
२७ असोज, बुटवल । रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ ।
जिल्ला सुरक्षा समतिको वैठकले देउसी भैलो राति ९ वजेसम्म मात्र खेल्न पाइने र देउसी भैलोमा सहभागीहरुले मादक पदार्थ सेवन गर्न नपाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए । देउसी भैलो खेल्ने क्रममा मापसे गरेको पाइए कानून अनुसार कारवाही हुने निर्णय भएको उनले बताए ।
जेन जी आन्दोलनपछि उत्पन्न परिस्थिति अनुसार समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रशासनले चाडपर्व लक्षित सुरक्षा योजना बनाई जिल्लाका १६ वटै पालिकामा परिपत्र गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।
‘भदौ २३ र २४ को जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा कानूनको पालना गर्दै प्रशासन, सुरक्षा निकाय,आम नागरिक र नीजि क्षेत्र सबै मिलेर शान्ति सुरक्षा र अमनचयन कायम गनुपर्ने अवस्था छ’, प्रजिअ पाण्डेले भने ।
आइतबारदेखि शुरु भई छठको अर्को दिनसम्म लागू हुने सुरक्षा योजना अनुसार १६ वटै पालिकामा सादा पोशाकमा पर्याप्त प्रहरी खटाउने, सुरक्षा निकायले गस्ती बढाउने, छठ घाटहरुको स्थान निर्धारण गरी तारबार र डोरी टांगेर दुर्घटनाबाट सुरक्षित बनाउने निर्णय भएको उनले बताए ।
प्रतिक्रिया 4