
News Summary
Generated by OK AI. Editorially reviewed.- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक दोस्रो सातादेखि २ लाख क्विन्टल धान खरिद प्रक्रिया सुरु गर्ने लक्ष्य लिएको छ।
- धान खरिद प्रक्रिया पश्चिम नेपालबाट धनगढीमा सुरु हुने र देशभरिका १३ स्थानबाट खरिद गरिने कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेलले बताए।
- सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४६३ र मध्यम धानको ३६२८ रुपैयाँ निर्धारण गरेको छ।
२७ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष कात्तिक दोस्रो सातादेखि धान खरिद प्रक्रिया सुरु गर्ने भएको छ ।
कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज पौडेल कम्पनीले यस वर्ष २ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको बताउँछन् ।
उनका अनुसार यो लक्ष्य मोटा र मध्यम दुवै प्रकारका धानका लागि निर्धारण गरिएको हो ।
कम्पनीले धान खरिद कार्य पश्चिम नेपालबाट सुरु गर्ने छ, जसको पहिलो चरण धनगढीबाट हुनेछ ।
‘धनगढीबाट खरिद प्रक्रिया सुरु भएपछि बिस्तारै अरू ठाउँबाट पनि खरिद गर्ने तयारी गर्छौं,’ विभाग प्रमुख पौडेलले भने, ‘पूर्वी क्षेत्रमा धान पाक्न अझै केही समय लाग्ने भएकाले त्यहाँ खरिद प्रक्रिया ढिलो सुरु हुनेछ ।’
प्रारम्भिक चरणमा कम्पनीले देशभरिका १३ स्थानबाट धान खरिद गर्ने तयारी गरेको छ । आवश्यकता अनुसार ती स्थानमा थप डिपो पनि विस्तार गर्न सकिने पौडेलले बताए ।
धान खरिद गरिने प्रमुख स्थान
कम्पनीले धान खरिद गर्ने नियमित स्थानमा महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगञ्ज, तुलसीपुर, भैरहवा, वीरगञ्ज, पोखरा, जुम्ला, जनकपुर, लहान, बिर्तामोड र विराटनगर समावेश गरेको छ ।
यी स्थानमा आवश्यकता र बजार अवस्था हेरी खरिद कोटा बढाउन सकिने कम्पनीको भनाइ छ । कम्पनीले प्रत्यक्ष रूपमा चामल आयात गर्दैन ।
पौडेलका अनुसार देशभित्रै चामल पर्याप्त मात्रामा उपलब्ध छ, तर निजी क्षेत्रका व्यापारीले भने नियमित आयात गरिरहेका छन् ।
तत्काल कम्पनीले आयात गर्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ । यद्यपि, नेपालमा उत्पादन हुने धानले मात्रै यहाँको माग धान्न नसक्ने भएकाले आयात अनिवार्य देखिने उनले उल्लेख गरे ।
सरकारले यो वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ र मध्यम धानको ३ हजार ६ सय २८ रुपैयाँ निर्धारण गरेको छ ।
गत वर्ष भने सरकारले वर्षे धान मोटाको ३ हजार ४ सय १० र मध्यमको ३ हजार ५ सय ८० रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको थियो ।
गत वर्ष खाद्य कम्पनीले सुरुमा ३ लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । यद्यपि, कम्पनीले जम्मा १ लाख १८ हजार ८ सय २१ क्विन्टलमात्र खरिद गर्न सफल भएको थियो ।
प्रतिक्रिया 4