News Summary
Generated by OK AI. Editorially reviewed.- देशले रुस र युक्रेनको द्वन्द्व, इजराइल र प्यालेस्टाइनको संघर्षको समाचार एफएम रेडियोमार्फत सुन्दै छ।
साँझहरू जब रित्तिन थाल्छन्
अगेना अधिल्तिर बसेर देश
रेडियो नेपालको आधुनिक एफेम व्याण्डबाट
रुस र युक्रेनको आगोको गीत सुन्छ देश
इजराइल र प्यालेस्टाइनको कालो गीत सुन्छ देश
गाजा पट्टीमा पोखिएको रगतको संगीतमा
मानवता मरिरहेको आलो धुन सुन्छ देश ।।
साँझहरू जब रित्तिन थाल्छन्
तोङ्बामा मार्क्स, लेनिन र माओ भिजाएर तान्दै
सरर-सरर कम्युनिस्ट लयमा झुम्छ देश
कान्छीको भट्टी पसलबाट आएका
आधुनिक समाजवादको शब्दहरूमा
तारे होटलमा बजेको गजल साँझको पूँजीवादी संगीत भरेर
गाउँछ देश छिमेकबाट आएको अखण्ड रामधुन ।।
जब रातहरू मरेर घाम जन्मन्छ
बाँझो खेतलाई बैंकको कर्जाले रेटेर
खाडीको तापले नेपाली निधारबाट बगाएको
नुनिलो भाकामा
कर्जा नवीकरण तमसुकमा
बाको किरिङ मिरिङ हस्ताक्षरको गीतमा
रेमिट्यान्सको कोरस भरेर गाँउछ देश ।।
देश अचेल माटोको गीत सुन्दैन
देश अचेल क्रान्तिको गीत सुन्दैन
दश गजामा सीमास्तम्भको गीत सुन्दैन देश
अवस्था र व्यवस्थाको गीत पनि सुन्दैन
देश बरु नेताको गीत सुन्छ
कार्यकर्ताको गीत सुन्छ
तर जनताको गीत सुन्दैन देश ।।
लौ न जनता ! सुनाइदेऊ
देशलाई एउटा देशको गीत ।।
प्रतिक्रिया 4