+

आईभीएफ सम्बन्धी बारम्बार सोधिने प्रश्न र त्यसको उत्तर

२०८२ कात्तिक  २ गते २०:२७ २०८२ कात्तिक २ गते २०:२७

आईभीएफ अन्य प्रक्रिया भन्दा अलि लामो हो । यसमा डेढदेखि दुई महिना लाग्छ । तर यसको सफलता दर अरू प्रक्रियाभन्दा राम्रो छ ।

आईभीएफ सम्बन्धी बारम्बार सोधिने प्रश्न र त्यसको उत्तर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधिबाट प्राकृतिक तरिकाले सन्तान जन्माउन नसक्ने दम्पतीले सन्तान पाउने सम्भावना बढेको छ।
  • आईभीएफ महिला र पुरुष दुवैको बाँझोपन समस्यामा प्रयोग गरिन्छ र यसको सफलता दर अन्य प्रक्रियाभन्दा राम्रो हुन्छ।
  • आईभीएफ गर्दा थाइरोइड र मधुमेह समस्या आईभीएफकै कारण होइन, उमेर र गर्भावस्थाको कारणले हुन्छ भन्ने डा.अर्चना शाक्यले खुलाउनुभयो।

प्राकृतिक तरिकाबाट सन्तान जन्माउन नसक्ने दम्पतीका लागि चिकित्सा विज्ञानले विकास गरेको इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रविधि वरदान नै हो । यस प्रविधिबाट धेरै दम्पतीले सन्तान सुख प्राप्त गरेका छन्।

आईभीएफबारे धेरै कुरा थाहा भए पनि अझै मानिसहरूको मनमा थुप्रै प्रश्नहरू छन् । जस्तो कि- कस्तो अवस्थामा आईभीएफ गर्ने हो ? आईभीएफ गर्दा महिलामा थाइरोइड र मधुमेहको समस्या बढी देखिन्छ भन्ने कुरा सत्य हो ? आईभीएफबारे यस्ता धेरै प्रश्न आम व्यक्तिहरूको मनमा रहेका हुन्छन् । यी प्रश्नहरूको हल गर्न हामी स्त्रीरोग, प्रजनन् तथा आईभीएफ विशेषज्ञ डा.अर्चना शाक्यसँग कुराकानी गरेका छौँ ।

अनलाइनखबरका लागि सुमित्रा लुइटेलले गरेको कुराकानीको सम्पादित अंश:

आईभीएफबारे मानिसहरूको मनमा अझै प्रश्नहरू छन् । पहिले ‘टेस्टट्युब बेबी’ भनेको सुनिन्थ्यो तर अहिले आईभीएफ भन्निन्छ, यी दुईमा के फरक छ ?

अहिले पनि धेरै जना टेस्टट्युब बेबी नै भनेर आउँछन्, टेस्टट्युब बेबी र आईभीएफ उस्तै हो । बच्चा बनाउने प्रक्रिया ल्याबमा ट्युबमार्फत गर्ने भएकाले टेस्टट्युब बेबी भनिएको हो । तर यो आईभीएफ अर्थात् इनभिट्रो फर्टिलाइजेसन हो । दुवै एउटै प्रक्रिया हुन् ।

महिलामा समस्या भएको अवस्थामा मात्र हो कि अन्य अवस्थामा पनि आईभीएफ गरिन्छ ?

आईभीएफ महिला र पुरुष दुवैको कारणले गर्नुपर्ने हुन्छ । पहिले बच्चा नजन्मिएपछि सुरुमा महिलाकै परीक्षण गरिने भएकाले महिलाका लागि मात्र हो भन्ने जस्त बुझाइ भएको हो । तर, पुरुषमा पनि उत्तिकै बाँझोपनको समस्या हुन्छ । पुरुषको कारणले पनि आईभीएफ गर्नुपर्ने हुन्छ ।

आईभीएफ एकदम लामो र झन्झटिलो प्रक्रिया हो भनिन्छ नि ?

आईभीएफ अन्य प्रक्रिया भन्दा अलि लामो हो । यसमा डेढदेखि दुई महिना लाग्छ । तर यसको सफलता दर अरू प्रक्रियाभन्दा राम्रो छ । सफलता दर राम्रो र बच्चा पाउने सम्भावना उच्च भएपछि लामो भए पनि यसलाई प्राथमिकता दिनुपर्छ ।

आईभीएफमा खर्च बढी लाग्छ र नतिजाको टुंगो हुँदैन, भन्ने प्रश्न धेरैको मनमा होला नि ?

