
२९ असोज, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको कानुनी उपाय खोजिरहेका सभामुख देवराज घिमिरेले आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दैछन् ।
राजनीतिक दलका नेता, कानुन व्यावसायी र विज्ञहरूसँग अनौपचारिक छलफल गर्दै आएका सभामुख घिमिरेले आज विघटित प्रतिनिधिसभामा रहेका राजनीतिक दलका प्रमुख सचेतकहरूसँग औपचारिक छलफल गर्न लागेका हुन् ।
छलफल आज बिहान नौ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आयोजना गरिएको छ ।
सो छलफलमा विघटित प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा), जनमत पाटीका प्रमुख सचेतकहरूलाई निम्तो गरिएको छ । उनीहरूलाई पार्टीको आधिकारिक धारणासहित सहभागी हुन भनिएको छ ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार ‘संसद् पुनर्स्थापनाको माग लिएर सभामुख अदालत जानुपर्छ कि जानु पर्दैन’ भनेर दलहरूको धारणा लिन छलफल आयोजना गरिएको हो ।
दलहरूको धारणा लिएपछि पूर्वमहान्याधिवक्ताहरू, नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग समेत छलफल गर्ने सभामुखको तयारी छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । ओली सत्ताच्यूत भएपछि प्रतिनिधिसभा विघटन गरेर भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
कार्की नेतृत्वको अन्तरिम सरकारले ताजा जनादेश लिनका लागि आगामी फागुन २१ आम निर्वाचन गर्ने निर्णय गरेको छ ।
तर, राजनीतिक दलहरू प्रतिनिधिसभा विघटनलाई मानेर जाने वा पुनर्स्थापनाका लागि लड्ने भन्नेमा एकमत छैनन् । यो बेला सभामुख घिमिरेले दलहरुको आधिकारिक धारणा लिन लागेका हुन् ।
प्रतिक्रिया 4