
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति ट्रम्पको भारतले रूसबाट तेल खरिद बन्द गर्ने दाबीलाई निराधार भन्दै खण्डन गरेको छ।
- ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीले आफूलाई रूसबाट तेल किन्ने काम बन्द गर्ने आश्वासन दिएको दाबी गरेका थिए।
- विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले मोदी र ट्रम्पबीच कुनै वार्ता नभएको र ऊर्जा निर्णयमा स्वतन्त्रता र स्थायित्व मार्गदर्शक हुने बताए।
३० असोज, काठमाडौं । भारतले रूससँग तेल खरिद गर्न बन्द गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई भारतीय विदेश मन्त्रालयले निराधार भन्दै खण्डन गरेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसबाट तेल किन्ने काम बन्द गर्न सहमति जनाएको दाबी गरेका थिए ।
भारतीय विदेश मन्त्रालयले हालै दुई नेताबीच कुनै पनि वार्ता नभएको भन्दै ट्रम्पको उक्त भनाइको खण्डन गरेको बीबीसी हिन्दीले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बिहीबारको साप्ताहिक प्रेसवार्तामा भने, ‘मलाई जानकारी भएअनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हिजो कुनै कुरा भएको थिएन ।’
भारतले ठूलो मात्रामा तेल र ग्याँस आयात गर्ने गरेको र बदलिँदो ऊर्जा वातावरणमा भारतीय उपभोक्ताहरूका हितको सुरक्षा सरकारको प्राथमिकतामा पर्ने उनको भनाइ छ ।
‘ऊर्जा मूल्यको स्थिरता कायम राख्नु र आपूर्तिको निरन्तरता सुनिश्चित गर्नु हाम्रो दुई मुख्य लक्ष्य हुन्,’ उनले भने ।
अमेरिकासँग समेत भारतको ऊर्जा सहकार्य विस्तार हुँदै गएको बताउँदै उनले पछिल्ला वर्षहरूमा भारतले ऊर्जाको स्रोतमा विविधीकरण गर्ने प्रयासलाई तीव्र बनाएको बताए ।
अमेरिकी प्रशासनले पनि भारतसँग ऊर्जा सहकार्यलाई अझ सुदृढ बनाउने इच्छा देखाएको उनले बताए ।
यसअघि ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँगको कुराकानीमा अब रूसबाट तेल खरिद नगर्ने बताएको दाबी गरेका थिए ।
उनले भनेका थिए– ‘म भारतले रूसबाट तेल किनिरहेकोमा सन्तुष्ट थिइनँ, र प्रधानमन्त्री मोदीले आज मलाई आश्वासन दिनुभयो कि भारत अब रूसबाट तेल किन्ने छैन ।’
तर भारतले ट्रम्पको यो भनाइलाई निराधार बताउँदै ट्रम्पसँग मोदीको कुनै औपचारिक वा अनौपचारिक वार्ता नभएको बताएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र गार्जिएनका अनुसार ट्रम्पले युक्रेन युद्ध र रूसमाथिको दबाबका प्रसङ्गमा उक्त टिप्पणी गरेका थिए ।
तर, भारतीय विदेश मन्त्रालयले भने ऊर्जासम्बन्धी निर्णयहरूमा देशको स्वतन्त्रता र स्थायित्व नै मार्गदर्शक सिद्धान्त हुने प्रतिक्रिया दिएको छ ।
प्रतिक्रिया 4