आईभीएफ १०० प्रतिशत सफल नै हुन्छ भन्ने हुँदैन । दम्पतीले प्राकृतिक प्रयास गरे, आईयुआई गरे, नली जाँच गरे तैपनि सन्तान नभएको अवस्थामा आईभीएफमा १०० प्रतिशत हुन्छ भनेर सोध्छन्, तर त्यस्तो हुँदैन । कुनै पनि ल्याबमा आईभीएफ गरेपछि १०० प्रतिशत बच्चा हुन्छ भन्ने छैन । पैसाको कुरा गर्दा, अरू प्रक्रियाभन्दा महँगो हुन्छ किनकि इन्जेक्सन, ल्याबका प्रक्रियाहरू जटिल हुन्छन् । भ्रूण बन्ने प्रक्रिया डिटेलमा हेर्नुपर्ने हुन्छ । तर पहिलेको भन्दा अहिले अलि सस्तो भएको छ ।

आईभीएफमार्फत जन्मेका बच्चाहरू अशक्त हुन्छन् भन्ने कुरा सुनिन्छ, यसमा कत्तिको सत्यता छ ?

आईभीएफ गर्दैमा असामान्य बच्चा हुन्छ भन्ने हुँदैन । प्राकृतिक रूपमा जन्माउँदा पनि परिवारमा जेनेटिक समस्या भए आउँछ । आईभीएफमा पनि त्यही हो, आईभीएफले जेनेटिक समस्या घटाउन सक्दैन । तर यसकै कारणले नयाँ असामान्यता भने आउँदैन ।

आईभीएफमार्फत बच्चा जन्मिँदा दुई वा दुईभन्दा बढी बच्चा जन्मिने सम्भावना बढी हुन्छ हो ?

आईभीएफ प्रक्रियामा भ्रूण ट्रान्सफर गरिन्छ । यो तीन दिनको वा पाँचौँ दिनको हुन्छ । सफलता बढाउन एकभन्दा बढी भ्रूण ट्रान्सफर गरिन्छ । पाँचौँ दिनकोमा दुई वटा र तीन दिनकोमा तीन वटासम्म राखिन्छ । सबै भ्रूण विकसित भए ट्विन्स वा ट्रिपलेट्स हुन सक्छ । यसैले आईभीएफमा ट्विन्स वा ट्रिपलेट्स हुने सम्भावना बढ्छ ।

पुरुषमा हुने समस्याले गर्दा आईभीएफ गर्नुपर्ने अवस्था कत्तिको आउँछ ?

पछिल्लो समय पुरुषमा पनि समस्या बढ्दै । वैदेशिक रोजगारमा जानेहरूमा गर्मीमा काम गरेका कारण स्पर्म समस्या देखिन्छ । स्पर्मको मात्रा कम, त्यसको गति कम वा स्पर्म नै नहुने समस्या बढ्दै गएको पाइन्छ । यसैले धेरै दम्पतीमा पुरुषकै कारण पनि आईभीएफ गर्नुपर्ने हुन्छ ।

आईभीएफ गर्दा महिलामा थाइरोइड र मधुमेहको समस्या बढी देखिने हो र ?

आईभीएफकै कारण थाइरोइड र मधुमेहको समस्या हुने होइन । आईभीएफ गर्ने महिलाको उमेर ३५–४० हुन्छ, जसमा प्राकृतिक रूपमा नै मधुमेह हुने सम्भावना बढ्छ । थाइरोइडलाई बच्चाको योजना गर्दा नियन्त्रणमा राखिन्छ । गर्भावस्थाको बेला टिएसएच लेभल २.५ भन्दा कम राख्न औषधि दिइन्छ । यो आईभीएफको कारण होइन, उमेर र गर्भावस्थाको कारण हुने समस्या हो ।

गर्भावस्थामा औषधि खानुहुँदैन, बच्चालाई असर गर्छ भन्ने सुनिन्छ । थाइरोइड वा मधुमेह भए औषधि खाने कि नखाने ?

धेरै बिरामीले थाइरोइड वा मधुमेहको औषधिले बच्चालाई असर गर्छ भनेर खान छाड्छन् । तर मधुमेह र थाइरोइडको औषधि खाँदा हैन नखाँदा चाहिँ समस्या हुन्छ । मधुमेह र थाइरोइड नियन्त्रण नगरे गर्भपात, बच्चा सुस्त मनस्थितिको हुने, पानी बढ्ने, प्रिटर्म डेलिभरी जस्ता समस्या आउँछन् । थाइरोइड र मधुमेहको औषधि गर्भावस्थामा सुरक्षित हुन्छ, यसले जटिलता घटाउँछ । सुत्केरीपछि छोड्न सकिन्छ, र यसले बच्चालाई असर गर्दैन ।

महिलाको प्रजनन क्षमता उमेरसँगै कम हुन्छ, पुरुषको ढिलो उमेरसम्म पनि कम हुँदैन भन्ने कुरा सत्य हो ?

महिलाको मात्र होइन, पुरुषमा पनि उमेरसँगै प्रजनन् क्षमता कम हुन्छ । महिनामा मनोपोज भएजस्तै पुरुषमा एन्ड्रोपोज हुन्छ । महिलाको मेनोपोज जस्तै पुरुषमा ४० वर्षपछि टेस्टोस्टेरोन लेभल घट्छ । यसले प्रजनन क्षमता कम गर्छ ।

एन्ड्रोपोज के हो ? लक्षणहरू के–के देखिन्छन् र यसले प्रजनन क्षमतामा कसरी असर गर्छ ?

