
काठमाडौं । ब्ल्याक सुल्पा प्रोडक्सनको ब्यानरमा बनेको ‘द रिचुअल : ब्लर्ड रेसिप्रोसी’ नामक फिल्म काठमाडौं हरर फिल्म महोत्सव-२०२५ का लागि छनोट भएको छ । जितेन्द्र बुढा मगरको निर्माणमा बनेको चलचित्र फिचर फिल्मका रुपमा महोत्सवमा छानिएको हो ।
नेपालकै पहिलो हरर चलचित्र महोत्सव नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको हो । महोत्सव अक्टोबर ३१ देखि नोभेम्बर २, २०२५ सम्म काठमाडौंमा आयोजना हुँदैछ।
चलचित्र ‘द रिचुअल : ब्लर्ड रेसिप्रोसी’ पश्चिम नेपालको पहाडी भेगमा बसोबास गर्ने मगर खाम समुदायको लोककथा, संस्कार र आध्यात्मिक विश्वासहरूमा आधारित कथा रहेको निर्देशक विशाल रोकामगरले जानकारी दिए । ‘यसले विश्वास र भयबीचको अदृश्य सम्बन्ध, मानव आस्था र आत्मिक संसारको धुम्म सीमारेखा, र शुद्धता र बाँच्ने संघर्षबीचको द्वन्द्वलाई गहिरो सिनेमाटिक भाषामा प्रस्तुत गर्दछ’, उनले भने ।
निर्देशकसमेत रहेका विशाल रोकामगर, जितेन्द्र बुढा मगर, र धिरज पुन मगरले संयुक्त रुपमा कथा लेखेका छन् । चलचित्रमा निशा घरती मगर, सुदन थापा, होम रोका मगर, विशाल मान श्रेष्ठ, छिज्माली बुढा मगर, मोहन कलाठोकी, जुनु बुढा मगर, हियान बुढा मगर, र टेकबहादुर पुनलगायत कलाकारको भूमिका रहेको छ ।
लोकधुनमा आधारित गीतमा अंकिता पुनले आवाज भरेकी छन् । पोशाक डिजाइन संगीत रोकामगर ले सम्हालेकी छन्, कास्टिंग निदेशक जेके थापा, सह–निर्देशनमा उज्ज्वल अधिकारी रहेका छन्, र सह–क्यामेरामा अनमोल रोका मगरको योगदान रहेको छ। फिल्मको संगीत संयोजन र ध्वनि डिजाइनमा निरज डंगोलले गरेका छन् ।
‘दाङमा निर्माण भएको यो चलचित्रले स्थानीय संस्कृति, लोकविश्वास र अध्यात्मिक परम्परामा आधारित कथालाई विश्वको फिल्म मञ्चमा पुर्याउने प्रयास गरेको छ’, निर्देशक विशालले भने, ‘फेस्टिभलमा छनोट हुन पाउँदा दाङ र मगर समुदायको गौरवलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने विश्वास लिएका छौं ।’
काठमाडौं हरर चलचित्र महोत्सवले उत्कृष्ट फिचर चलचित्र, उत्कृष्ट लघु चलचित्र र उत्कृष्ट युवा चलचित्र गरी तीन विधामा पुरस्कार प्रदान गर्नेछ। निर्णायक मण्डलमा राजभाइ सुवाल (छायांकन निर्देशक/फोटोग्राफर, नेपाल), होसाम फाह्मी (चलचित्र समीक्षक, जर्मनी), एलेक्जान्ड्रा एनबर्ग (चलचित्र समीक्षक, स्विडेन/लाट्भिया) र यास्मिन बुछफार (चलचित्र समीक्षक, मोरोक्को) रहेका छन्।
महोत्सवमा १५ देशका २५ चलचित्रहरू प्रदर्शन गरिनेछन्, जसअन्तर्गत ७ फिचर र १८ लघु चलचित्रहरू रहेका छन्।
महोत्सव निर्देशक रशिक पाठकका अनुसार, नेपालमा हरर शैलीका चलचित्रहरूको निर्माण र अध्ययनलाई प्रोत्साहन गर्दै, लोककथा, मिथक र अध्यात्मसँग जोडिएका कथाहरूलाई सिनेमाको माध्यमबाट विश्वसामु प्रस्तुत गर्नु यो महोत्सवको उद्देश्य रहेको छ।
प्रतिक्रिया 4