
३१ असोज, काठमाडौं । ललितपुरको जावलाखेलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्व परिवर्तनको एजेण्डालाई पनि प्राथमिकताका साथ उठाइरहेका छन् ।
यद्यपि बैठकको सुरुमै अध्यक्ष केपी शर्मा ओलीले २७-२९ मंसिरमा एघारौं महाधिवेशन गर्ने प्रस्ताव राखेकाले यो एजेण्डा अपेक्षाकृत उठ्न सकिरहेका छैन । नेताहरूका अनुसार दुई महिनाको समय राखेर महाधिवेशनको प्रस्ताव गरिएको हुँदा अध्यक्षको राजीनामा माग्ने पूर्व तयारीबाटै केन्द्रीय सदस्यहरू पछि हटेका छन् ।
अनि अध्यक्ष ओलीले पनि लिखित प्रस्ताव र उद्घाटन मन्तव्य मार्फत् नेतृत्व छोड्न आवश्यक नरहेको तर्क गरेका छन् । २८ असोजमा केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले दिएको मन्तव्यलाई त पार्टीपंक्तिले चासोका साथ नै हेरे ।
ओलीले नेतृत्व परिवर्तनको एजेण्डा उठाउने नेताहरूविरुद्ध चर्को आक्रोश पोख्दै फेसबुकमा लेख्ने र आमसञ्चार माध्यममा अन्तर्वार्ता दिँदैमा राजीनामा नआउने अडान लिएका थिए । ‘तपाईंलाई बोकेर जान सकिँदैन भनेको सुन्छु, किन बोक्नु पर्यो ? म आफैं हिड्छु,’ ओलीले यस्तो तर्क गरिरहँदा त्यसैदिन प्रसारित एक अन्तर्वार्ताको समेत प्रशंग निकालेका थिए ।
ओलीको जवाफपछि धेरैको चासोमा परेको अन्तर्वार्ता पार्टी सचिव योगेश भट्टराईको थियो । र, केन्द्रीय सदस्यहरूबीच ओलीले भट्टराईकै आलोचनामा त्यस्तो आक्रोश पोखेको खुलेको छ ।
‘अध्यक्षबाट राजीनामा गर्नुस् र अभिभावक भएर बस्नुस्, पार्टी हामी चलाउँछौ भनेर केपी ओलीलाई सचिवालय बैठकमा योगेश भट्टराईले प्रस्ताव गर्नुभएको थियो,’ भट्टराई निकट एक नेता भन्छन्, ‘अध्यक्ष छोड्ने प्रस्तावले केपी ओली आक्रोशित बन्नु भएको रहेछ ।’
उनका अनुसार २६ असोजमा बसेको सचिवालय बैठकमा भट्टराईले नेतृत्व परिवर्तनको प्रस्ताव राखेका थिए । ओलीले अध्यक्ष छोड्नुपर्ने परिस्थिति र पृष्ठभूमिबारे लामै व्याख्या गरेका भट्टराईले अरू नेतालाई पनि वस्तुपरक व्याख्या गर्न आग्रह गरेका थिए ।
भट्टराईले भन्दा पहिले गुरु बराल बाहेक सबै उपाध्यक्षले ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरिसकेका थिए । २४ असोजमा बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे एक स्वरमा नेतृत्व परिवर्तनको पक्षमा उभिएका थिए ।
पदाधिकारीमै ओली अल्पमतमा पर्ने देखिएपछि सचिवालय बैठक नै एक दिन रोकिएको थियो । यद्यपि ओलीको स्वास्थ्यमा समस्या देखिएकाले बैठक स्थगित गर्नु परेको सार्वजनिक प्रष्टोक्ति दिइयो ।
स्रोतका अनुसार त्यो दिन महासचिव शंकर पोखरेलले पार्टी सचिवहरूसँग एक-एकगरी कुरा गरे । पोखरेलले तत्काल ओलीको राजीनामा माग्ने प्रस्तावबाट पछि हट्न सचिवहरूसँग आग्रह गरेका थिए ।
महासचिव पोखरेलले लिएको त्यस्तो पहलकदमीबारे ओली पनि जानकार थिए । तर २६ असोजको सचिवालयमा पनि सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले ओलीको राजीनामालाई मुख्य एजेण्डा बनाएरै बोलेका थिए । ‘गोकर्ण विष्टले नेतृत्व परिवर्तनको औचित्यबारे सवा घण्टा कुरा राख्नुभयो, पृथ्वीसुब्बा गुरुङले एक घण्टा ५ मिनेट बोल्नुभयो,’ बैठक स्रोत भन्छ, ‘योगेश भट्टराईले ४० मिनेट बोल्नु भएको थियो ।’
