+
+
Shares

कर्जा प्रवाहमा सुधार, निजी क्षेत्रतर्फ बढ्यो करिब १ प्रतिशत

आर्थिक गतिविधि बढेसँगै कर्जाको मागमा सुधार आएपछि साउनमा ०.१ प्रतिशतले ऋणात्मक रहेकोमा भदौमा ०.९ प्रतिशतले बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष भदौमा निजी क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाबाट कर्जा ०.९ प्रतिशतले वृद्धि भएको छ।
  • भदौ मसान्तमा निजी क्षेत्रमा प्रवाहित कर्जा ७.८ प्रतिशतले बढेको छ र गैरवित्तीय संस्थागत क्षेत्रको हिस्सा ६२.८ प्रतिशत छ।
  • चालु आव दुई महिनामा निर्माण, औद्योगिक उत्पादन, उपभोग्य, यातायात र व्यापार क्षेत्रको कर्जा बढेको छ भने सेवा उद्योग क्षेत्रको कर्जा घटेको छ।

२८ असोज, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो महिना साउनमा ऋणात्मक रहेको निजी क्षेत्रतर्फको कर्जा प्रवाह भदौमा सुधार आएको छ ।

आर्थिक गतिविधि बढेसँगै कर्जाको मागमा सुधार आएपछि साउनमा ०.१ प्रतिशतले ऋणात्मक रहेकोमा भदौमा ०.९ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आव भदौमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोड अर्थात् ०.९ प्रतिशतले बढेको छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५५ खर्ब ४६ अर्ब ९४ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

गत आव सोही अवधिमा यस्तो कर्जा ७३ अर्ब ३९ करोड अर्थात् १.४ प्रतिशतले बढेको थियो । तर, चालु आव साउनमा भने २ अर्ब ९३ करोडले घटेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.८ प्रतिशतले बढेको छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको हिस्सा ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको हिस्सा ३७.२ प्रतिशत छ । गत आव सोही अवधिमा यस्तो हिस्सा क्रमशः ६४ र ३६ प्रतिशत थियो ।

चालु आव सोही अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १ प्रतिशत र वित्त कम्पनीहरूको ०.८ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको ०.१ प्रतिशतले घटेको छ ।

भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति सुरक्षणमा १५.१ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत छ । २०८१ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.२ र ६६.२ प्रतिशत थियो ।

चालु आव दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेका कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा २.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्र १.९, उपभोग्य क्षेत्र १.१, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र १ र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १ प्रतिशतले बढेको छ भने सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशतले घटेको छ ।

चालु आव सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये ट्रस्ट रिसिट (आयात) कर्जा ६.७ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.५, क्यास क्रेडिट कर्जा १.७, आवधिक कर्जा १.१, रियल इस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.८ र हायर पर्चेज कर्जा ०.५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३.६ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?