+
+
Shares

मधेशबाट माओवादी सन्देश : चुनावमा होमिने, युवाको मत तान्ने

जेनजी आन्दोलनपछि पहिलोपटक मधेशमा राजनीतिक सभा गर्दै माओवादी केन्द्रले निर्वाचन अभियानमा होमिएको सन्देश मात्र दिएको छैन, युवा मत तान्ने उद्देश्यले जेनजीसँग सहकार्यको प्रस्तावसमेत गरेको छ ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ कात्तिक ५ गते २०:२५
महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनपछि पहिलो पटक मधेशमा महोत्तरीको रामगोपालपुरमा ठूलो सभा गरी चुनावको पक्षमा उभिएको सन्देश दिएको छ।
  • पार्टीका शीर्ष नेता प्रचण्डले चुनावमा सहकार्य गर्न जेनजी युवालाई आह्वान गरेका छन् ।
  • चुनावको तयारी र पार्टी महाधिवेशन एकसाथ अगाडि बढाउने निर्णय गरिसकेको माओवादीले चाडपर्वपछि देशव्यापी अभियान सञ्चालन गर्ने तयारीमा गरेको छ।

५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको झण्डै डेढ महिनापछि पहिलो पटक नेकपा माओवादी केन्द्रले बुधबार मधेशमा ठूलो सभा गरेको छ । तिहार, छठ र नेपाल सम्वत् ११४६ का अवसरमा महोत्तरीको रामगोपालपुरमा शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम राख्यो । पार्टीका शीर्ष नेताहरू पुगे । कार्यक्रमलाई महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता मातृका यादवले सम्बोधन गरे ।

माओवादी केन्द्र महोत्तरी जिल्लाका इन्चार्ज प्रकाश जेनजी आन्दोलनपछि राजनीतिक दलहरूले सभा–सम्मेलन गर्न नसकिरहेका बेला माओवादीले जनतामा सन्देश दिन ठूलो सभा गरेको हो ।

उनी भन्छन्, ‘जेनजी आन्दोलनप्रति मधेशमा भएका ठूला राजनीतिक दलहरूमध्ये पहिलो पटक हामीले ठूलो राजनीतिक गतिविधि गरेका छौं । कार्यक्रम शुभकामना आदानप्रदान र पार्टी प्रवेश नै हो । यसमार्फत स्वत: आफ्ना कुरा जनतामा जाने त भइगो ।’

इञ्चार्ज पोखरेलका अनुसार ठूला राजनीतिक दलहरू चुनावबारे अलमलमै रहेका छन् । नेपाली कांग्रेसले आफूलाई चुनावको पक्षमा उभ्याउने वा प्रतिनिधि सभा पुनर्स्थापना भनेर जाने भन्ने विषयमा औपचारिक निर्णय लिएको छैन । नेकपा एमालेले आगामी फागुन २१ मा तय भएको निर्वाचन हुन नसक्ने निष्कर्ष निकालेर संसद् पुनर्स्थापनालाई जोड दिने निर्णय गरेको छ ।

माओवादी केन्द्रले भने एक महिना अगाडि नै चुनावको पक्षमा उभिने निर्णय लिइसकेको छ । गत असोज ९ गते सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले चुनावका पक्षमा उभिने निर्णय गरेको थियो । त्यसबेला माओवादीले चुनावको तयारी र पार्टीको महाधिवेशनको तयारी एकसाथ अगाडि बढाउने निर्णय गरेको थियो । सोहीनिर्णय अनुसार बुधबार महोत्तरीको रामगोपालपुरमा सभा राखिएको नेता पोखरेलले जानकारी दिए ।

माओवादीले अब पार्टी चुनावको प्रचारमा उत्रिएको भन्ने पनि यो सभाबाट देखाउन खोजेको छ । ‘अरु दलको विषय उनीहरू नै जान्दछन् । माओवादी केन्द्रले चुनावको पक्षमा उभिने र चुनावको तयारी अगाडि बढाउने निर्णय एक महिना अगाडि नै गरिसकेको छ’ पोखरेल भन्छन्, ‘पार्टीको नीति र निर्णयअनुसार गतिविधि हुनु स्वाभाविक हो । चुनावको मिति तोकिएर नजिकिँदो छ । यो बेला जे–जस्ता भेला राखिए तापनि अन्तत चुनावकै तयारी अन्तर्गत हुन्छन् ।’

चुनावमार्फत जनताको मन जितेर शासन–प्रशासनको शक्ति आर्जन हुने भएकाले यो स्वाभाविक रहेको पनि उनको जवाफ छ ।

जेनजी युवालाई फकाउने प्रचण्डको प्रयास

भ्रष्टाचार नियन्त्रण, सुशासनको माग गर्दै गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ । कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी फागुन २१ मा चुनाव गराउने कार्यादेश छ ।

प्रचण्डले भने, ‘अब जेनजी युवाहरु र माओवादी मिलेर चुनाव लड्नुपर्छ ।’

तय भएको चुनाव हुने वा नहुने भनेर कांग्रेस र एमालेका नेताहरू निरन्तर संशय व्यक्त गरिरहेका छन् । यो बेला माओवादीले भने चुनावमा होमिएको सन्देश आफ्नै अभिव्यक्तिबाट समेत प्रवाह गरेका छन् ।

महोत्तरीको रामगोपालपुरको सभालाई सम्बोधन गर्दै माओवादी महाधिवेशन आयोजक समिति संयोजक प्रचण्डले प्रष्टसँग भने, ‘हाम्रो मुल ध्यान चुनावमा छ यसमा सबै प्रष्ट छौं ।’ अर्थात्, मधेशबाट चुनावमा होमिएको सन्देश प्रवाह गर्दै प्रचण्डले तयारीमा जुट्न नेता/कार्यकर्तालाई निर्देश गरे ।

चुनाव अगाडि वामपन्थी एकता र ध्रुवीकरणका लागि प्रयास भइराखेको पनि प्रचण्डले बताएका छन् । ‘वामपन्थीबहरूबीच एकता र गोलबन्द पनि हो,’ प्रचण्डले भनेका छन्, ‘चुनावमार्फत मुलुकलाई अगाडि बढाउन भूमिका खेल्ने हो ।’

बुधबारको भेलामा सात सय बढी अन्य दलका नेता/कार्यकर्ता माओवादीमा प्रवेश गरेको दाबी गरेको छ । यसबारे प्रचण्डले भनेका छन्, ‘पुराना कांग्रेस र एमालेमा असन्तुष्ट रहेकाहरू पार्टीमा आउन खोजे र स्वागत गरिएको हो ।’

पार्टी प्रवेश गर्नेहरूमा जेनजी अधिक रहेको प्रचण्डले बताएका छन् । उनले भनेका छन्, ‘आज निकै ठूलो संख्यामा पार्टी प्रवेश भयो । खादा लगाइदिँदा–लगाइदिँदा थाक्नेगरी नै पार्टी प्रवेश भयो । ती प्रवेश गर्नेमध्ये मोटामोटी मैले हिसाब गर्दै गाथेँ ६० पर्सेन्ट जेनजी प्रवेश गरेका रहेछन् ।’

वामपन्थी दलसँग सके एकता, नसके सहकार्य गर्ने, कांग्रेस र एमालेमा असन्तुष्ट भए पार्टीमा ल्याएर अवसर दिने र जेनजीसँग मिलेर चुनाव लड्ने पार्टीको नीति रहेको पनि प्रचण्डले प्रष्टसँग बताएका छन् ।

‘मैले कहिलेकाँही भन्छु हिजो हामीले जनयुद्ध र जनआन्दोलन गर्दा जेनजी नै थियौं । आज मधेशमा सयौंको संख्यामा पहिलोचोटी जेनजी आन्दोलनपछिको यति भव्य सार्वजनिक कार्यक्रममा सयौं–सयौं, हजारौं वरिपरि, ६० प्रतिशत जेनजी युवाहरु पार्टीमा प्रवेश गरे’ प्रचण्डले भने, ‘यसले देखाउँछ अब जेनजी युवाहरु र माओवादी मिलेर चुनाव लड्नुपर्छ ।’

उनले आफूहरुका मुद्दा र एजेण्डामा समानता रहेको भन्दै सँगै बसेर छलफल गर्न आह्वान समेत गरे । ‘सँगै बसौं, छलफल गरौं । हाम्रो मुद्दाहरुमा समानता छ,’ प्रचण्डले भने, ‘ती समान विचार र राजनीतिक मुद्दा भएका युवाहरु र पार्टीहरु, लामो अनुभव भएका पार्टीहरुको विवेक, युवाहरुको उत्साह र त्यागको भावनालाई मिलाऔं र यो देशलाई संविधान संशोधनको नयाँ युगतिर, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको युगतिर, भ्रष्टाचार अन्त्यको युगतिर लैजाऔं ।’

माओवादी र जेनजीको मिलेर चुनाव नलडे जेनजीका माग समेत पूरा नहुने उनले बताए । उनी थप्छन्, ‘जो प्रत्यक्ष निर्वाचित कार्यकारीको विरुद्ध छ, जो पूर्ण समानुपातिक निर्वाचन प्रणालीका विरुद्ध छ, जो समावेशी लोकतन्त्रको विरुद्ध छ । उनीहरुले जेनजी युवाहरुको भावनालाई बुझ्न सम्भव छैन ।’

आफूले जेनजीले उठाएका मागहरू जायज रहेको बताउँदै आएको र सहकार्यका लागि जेनजी युवाहरुको लगातार अपिल गर्दै आएको स्मरण गर्दै उनले भने, ‘जेनजी युवाहरुले मित्र को हो ? आफ्नो बैरी दुश्मन को हो चिन्न सक्नुपर्‍यो ।’

आफ्ना अभिभावक र मित्रलाई दुश्मनजस्तो, दुश्मनलाई मित्र जस्तो ठान्ने हो भने त्योभन्दा ठूलो दुर्भाग्य अरु केही हुन नसक्ने प्रचण्डको भनाइ छ । अर्थात, प्रचण्डले फकाउने र तर्साउने दुवै शैलीमा जेनजी युवाहरूसँग सहकार्यको प्रस्ताव गरेका छन् ।

 संसद् पुनर्स्थापना होइन, चुनाव नै उत्तम विकल्प

माओवादी केन्द्रका नेता अग्नि सापकोटाका अनुसार पार्टीले देशव्यापी अभियान सञ्चालनको तयारी गर्दैछ । ‘अहिले जिल्ला र प्रदेश स्तरमा कार्यक्रमहरू भइराखेका छन् । आज मधेशमा भयो । यस्तै कार्यक्रमले निरन्तरता पाउँछ’ सापकोटा भन्छन्, ‘केन्द्रबाटै पनि कार्यक्रमको तयारी हुँदैछ ।’

रामगोपालपुरको सभामा सहभागीहरु

चुनाव केन्द्रित देशव्यापी कार्यक्रमको खाका बनाउन पार्टीको सचिवालय बैठक बस्ने तयारी छ । चाडपर्व सकिएलगत्तै सचिवालय बैठक बसेर कार्यक्रमको खाका तयार पार्ने सापकोटाले बताए ।

पार्टी चुनावको पक्षमा प्रष्ट भएकाले चुनाव केन्द्रित गतिविधि हुनु स्वाभाविक रहेको बताउँदै सापकोटा भन्छन्, ‘छठ लगत्तै बस्छौं र एउटा निर्णयमा पुग्छौं ।’

माओवादी नेता देव गुरुङ जेनजी आन्दोलनपछि जे जस्ता सम्झौता भएका छन् तिनलाई संविधानभित्र ल्याउने प्रयास गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘राजनीतिक रुपमा जे जस्ता निर्णय भएका छन्, अन्तरिम सरकार गठन भएको छ, प्रतिनिधि सभा विघटन भएको छ । यी राजनीतिक निर्णय र सहमतिलाई संविधानको ट्रयाकमा ल्याउने भनेको चुनावबाट हो । यही मान्यता हामीले अंगालेका छौं ।’

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगले राखेका सर्वदलीय छलफलमा समेत पार्टीले यही विषय राख्दै आएको उनले बताए । ‘राजनीतिक तहमा के कस्ता कुरा भइराखेका छन् र पार्टीको नीति के हो भनेर जनस्तरमा कार्यक्रम गरिनुपर्दछ जो हामीले सुरुवात गरिसकेका छौं । आज मधेशको भेला यसकै उदाहरण हो’ नेता गुरुङले अनलाइनखबरसँग भने ।

चुनावमार्फत संविधानलाई ट्रयाकमा ल्याएर संविधान संशोधन गरेर जेनजीले उठाएका भ्रष्टाचार न्यूनीकरण, सुशासन स्थापना र शासकीय स्वरुपमा बदलाव ल्याउने प्रयासमा रहेको उनको जवाफ छ । ‘संसद् पुनर्स्थापनातिर लाग्दा संक्रमण थप लम्बिन सक्छ । यस्तोमा चुनाव उत्तम विकल्प भएको हाम्रो पार्टीको निष्कर्ष छ,’ गुरुङ भन्छन्, ‘पार्टीको निष्कर्ष जनस्तरमा पुर्‍याउने र चुनावको तयारीमा लाग्ने कुरा स्वाभाविक छ ।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?