+
+
Shares
जेनजी आन्दोलनमा तोडफोड र आगजनी :

उपत्यकाबाट १३२ जना पक्राउ, कस्ता-कस्ता व्यक्ति समातिए ?

अनुसन्धान सकेर अदालत पेश भएका मध्ये ६ जना त पुर्पक्षका लागि कारागार समेत चलान भइसकेका छन् । जसमध्ये ४ जना प्रहरी हत्यामा पक्राउ परेकाहरू छन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ कात्तिक ७ गते १९:५८

७ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी तथा लुटपाट गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाउन थालेको छ ।

आन्दोलन भएयता अहिलेसम्म उपत्यकाका तीन (काठमाडौं, ललितपुर र भक्तपुर)बाट मात्रै १३२ जना व्यक्ति पक्राउ परेका छन् । कर्तव्य ज्यानदेखि लुटपाट, हातहतियार खरखजना, आपराधिक उपद्रव र अभद्र व्यवहारसम्मको कसुरका व्यक्तिहरू पक्राउ परेर कारबाहीको प्रक्रियामा रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिलेसम्म काठमाडौंबाट ९८ जना पक्राउ परेका छन् । विभिन्न कसुरका उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

उनका अनुसार अनुसन्धान सकेर अदालत पेश भएका मध्ये ६ जना त पुर्पक्षका लागि कारागार समेत चलान भइसकेका छन् । जसमध्ये ४ जना प्रहरी हत्यामा पक्राउ परेकाहरू छन् । २ जना भने आपराधिक उपद्रव कसुरका व्यक्ति रहेको एसपी भट्टराईले बताए ।

परिसरका साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्तहरूको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंबाट पक्राउ परेकामध्ये सबैलाई परिसर काठमाडौंबाट अनुसन्धान गरी मुद्दा चलाइएको छ ।

अहिले पनि परिसरको हिरासतमा जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गर्नेहरूमध्ये २२ जना रहेको एसपी भट्टराई बताउँछन् । केहीलाई भने हाजिरी जमानीमा छाडिएको छ । हिरासत बाहिरै रहे पनि उनीहरूविरुद्ध पनि मुद्दा दर्ता हुने प्रहरीले बताएको छ । जेनजी आन्दोलनकै क्रममा कारागारबाट फरार भएकामध्ये १३६ कैदीबन्दीलाई पक्राउ गरेर बुझाइएको प्रवक्ता भट्टराईले बताए ।

त्यसैगरी जिल्ला प्रहरी परिसर ललितपुरले भने जेनजी आन्दोलनमा तोडफोड, आगजनी तथा लुटपाट गरेको आरोपमा अहिलेसम्म २४ जनालाई पक्राउ गरेको छ । जसमध्ये हतियारसहित पक्राउ परेका एक जना र लुटपाटको आरोपमा पक्राउ परेका एक भारतीय गरी दुई जना पुर्पक्षका लागि कारागार चलान भएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता चक्रराज जोशी बताउँछन् ।

हिजो मात्रै हतियारसहित ललितपुर प्रहरीले २३ वर्षीय शिवकुमार विकलाई पक्राउ गरेको थियो । खोटाङको साकेला गाउँपालिका–१ घर भएका विकलाई धापाखेलबाट प्रहरीले म्यागजिनसहितको चाइनिज पेस्तोलसहित पक्राउ गरेको थियो । उनीबाट राष्ट्रिय वाणिज्य बैंकको ट्याग भएको ४ लाख ७८ हजार रुपैयाँसहित बरामद भएको थियो ।

जेनजी आन्दोलनको नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक समेत लुटिएको थियो ।

यता भक्तपुर प्रहरीले पनि अहिलेसम्म १० जनालाई पक्राउ गरिएको बताएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज नेउपानले १० जनालाई पक्राउ गरिएको बताए । तर ती सबै जनालाई हाजिरी जमानीमा छाडिएको छ ।

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्नेहरूविरुद्ध अहिलेसम्म भक्तपुर अदालतमा भने कोही कसैविरुद्ध पनि मुद्दा दर्ता भएको छैन ।

जेनजी आन्दोलनको घटनामा जोडिएपछि पक्राउ परेका व्यक्तिहरूको विगत विवादास्पददेखि हत्यासम्मका घटनाहरूमा जोडिएका व्यक्तिहरू पक्राउ परेका छन् ।

