+

अस्ट्रेलियाका बोसिस्टोले फेरि कर्णाली याक्सबाट एनपीएल खेल्ने

२०८२ कात्तिक  ७ गते १२:१४ २०८२ कात्तिक ७ गते १२:१४
अस्ट्रेलियाका बोसिस्टोले फेरि कर्णाली याक्सबाट एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अष्ट्रेलियाका अलराउण्डर विलियम बोसिस्टोले दोस्रो नेपाल प्रिमियर लिगमा पनि कर्णाली याक्सबाट खेल्ने भएका छन्।
  • कर्णाली याक्सले बोसिस्टोलाई अनुबन्ध गरेको छ र उनले पहिलो संस्करणमा ७ खेलमा १९४ रन र ९ विकेट लिएका थिए।
  • कर्णाली याक्सले दोस्रो संस्करणका लागि दुई विदेशी खेलाडी अनुबन्ध गरी तयारी तीव्र बनाएको छ र ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दैछ।

७ कात्तिक, काठमाडौं । अष्ट्रेलिया अलराउण्ड विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन पनि कर्णाली याक्सबाटै खेल्ने भएका छन् ।

पहिलो सिजनको एनपीएल कर्णालीबाट खेलेका बोसिस्टोलाई दोस्रो सिजनका लागि पनि कर्णाली याक्सले स्पोट्स प्रालीले अनुबन्ध गरेको हो ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अस्ट्रेलिया यु–१९ टिमका पूर्व खेलाडी बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी गराए ।

बोसिस्टो कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाटलाई अनुबन्ध गरिसकेको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले बोसिस्टोको पहिलो संस्करणको अनुभवले दोस्रो संस्करणमा फाइदा पुग्ने बताएका छन् । ‘पहिलो संस्करणमा सोचेको जस्तो प्रदर्शन भएपछि दुबै पक्ष दोस्रो संस्करणमा पनि निरन्तरता दिन सहमती भयो,’ निर्देशक घिमिरेले भने, ‘दोस्रो संस्करण झनै राम्रो हुने विश्वास लिएका छौं ।’

बोसिस्टो लगातार दोस्रो पटक कर्णाली याक्सबाट खेल्दैछन् । पहिलो संस्करणको उनको प्रदर्शन प्रभावशाली रहेको थियो । ३२ वर्षीय खेलाडीले ७ खेलमा दुई अर्धसतकसहित १ सय ९४ रन बनाउनुका साथै ९ विकेट लिएका थिए । उनको अलराउण्ड प्रदर्शनमा कर्णाली पहिलो सिजन प्लेअफ प्रवेश गर्दै दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।

बासिस्टो सन् २०१२ मा भएको यु–१९ विश्वकप क्रिकेटमा उपविजेता हुँदा अस्ट्रेलियन टिमको कप्तान थिए । उनी प्लेयर अफ दि टुर्नामेन्ट हुँदा ६ खेलमा २ सय ७६ रन बनाएका थिए ।

बोसिस्टोले २८ फर्स्ट क्लास क्रिकेट म्याच खेल्दै कुल ११०० भन्दा धेरै रन बनाएका छन् । त्यस्तै उनले १७ विकेट पनि लिएका छन् । यस्तै टी२० क्रिकेटमा उनले २१ खेल खेल्दै ४०० रन बनाएका छन् भने ३ विकेट समेत लिएका छन् । एनपीएलको पहिलो संस्करण खेेलपछि बंगलादेश प्रिमियर लिग खेल्न गएका उनले त्यहाँ उत्कृष्ट प्रदर्शन गरेका थिए । जहाँ उनले खुल्नाका लागि १० खेलमा २ अर्धशतक सहित २९८ रन बनाएका थिए ।

निर्देशक घिमिरेले अन्य विदेशी खेलाडी पनि चाँडै सार्वजनिक गरिने जानकारी दिए ।

दुई विदेशी खेलाडी अनुबन्ध गर्दै कर्णाली याक्सले दोस्रो संस्करणको एनपीएलका लागि आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दैछ ।

एनपीएलको दोस्रो कर्णालीका लागि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ भने कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन् ।

कर्णाली याक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय