
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले एकीकृत भुक्तानी प्रणाली सञ्चालनका लागि 'नेसनल पेमेन्ट स्विच एन्ड द नेसनल पेमेन्ट इकोसिस्टम–मास्टर डकुमेन्ट' तयार गरी सुझाव माग गरेको छ।
- मास्टर डकुमेन्ट अनुसार सबै भुक्तानी प्रणाली सञ्चालक नेसनल पेमेन्ट स्विचमा जोडिनुपर्ने र कारोबार राफसाफको अन्तिम बिन्दु राष्ट्र बैंक हुने व्यवस्था गरिएको छ।
- नेसनल पेमेन्ट स्विचको पूर्वाधार एनसीएचएलमार्फत तयारी अवस्थामा छ र यसले अन्तर आबद्धता, डेटा उपलब्धता र नियमन सहज बनाउने राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए।
२७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत भुक्तानी प्रणाली सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था तयार गरेको छ । केन्द्रीय बैंकले ‘मास्टर डकुमेन्ट’ तयार गर्दै कारोबार राफसाफको अन्तिम बिन्दु राष्ट्र बैंक नै हुने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले एकीकृत भुक्तानी प्रणालीका लागि नीगित व्यवस्था गर्न ‘नेसनल पेमेन्ट स्विच एन्ड द नेसनल पेमेन्ट इकोसिस्टम–मास्टर डकुमेन्ट’ को मस्यौदा तयार गर्दै सुझाव माग गरेको छ ।
केन्द्रीय बैंकले आवश्यक अध्ययन तथा अनुसन्धान गरेर तयार गरेको उक्त डकुमेन्टमा सर्वसाधारणबाट पनि थप नयाँ विषय आउन सक्ने भएकाले सुझाव माग गरिएको राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितले बताए ।
‘देशको भुक्तानी प्रणालीको स्पष्ट खाका तयार गर्नुपर्ने भएकाले उक्त डकुमेन्ट तयार गरिएको हो,’ उनले भने, ‘भुक्तानी प्रणालीमा एकीकृत नेसनल पेमेन्ट स्विच चाहिन्छ भन्ने हिसाबले छलफल भइरहेको हुनाले यस्तो अवस्थामा त्यसलाई कार्यान्वयन गर्न आवश्यक नीतिगत व्यवस्था तयार गरिएको हो ।’
नेपालको भुक्तानी प्रणालीको संरचना कस्तो देखिन्छ भन्ने प्रश्न आएकाले त्यसलाई स्पष्ट पार्न पनि त्यो डकुमेन्ट तयार गरिएको उनले बताए ।
‘हामीले नेपालमा बहुभुक्तानी प्रणाली सञ्चालकहरू सोचेका छौं,’ पण्डितले भने, ‘भारतमा यूपीआई भनेको जस्तो हामीकहाँ ठ्याक्कै एउटा युनिफाइड प्ल्याटफर्म थिएन र केही मुलुकमा जस्तै कोरिया, भारतमा हेर्दा युनिफाइड प्ल्याटफर्म भएका ठाउँमा अलि सहज र सुरक्षित खालको बनाउन सकिने भन्ने पनि देखियो, त्यसैका आधारमा नेपालमा पनि एकीकृत भुक्तानी प्रणालीको इकोस्टिम कस्तो हुनेछ भन्ने स्पष्ट पार्ने गरी रणनीतिक दस्तावेज तयार गरिएको हो ।
’
यो एउटा रेफरेन्स डकुमेन्टका रूपमा केन्द्रीय बैंकले तयार गरेको उनले बताए । यो अनुसार भुक्तानी प्रणाली विकास गर्दा सबै भुक्तानी प्रणाली सञ्चालक नेसनल पेमेन्ट स्विचमा जोडिनुपर्ने उनले जानकारी दिए ।
‘नेसनल पेमेन्ट स्विचले राउटिङ गरिदन्छ,’ उनले भने, ‘तिनीहरूको कारोबार फस्र्योट गर्ने अन्तिम बिन्दु राष्ट्र बैंकमार्फत हुन्छ ।’
हाल भुक्तानी प्रणाली सञ्चालक अनुसार उनीहरूको सेटलमेन्ट बैंक कारोबारको अन्तिम राफसाफ बिन्दुका रूपमा रहेको उनले बताए ।
अब नेसनल पेमेन्ट स्विच आएको खण्डमा नेपाल राष्ट्र बैंकमा भएका खातामार्फत सेटलमेन्ट हुनेछ । यसले अन्तर आबद्धता हुने भएकाले स्विचले राउटिङ गरेर राफसाफ हुने उनले बताए ।
अन्तर आबद्धता पनि कायम हुने र डेटा उपलब्धता पनि हुने भएकाले नियामकलाई नियमन गर्न सहज हुने उनको भनाइ छ । यसका लागि आवश्यक पूर्वाधार पनि करिब तयार भएको पण्डितले बताए ।
‘नेसनल पेमेन्ट स्विचको पूर्वाधार एनसीएचएल मार्फत तयारी अवस्थामा छ, उसले कार्ड रेडी पारिसकेको छ,’ उनले भने, ‘त्यस्तै रिटेल पेमेन्ट स्विच अहिले नै कार्यान्वयनमा छ, अब कार्ड पनि भयो, रिटेल पेमेन्ट पनि भयो र राष्ट्र बैंकले सबै पक्षलाई यसमा जोडियो भन्यो भने कार्यान्वयनमा आउँछ ।’
अहिले कुनै कमर्सियल बैंकमा हुने सेटलमेन्ट भन्दा केन्द्रीय बैंकमा हुने सेटलमेन्ट कम जोखिमपूर्ण हुने उनको तर्क छ । संस्था विशेषका जोखिम यसले न्यूनीकरण गर्नेसमेत उनको दाबी छ । यो भनेको भुक्तानी प्रणालीमा जोडिएका सेवा प्रदायक संस्थाका लागि चासोको विषय हुने उनले बताए ।
प्रतिक्रिया 4