प्रहरी हत्या : चार जना कारागार चलान

जेनजी आन्दोलनको क्रममा तीन प्रहरी मारिएका थिए । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार अमृत गुरुङको हत्या भएको थियो ।

हत्या आरोपमा पक्राउ परेका चार जनाको अनुसन्धान सकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । सो क्रममा चारै जना पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीका टिकाराम विक पक्राउ परेका थिए ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकोमा दुबै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

Naya Press

त्यसैगरी प्रहरी जवान उत्तम थापाका हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासे घर भएका २१ वर्षीय सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ पक्राउ परेका थिए । उनीहरू पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेकाहरूको मुद्दा भने अदालत पुगिसकेको छैन ।

प्रहरी हत्या आरोपमा पक्राउ परेकामध्ये कोही यद्धकालमा माओवादी भन्दै प्रहरीबाट आँखा फुटाइएका व्यक्तिदेखि नयाँ बसपार्क काउन्टरमा काम गर्नेसम्मका मान्छेहरू रहेका छन् ।

शंकास्पद टीओबी समूह

आन्दोलनको क्रममा शंकास्पद भूमिकामा टीओबी (तिब्बतियन ओरिजिनल ब्लड) देखियो । बुलेट मोटरसाइकल पड्काउँदै आन्दोदनमा शंकास्पद र उच्छृंखल गतिविधि गरेको भेटिएपनि यो समूहका एक व्यक्ति अहिले पनि प्रहरी हिरासतमा छन् ।

टीओबी समूहका तेन्जिन दावा तामाङ भनिने व्यक्तिमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । आन्दोलनमा उनको भूमिका मात्रै नभएर उनको नागरिकता, जन्मदर्ता पनि शंकास्पद देखिएपछि उनी अनुसन्धानको राडरमा छन् ।

काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए । उनले उपलब्ध गराएको आफ्ना विवरण अनुसार, जन्मदर्ता विसं २०६३ चैत १० गते र नागरिकता उनले २०७९ साल असार महिनामा जारी गरेको देखिन्छ ।

ती विवरणहरू महानगरपालिकाको ढड्डामा नभएको पाइएको छ । काठमाडौं महानगरपालिका–६ का वडाध्यक्ष भुवन लामाका अनुसार, माथि उल्लेखित विवरणहरूको ढड्डा खोज्दा केही पनि पाइएको छैन ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घुसपैठ भएको र टीओबी लेखिएको ज्याकेट लगाएका व्यक्ति पेस्तोल बोकेर घुमेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

तेन्जिनबाट प्रहरी नक्कली पेस्तोल र एक थान सञ्चार सेट बरामद गरेको छ । उनीमाथि अनुसन्धान जारी छ ।

एसएलआर ताक्ने ८ मुद्दाका अभियुक्त

देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारको मूल गेटमा सेल्फ लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिने व्यक्ति आठ मुद्दाका अभियुक्त रहेको खुल्यो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित ब्रान्चले सम्राट भनिने राजु परियारलाई पक्राउ गरेर खुल्दा यो रहस्य बाहिरियो ।

परियारले २४ भदौमा भएको जेनजी आन्दोलनमा राइफल लिँदै उच्छृखंल गतिविधि गरेको भिडिओ, तस्वीर भाइरल बनेको थियो ।

टाउकामा क्याप र मुखमा कालो मास्क लगाएका परियारले माथिको कपडा भने फुकालेका थिए । उनको छातीमा ट्याटु खोपेको पनि भिडियोमा देखिन्थ्यो ।

ट्राउजर र चप्पल लगाएका उनी सिंहदरबार तोडफोड र आगजनीमा अग्रमोर्चामा थिए । उनै परियारविरुद्ध यसअघि ८ मुद्दा चलेको प्रमाण भेटिए । उनीविरुद्ध ज्यान मार्ने उद्योगसम्मका मुद्दा चलेका थिए ।

गंगामाया देउलाले उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी थिइन् । दुईवटा ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेका परियारविरुद्ध ठगीदेखि बैंकिङ कसुरको मुद्दा चलेको रेकर्ड पनि भेटियो ।

हितेन्द्रदेवको घरमा चोरी गर्ने भारतीय

विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा डाँका चोरीमा भारतीय नागरिक रहेको समेत खुल्यो ।

शाक्यको ललितपुर महानगरपालिका–११ ढटल मार्गस्थित घरमा डाँका चोरीको आरोपमा समातिए १८ वर्षीय भारतीय नागरिक सरोज आलम समातिए ।