योगेशले आफ्नो ४० मिनेटमा पछिल्लो राजनीतिक परिस्थितिदेखि ओलीसँग आफ्नो विगतका सम्बन्धहरू केलाएका थिए । ‘मोहनचन्द्र अधिकारी, आरके मैनाली र केपी शर्मा ओलीको रिहाइको माग राखेर भित्तेलेखन गर्दै हिँड्दा म जेलमा पुगेँ,’ योगेशले विगत सम्झिए, ‘जेलभित्र त्यही व्यक्तिलाई भेटेँ, जसको रिहाइको मागमा भित्ते लेखन गरिरहेको थिएँ ।’
ओलीलाई जेलभित्र भेट्दा आफूले बुवाको आत्मीयता पाएको पनि उनले बताएका थिए । ‘मलाई मेरो बुवाको सम्झना छैन । तर पुलिसले कुटेको घाउहरू केपी कमरेडले जेलभित्र सुमसुम्याउँदा मैले बुवाको आभास पाएको थिएँ,’ ओलीसँगको सम्बन्ध निकै पुरानो भएको योगेशको तर्क थियो ।
तर अहिले तिनै ओलीलाई बोकेर अगाडि जान नसकिने अडान पनि उनले लिएका थिए । सँगै, ओलीलाई नेतृत्व नछोड्न प्रोत्साहित गर्ने नेताहरूसँग पनि योगेशको आग्रह थियो ।
विशेषगरी महासचिव पोखरेलसँग योगेशले वस्तुगत तथ्य बुझिदिन आग्रह गरेका थिए । ‘तपाईं आफैं अगाडि सर्नुस्, यो पार्टी हाँक्नुस्,’ पदाधिकारीहरू समक्ष योगेशले शंकरलाई अध्यक्ष पदकै प्रस्ताव गरेका थिए ।
नेतृत्व लिनेगरी शंकर अगाडि बढ्दा अरू पदाधिकारी र पार्टी पंक्तिले पनि साथ दिने योगेशको तर्क थियो । ‘अरूकै लागि तपाईं किन यति हत्ते गरिरहनु भएको, आफैं अगाडि बढ्नुस्,’ योगेशले भनेका थिए ।
शंकरलाई सम्झाउने क्रममै योगेशले ओलीसँगको आफ्नो विगतको सम्बन्ध सम्झिएका थिए । ‘केपी ओली अध्यक्ष लड्दै गर्दा म परिस्थितिबस फरक कित्तामा उभिन पुगेँ । त्यो मेरो बाध्यता थियो,’ ओलीसँगको सम्बन्ध अरू कसै नेताको भन्दा आफ्नो कम नरहेको उनको आशय थियो । तर जेनजी पुस्ताको आन्दोलनपछि राजनीतिक परिस्थिति बदलिएको बुझ्नुपर्ने उनको आग्रह थियो ।
अर्थात् आफू र अरू पदाधिकारीहरूकै समक्ष योगेशले शंकर पोखरेललाई अध्यक्ष प्रस्ताव गरेको ओलीलाई मन परेको रहेनछ । ‘मार्ग प्रशस्त गर्नुपर्छ भनेर त योगेश भट्टराई भन्दा अगाडि अरू धेरै पदाधिकारीले भनिरहनु भएको थियो । तल्लो पंक्तिसम्मै ओलीले अध्यक्ष छोड्नुपर्छ भन्ने बहस चलिरहेकै छ,’ भट्टराई निकट ती नेता भन्छन्, ‘तर आफूलाई बलियो साथ दिइरहेका शंकर पोखरेललाई नै अध्यक्षका रूपमा अगाडि बढ्न उहाँले प्रस्ताव गर्दा केपी ओलीमा आक्रोश देखियो ।’
ओलीले जति चर्को अभिव्यक्ति दिएपनि पदाधिकारीहरू भने आफ्नो पूर्ववत: अडानमै छन् । योगेश भट्टराईले केन्द्रीय कमिटी बैठकमा पेश गर्ने भनेर लिखित प्रस्ताव नै तयार पारेका छन् । अरू पदाधिकारीले पनि ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने तयारी थियो ।
यही सूचना पाएर केन्द्रीय कमिटी बैठकमा उल्टो वर्णाणुक्रम अनुसार केन्द्रीय सदस्यहरूले क्रमश: धारणा राख्ने र अन्तिममा पदाधिकारीहरूले बोल्ने नियम महासचिव पोखरेलले सुनाएका थिए । यसप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उभिएरै आपत्ति जनाएका थिए भने हलबाट पदाधिकारीलाई पहिले बोल्न दिन भनेर हो-हल्ला नै भएको थियो ।
यद्यपि महासचिव पोखरेलको प्रस्ताव बमोजिम नै केन्द्रीय कमिटी बैठकमा नेताहरूले धारणा राखिरहेका छन् । ३ मिनेटको समयमा आफ्नो कुरा नसकिएपछि धेरै नेताहरूले लामो-लामो लिखित प्रस्ताव पार्टीलाई बुझाएका छन् । जबकि ओलीकै प्रस्ताव भने ६ पृष्ठ मात्रै छ ।
प्रतिक्रिया 4