+
+
Shares

जनार्दनले पठाएका थिए पार्टीमा अन्तिम सन्देश, प्रस्तुत हुनै पाएन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १८:१३

१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट बिदा लिएका नेता जनार्दन शर्माले पार्टीलाई पठाएको अन्तिम सन्देश प्रस्तुत हुनबाट रोकिएको छ ।

मंगलबार पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो । बैठकका दुई एजेन्डा थिए– शोक प्रस्ताव र एकताबारे जानकारी । दुवै एजेन्डा पारित भए ।

संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले बैठकलाई सम्बोधन गरे ।

यसैबीच असन्तुष्ट नेता शर्माले आफूपक्षीय तीन नेतालाई सन्देश पढेर सुनाउन पठाएका थिए । लिखित रुपमा शर्मा पक्षको भनाइ लिएर राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरू ओम शर्मा, मनऋषि धिताल र पुष्प न्यौपाने बैठकमा पुगेका थिए ।

बैठकमा न्यौपानेले शर्माले पठाएको सन्देश पढेर सुनाउन खोजेका पनि थिए । तर, पाएनन् ।

आफ्नो समूहको धारणा राख्न खोज्दा समय सकियो भन्दै बोल्न रोक लगाइएको न्यौपानेको भनाइ छ ।

‘हामीले आफ्नो धारणा राख्न भन्दै समय मागेका थियौं, तर समय सकिएको भन्दै हाम्रो धारणा राख्न दिइएन,’ उनले भने ।

तर, पार्टीका कार्यालय सचिव गणेशमान पुनले भने आजको कसैले पनि लिखित र मौखिक रुपमा धारणा लिनका लागि समय नमागेको जिकिर गरे ।

पार्टीका दुईवटै एजेन्डा पारित गर्नका लागि करिब पाँच मिनेटसम्म हलमा ताली बजाइएको थियो । त्यसपछि कसैलाई धारणा छ भनेर पनि सोधिएको पुनको दाबी छ ।

‘कसैको केही धारणा छ भनेर सोधिएको थियो । तर कसैले पनि त्यसबारे जानकारी गराएको थिएन,’ पुन भन्छन्, ‘लिखित रुपमा पनि मौखिक रुपमा पनि कसैले म बोल्छु भनेर समय मागेको थिएन । त्यहाँ कोही पनि उठेन ।’

यस्तो छ पार्टीमा शर्माले पठाएको सन्देश :

नेकपा माओवादीको पार्टी एकताप्रति हाम्रो धारणा

१. विधि–पद्धतिबाट विचलित निर्णय अस्वीकार्य छ

नेकपा माओवादी केन्द्र हाल महाधिवेशन आयोजक समितिका रूपमा रहेको थियो। जसको प्रमुख दायित्व विशेष महाधिवेशन सम्पन्न गर्नु हो । तर, सो समितिले आफ्नो म्यान्डेटभन्दा बाहिर गएर “ध्रुवीकरण” गर्ने निर्णय गरेको छ, जुन पूर्ण रूपमा विधि र पद्धतिको दायराबाहिरको कदम हो। यो विगतमा पटक पटक दोहरिएर असफल भइसकेको छ । यस्तो निर्णय हामीलाई स्वीकार्य छैन। ध्रुवीकरण कुनै पनि हालतमा पुनर्संरचनाको जगमा आधारित हुनुपर्छ, नकि संगठनात्मक अराजकतामा ।

२. हामी माओवादी पार्टी त्यागेका होइनौं

हामीले माओवादी पार्टी छोडेका होइनौं — बरु पार्टीको मूल मर्म, आदर्श, महान जनयुद्ध र जनआन्दोलनका मूल्यहरू त्याग्नेहरू स्वयं वर्तमान नेतृत्वहरु हुन् । उनीहरू जनताको सपना र बलिदानबाट विमुख भई आत्मसमर्पणको बाटोमा हिँडेका छन् । तर हामी परिवर्तन र समृद्धिको आदर्शप्रति निष्ठावान रहँदै, जनताको पक्षमा निरन्तर संघर्षरत छौं र रहिरहनेछौं ।

३. कथित ‘ध्रुवीकरण’ एउटा षड्यन्त्र हो

कथित ध्रुवीकरण कुनै विचार वा सिद्धान्तको स्पष्टीकरण होइन। बरु यो नेताहरूका गल्ती र असफलता ढाकछोप गर्ने, विशेष महाधिवेशन रोक्ने, पार्टी पुनर्संरचना तथा नेतृत्व हस्तान्तरणको अभियान अवरुद्ध गर्ने सुनियोजित षड्यन्त्र हो । यस्तो प्रवृत्ति जनताको आँखामा धुलो हाल्ने र माओवादी आन्दोलनको पुनर्जागरणप्रति भयभीत हुने सोचको प्रतिबिम्ब हो। हामी यसलाई अस्वीकार गर्छौं ।

४. परिवर्तनको सम्पूर्ण विरासत हाम्रो हो

जनयुद्ध, जनआन्दोलन र बलिदानको सम्पूर्ण विरासत हामीले बोकेका छौं। हामीले आदर्श त्यागेका छैनौं, जनताको विश्वासमा धोका दिएका छैनौं। त्यसैले परिवर्तनको असली हकदार हामी नै हौं ।

अब हामी पार्टी पुनर्संरचना र पुनर्गठन अभियानलाई सशक्त रूपमा अघि बढाउँदै, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने छौं। नेपालका राजनीतिक पार्टी र आन्दोलनहरूको पुनर्संरचना, परिमार्जन, परिष्कार र संश्लेषण गर्दै फेरि जनताको आशा–विश्वासलाई पुनर्जीवित गर्नेछौं ।

हामी माओवादी आन्दोलनलाई नयाँ उचाईमा विकास गर्दै राष्ट्रिय शक्तिका रुपमा उठाएर फेरि एकपटक जनताको वास्तविक आन्दोलनका रूपमा पुन:स्थापित गर्ने दृढ प्रण गर्दछौं ।

हाम्रो प्रतिबद्धता विचारमा हो, संघर्षमा हो, र सदा जनताको पक्षमा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?