एन्ड्रोपोज भनेको मेल मेनोपोज हो, औसत ४० वर्षपछि टेस्टोस्टेरोन लेभल बिस्तारै घट्छ । महिलाको मेनोपोजमा एस्ट्रोजन स्वाट्टै घट्छ तर पुरुषमा बिस्तारै।

लक्षणहरूमा छिटो थकाइ लाग्ने, अल्छी लाग्ने, निद्रा नलाग्ने, मांसपेशी कम हुने, पेट ठूलो हुने र मोटोपना, प्रजनन क्षमता कम, स्पर्म समस्या, बच्चामा जेनेटिक समस्या, मिसक्यारेज बढ्ने, अटिजम, सिजोफ्रेनिया जस्ता समस्या देखिन्छ । विश्वभरि पुरुषहरूको स्पर्म क्वालिटी घट्दै छ ।

नेपालमा महिलालाई छिटो विवाह र बच्चा जन्माउन दबाब दिन्छन् तर पुरुषलाई पनि सही उमेरमा बच्चा जन्माउनुपर्छ भन्ने जानकारी हुनु कत्तिको जरुरी छ ?

महिलाको प्रजनन क्षमता ३५ वर्षमै कम हुन्छ र स्वाट्टै घट्छ, मेनोपोज ४८–४९ मा हुन्छ । पुरुषमा ४० पछि बिस्तारै घट्छ, पूर्ण रूपमा रोकिँदैन तर समय लाग्छ । महिलाको भन्दा पुरुषको समय अलि बढी हुन्छ । तर, पुरुषको प्रजनन् क्षमतामा उमेरले केही असर गर्दैन भनेर धेरै ढिलो भने गर्नुहुँदैन ।

एन्ड्रोपोजका लक्षणहरूबाट बच्न उपायहरू छन् ?

जीवनशैलीमा परिवर्तन नै यसबाट बच्ने प्रमुख उपाय हो । जस्तो:- चिल्लो कम, प्रोटिन बढी खाने । नियमित व्यायाम गर्ने, ताजा फलफूल, सागसब्जी, ओखर, आलस खाने, चुरोट–रक्सी नखाने, क्याफिन कम गर्ने, तनावबाट बच्ने । यसले कोर्टिसोल बढ्न दिँदैन र टेस्टोस्टेरोन घट्न रोक्छ ।

निःसन्तानको समस्यामा खानपानको भूमिका हुन्छ कि हुँदैन ?

प्रजनन् क्षमतामा खानपानले पनि असर गर्छ । तारेको, प्रशोधित तथा बजारका तयारी खानेकुरा नखाने । जस्तो:- ट्रान्स फ्याट बढी भएको खानाले तौल बढाउँछ र प्रजनन क्षमता घटाउँछ । प्रजनन् क्षमता बढाउन हरियो सागसब्जी, सिजनल फलफूल खाने, हल्का व्यायाम गर्ने गनुपर्छ । यसले राम्रो हार्मोन निस्किन्छ, तनाव कम हुन्छ, तौल नियन्त्रणमा रहन्छ । यो महिला र पुरुष दुवैमा लागू हुन्छ ।

पछिल्लो समय महिलामा पीसीओएस जस्तो समस्या बढदै छ र यसले प्रजनन क्षमता कम गर्छ, आईभीएफ नै गर्नुपर्छ भन्ने सुनिन्छ नि ?

पीसीओएसमा अण्डाको भण्डार बढी हुन्छ तर ओभ्युलेसन हुँदैन, महिनावारी अनियमित हुन्छ । यसको उपचारमा अण्डा बनाउने औषधि वा इन्जेक्सन दिएर ओभ्युलेसन गराइन्छ। धेरैमा यसैबाट गर्भधारण हुन्छ । भएन भने आईयुआई वा आईभीएफ गनुपर्छ । तर, पीसीओएस हुँदैमा आईभीएफ नै गर्नुपर्छ भन्ने कुरामा सत्यता छैन ।

निःसन्तानको सबै समस्यामा आईभीएफ नै गर्नुपर्छ ?

निःसन्तानपनको सबै समस्यामा आईभीएफ नै गर्नुपर्छ भन्ने हुँदैन । अर्को आईयुवाई विधि पनि अपनाउन सकिन्छ । महिलाको नली ठिक, पाठेघर ठिक र अण्डा बनेको छ भने पुरुषको स्पर्ममा थोरै समस्या भए ल्याबमा वास गरेर राम्रो स्पर्म छानेर पाठेघरमा राखिन्छ जसलाई आईयुआई भनिन्छ । धेरैमा यसैबाट गर्भधारण हुन्छ । त्यसैले सबैलाई आईभीएफ नै चाहिन्छ भन्ने हुँदैन ।

पाठेघरको एउटा नली बन्द भए आईभीएफ नै गर्नुपर्छ ?

पाठेभरमा दुई वटा नली हुन्छन् । दुवै बन्द भए मा आईभीएफ गर्नुपर्छ । तर एउटा मात्र नली बन्द भए अर्को नलीबाट प्राकृतिक वा आइयुवाई विधिबाट गर्भधारण हुन सक्छ।

आईभीएफ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय