+
+
Shares

देउसी भैलो : शहरमा हराउँदै मौलिकता, गाउँमा जोगिँदै परम्परा

शहरमा देउसी भैलोको मौलिक रूप बदलिए पनि गुल्मीका ग्रामीण बस्तीमा अझै पनि परम्परागत लय, भेषभूषा र सन्देशसहितको देउसी भैलो जीवन्त छ ।

अनिल खत्री अनिल खत्री
२०८२ कात्तिक ६ गते ७:२६

६ कात्तिक, गुल्मी । देशभर तिहारको रौनक छ । यति बेला सहर बजारमा डीजे संगीत, चम्किला बत्ती र आधुनिक नृत्यसहितको देउसी भैलो हावी छ ।

तर गुल्मीका गाउँ–बस्तीमा अझै पनि मौलिकता झल्किने परम्परागत देउसी भैलो जीवन्त देखिन्छ । शहरमा यो संस्कार झन् व्यावसायिक बन्दै गएको छ– पप गीत, र्याप, फिल्मी प्रस्तुति र प्रायोजित टोलीहरूले मौलिकता धमिल्याएका छन्।

ग्रामीण क्षेत्रमा भने देउसी ‘लोक–संस्कृति’ को रूपमा जगेर्ना भइरहेको छ । परम्परागत भेषभूषा, नाटकीय प्रस्तुति र मेलमिलाप झल्किने गीतहरूले समुदायबीच एकता र आपसी सद्भावको सन्देश दिन्छन् ।

देउसी भैलो त्यहाँ बालबालिका वा युवाको मात्रै कुरा होइन—आमा समूह, शिक्षक, कृषकदेखि वृद्धसम्म सबै सहभागी हुन्छन् । यसले पुस्ता–पुस्ताबीच संस्कार सरेको देखाउँछ ।

रेसुङ्गा–४ का ८१ वर्षीय तुल्सी विक भन्छन्, ‘पहिले देउसीमा सन्देश हुन्थ्यो, अहिले पैसा मात्रै मागिन्छ । तर हाम्रो गाउँमा अझै पुरानै लयमा नाचिन्छ, त्यो नै साँचो तिहार हो ।’

इस्मा–२ का कपिलमणि पन्थी भन्छन्, ‘शहरमा देउसी भैलो पैसा संकलनको माध्यम बनेको छ । तर गाउँमा अझै पनि पुरानो रूप जोगिएको छ, त्यो हाम्रो सांस्कृतिक गर्व हो ।’

‘बलिराजाबाट सुरु भएको’ परम्परा

जनविश्वास अनुसार देउसी भैलोको सुरुवात बलिराजाको समयदेखि भएको हो । देउसी गीतमा बलिलाई सम्झने, दान र धर्मको चर्चा गर्ने, घरधनीको प्रशंसा गर्ने चलन रहेको छ ।

तर अहिले धेरै ठाउँमा आधुनिक गीत, चलचित्रका संवाद र लोकप्रिय संगीत मिसाएर मौलिकता हराउँदै गएको चिन्ता संस्कृतिप्रेमीहरूले व्यक्त गरेका छन् ।

गुल्मीका गाउँघरमा भने देउसी टोली अझै परम्परागत लय र भेषभूषामा प्रस्तुत हुन्छन् । टोली नाइकेले लय हाल्ने, अरू सदस्यहरूले भैलो भन्दै नाच्ने, गीतमा ‘छाना, धान, दान’ र मिठा परिकारको प्रसङ्ग ल्याउने चलन अझै पनि चल्दो छ ।

अहिलेका युवाले पनि मौलिक देउसी भैलोमा रुचि देखाउन थालेका छन् । इस्मा–२ को पालुखा माविले तिहारको अवसरमा विद्यार्थीहरूलाई मौलिक देउसी भैलोको कार्यक्रम आयोजना गरेको थियो । विद्यालयका अनुसार, यस्तो पहलले युवामा संस्कृतिप्रतिको मोह बढाएको छ ।

गुल्मीका गाउँ–बस्तीमा देखिएको सक्रियता अन्य समुदायले पनि अपनाए भने देउसी भैलो मात्र होइन, सम्पूर्ण नेपाली मौलिक चाडपर्वहरू जीवन्त रहिरहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?