+
+
Shares

निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते २१:५८

१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् ।

बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री ओलीले शुक्रबार केन्द्रीय कमिटी बैठकको समापनमा सम्बोधनका क्रममा आगामी २१ फागुनका लागि तय भएको निर्वाचनमा सहभागी नहुने घोषणा गरेका थिए ।

‘एमालेको भूमिकाबारे एकछिन छलफल भयो,’ शीतलनिवासमा भएको छलफलमा सहभागी एक अगुवाले अनलाइनखबरसँग भने, ‘राष्ट्रपतिज्यू एमालेको हिजोको निर्णयबाट असन्तुष्ट हुनुहुन्थ्यो ।’

छलफलमा सहभागी अर्का अगुवाले पनि एमालेको पछिल्लो निर्णयप्रति राष्ट्रपति पौडेलले असन्तुष्टि व्यक्त गरेको प्रतिक्रिया दिए ।

एमाले अध्यक्ष ओलीबाहेकका नेताहरूले राष्ट्रपतिसँगको भेटमा निर्वाचनमा जानुपर्ने धारणा राखेको जानकारी आफूहरूलाई दिइएको ती अगुवाले बताए ।

‘एमाले अध्यक्षबाहेकका नेताहरूसँग राष्ट्रपतिले भेट्नुभएको रहेछ । उहाँहरूले निर्वाचनमै जानुपर्छ भन्नुभएको रहेछ,’ ती अगुवाले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भने ।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा धेरै नेताहरुले पार्टीलाई चुनावबिरोधी कित्तामा उभ्याउन नहुने धारणा राखे पनि ओलीले त्यसलाई स्वीकारेनन् ।

नेपाली काँग्रेस, माओवादी लगायतका दलहरुले चुनावमा जाने घोषणा गरिसकेको अबस्थामा ओलीले चुनाव बहिस्कार गर्नेगरी निर्णय गरेको भन्दै राष्ट्रपतिले असन्तोष जनाएको अगुवाहरुको भनाई छ ।

राष्ट्रपति पौडेलले ओलीकै सिफारिसमा आफूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको पनि छलफलका क्रममा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?