोली बिहीबार राति स्वदेश आइपुगेको हो ।
बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जितेको थियो ।
नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा १३ रनले पराजित हुँदा चौथो खेलमा ६ विकेटको जित निकालेको थियो ।
यो शृंखलाअघि नेपाली महिला टोलीले मलेसियामै सुपर वुमन सिरिजमा पनि सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा सबै नेपाली खेलाडीले ५ फरक फरक टिमबाट खेलेका थिए ।
नेपाली टोलीकी कप्तान इन्दु बर्माले सबैको प्रदर्शन राम्रो भएको उल्लेख गर्दै ५ वटै खेल जित्न पाएको भए अझ उत्कृष्ट हुने बताइन् । यद्यपी शृंखला जित्न पाउँदा आगामी दिनका लागि आत्मविश्वास बढेको उनको भनाइ थियो ।
उपकप्तन पूजा महतोले बाहिर गएर खेल्दा सबैका लागि प्रदर्शनमा निखार ल्याउने अवसर रहने बताइन् । ‘जुनियर खेलाडीलाई पनि यहाँ राम्रो प्रदर्शन गरेर नेपालका लागि खेल्ने अवसर मिलेको छ’ उनले भनिन्, ‘यसले ग्लोबल छनोटका लागि पनि हाम्रो आत्मविश्वास बढाउने छ।’
नेपालले पहिलोपटक टी-२० विश्वकपको एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको छ । ग्लोबल छनोट सन् २०२६ को जनवरीमा नेपालमै हुँदैछ र नेपाललाई पहिलोपटक विश्वकप खेल्ने अवसर समेत छ ।
प्रतिक्रिया 4