जेनजीको मौकामा चोरी गरेका भारतको बेतिया जिल्लाका आलमलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दियो । अनि उनलाई नख्खु कारागार पठाइयो ।

यही घटनामा पक्राउ परेका अन्य तीन जना काभ्रेको रोशी गाउँपालिक–१ खहरेका २५ वर्षीय फुर्साङ लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का २२ वर्षीय सहजाद मिया मंसुरी र रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का २८ वर्षीय मनिष सुनारलाई धरौटीमा छाड्न आदेश भयो ।

लामालाई ६० हजार र बाँकी दुई जनालाई जनही ३०–३० हजार धरौटीमा छाड्न आदेश भएपछि उनीहरू छुटे ।

शाक्यको घरको ग्राउन्ड फ्लोरमा सञ्चालन रहेको रेष्टलस नामको एनजीओबाट केही डलर, हितेन्द्रदेवले पाएका दीर्घ सेवा पदक, अवकाश पदक, हितेत्द्र देवका बाबुले प्राप्त गरेका शुभराज्य रोहण पदक, मोबाइल, सुनचाँदीका सिक्का, गहना, अन्य विभिन्न सरसामानहरू गरी १६ लाख रुपैयाँभन्दा बढीको सरसामान चोरी भएको उल्लेख छ ।

कांग्रेस नेताको घरमा चोरी गर्नेविरुद्ध यसअघि पनि मुद्दा

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट पनि ६४ लाख बराबरको धनमाल चोरी भयो । चोरी आरोपमा भने फर्निचरमा मजदुरी र मिस्त्री काम गर्ने व्यक्ति समातिए ।

उदयपुरको कटारी नगरपालिका–७ रिस्कु घर भई ललितपुर धापाखेल बस्दै आएका २९ वर्षीय सुजन सेवा र महोत्तरीको बर्दिबास नगरपालिका–६ घर भइ धापाखेल नै बस्ने ३० वर्षी सञ्जय परियारविरुद्ध मुद्दा चल्यो ।

उनीहरूविरुद्ध आपराधिक उपद्रव र डाँका चोरीको कसुरमा मुद्दा चलाइयो । उनीहरूलाई ललितपुर जिल्ला अदालतले जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । तर धरौटी नुबझाएपछि उनीहरू कारागार चलान भए ।

उनीहरूले नेता तथा पूर्वमन्त्री कार्कीको भैंसेपाटीस्थित घरबाट २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा लुटपाट गरेको आरोप छ ।

नेता कार्कीले आफ्नो घरबाट ५ लाख नगदसहित ६४ लाख बराबरका गहगहना लुटेको दाबी गरेका छन् । त्यसैगरी फर्निचर, गाडीहरू गरी थप १० लाखको क्षति भएको दाबी छ ।

मुद्दा चलाइएकामध्ये सञ्जय परियारविरुद्ध यसअघि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको पाइयो ।

बैंक लुट्नेमा नाबालकसम्म, लुटेको पैसाले बुलेट बाइक

जेनजी आन्दोलनमा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेर बुलेट मोटरसाइकल खरिद गरेको खुलेकोसम्म खुल्यो ।

दोलखाका २७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्दा लुटेको रकमले बुलेट मोटरसाइकल खरिद गरेको भेटियो । जुन कुरा श्रेष्ठले प्रहरी समक्षको बयानमा स्वीकारसमेत गरेका छन् ।

बैंकबाट आफूले २ लाख ५० हजार मात्रै लगेको दाबी गरेका छन् । उक्त रकममा १ लाख ७२ हजार थप गरी ४ लाख २२ हजारमा रातो रंगको बुलेट मोटरसाइकल खरिद गरेको उनले स्वीकारेका छन् ।

श्रेष्ठले बैंकबाट उक्त रकमका साथै ३ थान सुनका बाला, १ थान बेरुवा औठी, गणेशको लकेट भएको १ थान सिक्रि लगेको बताएका छन् ।

श्रेष्ठका साथै यो बैंक लुटपाटमा नाबालक समेत संलग्न रहेको खुल्यो । एक नाबालकलाई पनि प्रतिवादी बनइयो ।

यो शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबर लुटपाट भएको थियो । बैंकबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटियो ।

आन्दोलनपछि धम्क्याउने शाही ठगी र चेक बाउन्सका अभियुक्त

जेनजी आन्दोलनपछि अनुगमन र ज्ञापनपत्रको नाममा सरकारी कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने शाही पनि पक्राउ परे । अनुसन्धान गर्दा खुल्यो शाही वैदेशिक ठगी र चेक बाउन्स मुद्दाका अभियुक्त ।

उनीविरुद्ध प्रहरीका विभिन्न चार कार्यालयमा चेक बाउन्सको उजुरी रहेको खुल्यो । यसका साथै वैदेशिक ठगीमा त यसअघि पक्राउ परेको रेकर्ड पनि भेटियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले शाहीलाई वैदेशिक रोजगारी सम्बन्धीको कसुरमा २८ वैशाख २०८२ मा पक्राउ गरेको भेटियो ।

त्यतिबेला विभिन्न युवायुवतीलाई विदेश पठाउँछु भनेर ८ लाख ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए । जापान पठाउने भन्दै ठगी गरेको आरोप शाहीमाथि छ । सुवास तामाङ नाम गरेका व्यक्तिले वैदेशिक ठगीको कसुरमा उनीविरुद्ध उजुरी दिएका थिए ।

उनै शाही जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने भएपछि शीतल निवास पुगेका थिए । जेनजी अगुवा सुदन गुरुङको छेउमा बसेका उनीहरूले एकअर्काको हात समाउँदै उठाएका थिए ।

प्रहरी कार्यालय आगजनीमा २ भारतीय

प्रहरी वृत्त जनसेवा आगजनी तथा तोडफोड गर्ने व्यक्तिमा भारतीय नागरिक समेत रहेको खुल्यो । सो क्रममा भारतीय नागरिक २५ वर्षीय रोहित सारवगी र नेपाली नागरिक सुजन साह भनिने सुजल साह सोनार पक्राउ परे ।

उनीहरूले पेट्रोल बम प्रहार गरी आगजनी गरेको दाबी प्रहरीको छ । सीसीटिभी फुटेजमा अराजक गतिविधि देखिएपछि भारतीय नागरिक पक्राउ परे । उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भइसकेको छ ।

त्यसैगरी अरु प्रहरी कार्यालय तोडफोड र आगजनीको आरोपमा अर्का भारतीय नागरिक २२ वर्षीय निरज पोदार पनि पक्राउ परे ।

प्रहरी कार्यालय आगजनीमा नेपाली नागरिक पनि पक्राउ परेका छन् ।

पूर्वराष्ट्रिपतिको घर आगजनी गर्ने चक्रे मिलनसँग निकट

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर आगजनी गर्ने व्यक्ति नेकपा एमालेकै कार्यकर्ता तथा आपराधिक पृष्ठभूमिका व्यक्ति चक्रे मिलनसँग निकट व्यक्ति रहेको खुल्यो ।

आगजनीको आरोपमा पक्राउ परेका सोनाम थेबेको रेकर्ड पनि आपराधिक नै भेटियो । थेबे नेकपा एमालेकै भ्रातृ संगठन युवा संघ नेपालका कार्यकर्ता समेत रहेको प्रचार भयो । त्यसपछि युवा संघका प्रवक्ता निरोज पौडेलले विज्ञप्ति जारी गरी उनी युवा संघमा नरहेको दाबी गरे ।

थेबेसहित व्यक्तिले जेनजी आन्दोलन क्रममा २४ भदौमा बूढानीलकण्ठ भंगालस्थित भण्डारीको घर आगजनी गरेको आरोप छ ।

जेनजी आन्दोलन क्रममा उनी रविकिरण हमालसँगै हेल्मेट लगाएर उभिएको भिडियो समेत सार्वजनिक भएको छ । चक्रेसँग निकट रहेका उनको विगत पनि आपराधिक देखिएको प्रहरीको दाबी छ ।

प्रहरी बर्दी खोल्न लगाउँदै खोलैखोला लखेट्ने चेक बाउन्सका अभियुक्त

प्रहरीलाई बर्दी खोल्न लगाउँदै खोलैखोला लखेट्ने व्यक्ति पनि अहिले हिरासतमा छन् । ती व्यक्ति हुन् दोलखाको शैलुङ गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ ।

घिसिङलाई काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ । घिसिङले प्रहरीको हतियार लुट्नेदेखि बर्दी खोल्न लगाएर आत्मसमर्पण गर्न लगाउने र मार्नेसम्मको प्रयास गरेको आरोप छ ।

घिसिङ बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त रहेको पनि खुलेको छ । उनीमाथि ४ असोज २०७९ र  १० फागुन २०७९ मा बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त गौशलामा मुद्दा दर्ता भएको थियो ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?