News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा पछिल्लो दुई सिजनदेखि शहीद स्मारक ए डिभिजन लिग आयोजना हुन सकेको छैन र यसले खेलाडीहरूको भविष्यमा नकारात्मक प्रभाव पारेको छ।
- एन्फा र क्लबहरूबीच राष्ट्रिय लिग आयोजना गर्ने सहमति भए पनि ए डिभिजन लिग यो वर्ष नहुने निर्णय भएको छ र राष्ट्रिय लिग पुस ९ देखि सुरु हुने छ।
- खेलाडी संघले ए डिभिजन लिग अर्को वर्ष सार्नु अन्याय भएको भन्दै एन्फाको कदमविरुद्ध सामाजिक सञ्जाल र सडक संघर्षमा उत्रन बाध्य भएको जनाएको छ।
१९ कात्तिक, काठमाडौं । नेपालमा विभिन्न खेलका खेल संघहरू छन् । हरेक संघले वार्षिक रुपमा राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्ने, लेखा परिक्षण गर्नुपर्ने, खेलाडीलाई प्रशिक्षण गराउने, अन्तर्राष्ट्रिय सहभागिता जनाउनुपर्ने सामान्य नियम हुन् ।
यही कामकै लागि खेल संघहरू स्थापना हुने र खेल सञ्चालन हुने हो । फुटबल, क्रिकेट, भलिबल जस्ता चर्चित खेल संघहरू हुन् । उनीहरले गर्ने प्रतियोगिताहरू, सहभागिता जनाउने अन्तर्राष्ट्रिय खेलहरू पनि चर्चामा हुन्छन् । ‘मास गेम’ भएकोले पनि यी खेलहरूको चर्चा बढी हुन्छ ।
तर नेपालकै सबैभन्दा धेरै बजेट भएको र सबैभन्दा धेरै आर्थिक सहयोग विदेशबाट पाउने, धेरै कर्मचारी भएको, तलब खाने धेरै कर्मचारी भएको, सम्भवत पूर्वाधार र खेलाडी पनि धेरै भएको खेल संघ फुटबलकै अखिल नेपाल फुटबल संघ (एन्फा) हो ।
फुटबल युनिभर्सल खेल (विश्वव्यापी खेल) भएकोले यसको चर्चा विश्वका जुन राष्ट्रमा पनि उत्तिकै छ । तर नेपालमा यही खेलको नियमित रुपमा घरेलु लिग र प्रतियोगिताहरू हुँदैन भन्दा अचम्म नै लाग्छ । अचम्म नलागोस पनि किन पछिल्लो दुई सिजन नेपालको शीर्ष श्रेणीको शहीद स्मारक ए डिभिजन लिग आयोजना हुन सकेको छैन ।

पछिल्लो पटक २०७९-८० मा ए डिभिजन लिग आयोजना भएको थियो ।
अन्य खेलको राष्ट्रिय प्रतियोगिता भने जस्तै नेपाली घरेलु फुटबलमा सबैभन्दा ठूलो प्रतियोगिता ए डिभिजन लिग नै हो । विश्वमै यही प्रणालीमा लिगहरू आयोजना भइरहेका छन् ।
तर अहिले नेपालमा भने लिग हुँदैन । लिग नयाँ प्रतिभावान् खेलाडीका लागि आफ्नो क्षमता देखाउने अवसर हो र राष्ट्रिय टिम छनोटको आधार पनि हो । तर लिग नियमित नहुँदा पछिल्लो समय राष्ट्रिय टिमका लागि यसै खेलाडी छनोट गरिन्छ ।
अनि लिग नभएपछि खेलाडीहरू आफ्नो रोजीरोटी र भविष्यका लागि विदेश पलायन भइरहेका छन् । यो उनीहरूको बाध्यता हो ।
लिग नहुँदा सबैभन्दा मारमा खेलाडी पर्ने गरेका छन् । लिग नभएपछि एन्फालाई हाइसन्चो भएको छ । क्लबहरूलाई लिग नखेल्दा खेलाडीका लागि धेरै पैसा पनि खर्च गर्नुपरेन । एकाध गोल्डकप खेल्दा खेलाडी अनुबन्ध गरेर क्लबले खेलाउने गरेको छ ।
किन हुँदैन ए डिभिजन लिग ?
ए डिभिजन लिग किन भएन ? ए डिभिजन लिग कहिले हुन्छ ? लिग नहुनुमा जिम्मेवार को ? लिग नहुँदा दोषी को ? नेपाली फुटबलमा अहिले उठ्ने गरेको सबैभन्दा ठूलो प्रश्न यिनै हुन् ।
यी प्रश्नहरूको स्पष्ट जवाफ न त एन्फाले दिएको छ न क्लबहरूले नै दिन सकेको छ । सबैले टालटुले जवाफ दिएरै टार्ने गरेका छन् ।
‘एन्फाको अहिलेको नेतृत्वलाई लिगको कुनै मतलव छैन । उनीहरूलाई फुटबल गर्नु नै छैन’ फुटबल समर्थकहरूको भनाइ यही छ । एन्फालाई नजिकबाट नियाल्नेहरू पनि यही भन्न थालेका छन् ।
एन्फा नेतृत्वले फुटबल गतिविध भइरहेको फुटबल चलायमान भइरहेको मात्र देख्छ भने प्रतिपक्षहरूले फुटबल गर्न नसकेको भनेर आरोप लगाउने गरिरहन्छन् । यो सामान्य नियम जस्तै बनिरहेको छ । एकले अर्कालाई आरोप लगाईरहँदा नेपाली फुटबलको गति उल्टोतिर गइरहेको छ ।
एन्फा र क्लबहरूले भर्खरै यस वर्ष राष्ट्रिय लिग आयोजना गर्ने विषयमा सहमति बनेको छ । तर कोही पनि यसबाट खुसी छैनन् । यो सहमतिका लागि मात्र गरिएको सहमति जस्तो मात्र देखिएको छ ।
राष्ट्रिय लिग हुनुको अर्थ यस वर्ष ए डिभिजन लिग नहुनु नै हो ।
ए डिभिजन लिग यो सिजन पनि किन हुन सकेन ? के कारणले यस वर्ष हुँदैन ? भनेर एन्फा महासचिव किरण राईलाई प्रश्न गर्दा उनले लिग नभएको भन्दा पनि केही समय पछि सरेको भन्ने दाबी गरे ।

‘एन्फा र क्लबहरूको बीचमा राष्ट्रिय लिग गर्नेमा सर्वसम्मत सहमति भएको छ । त्यो सार्वजनिक पनि भइसकेको छ । त्यही अनुरुप हुन्छ’ राईले अनलाइनखबरसँग भने, ‘ए डिभिजन लिग पनि हुँदैछ । यो सिजनको अलिकति पर सर्यो । सी क्वालिफाइङ, सी डिभिजन हुँदै जिल्ला हुँदै सबै सकियो । जिल्ला, प्रदेश हुँदै राष्ट्रिय लिग पनि सकिन्छ । हामी बाटोमै छौं । अनि त्यसपछि फेरि ए डिभिजन लिग सुरु हुन्छ।’
महासचिव राईले ए डिभिजन लिग आयोजनाको बाटोमै रहेको र अब होम एण्ड अवे प्रणालीमा ए डिभिजन लिग हुने बताए । ‘होम एण्ड अवेको रुपमा नेपाली फुटबल ऐतिहासिक रुपमा जाँदैछ । नेपाली फुटबल अब आधुनिकिरण बन्दैछ । व्यावसायिकतर्फ लैजानका लागि होम एण्ड अवे प्रणालीमा लिग गर्ने तयारीमा छौं’ उनले भने ।
तर एन्फाले भनेजस्तै लिग गर्नेमा भने ए डिभिजनका क्लबहरू, फुटबल खेलाडीहरूकै शंका छ ।
एन्फाले केही समयअघि होम एण्ड अवेको आधारमा ए डिभिजन लिग गर्ने प्रस्ताव गरेको थियो । तर क्लबहरूले छोटो समयमा होम एण्ड अवेमा लिग खेल्न तयारी नपुग्ने र यसका लागि समय चाहिने भन्दै एन्फालाई सुझाव दिएको थियो ।
एन्फाले पनि तत्काल पत्रकार सम्मेलन गरेर क्लबहरूको सुझाव अनुसार होम एण्ड अवेका आधारमा लिग गर्न समय चाहिने भएकोले यो वर्ष नहुने घोषणा गर्दे यस वर्ष कुनै न कुनै फर्म्याटमा लिग गर्ने बताएको थियो ।
पछिल्लो समय एन्फा र क्लबहरू नै राष्ट्रिय लिग खेल्ने सहमतिमा पुगेपछि लिग नहुनुमा दोषी को ? किन लिग भएन भनेर प्रष्ट बुझ्न सकिन्छ ।
एन्फाले क्लबले तयारीका लागि समय माग गरेकोले ए डिभिजन लिगका लागि तयारीसहित पछि गर्ने बताइरहेको छ । तर के क्लबहरू नै ए डिभिजन लिग खेल्न तयार छन् त ? केही क्लबहरूलाई रेलिगेसनमा पर्ने डरकै कारण ए डिभिजन लिग खेल्ने पक्षमा छैनन् । ‘लिग खेल्दा २ करोड हाराहारीको खर्च लाग्छ । अनी केही क्लबलाई रेलिगेसनमा पर्ने डर पनि छ । उनीहरू त्यो जोखिम लिन चाँहैदैनन्’ एन्फा स्रोतले भन्यो, ‘एन्फा पनि आफ्नो भोटरहरू गुमाउन चाहँदैन । लिग नहुँदा पनि आफ्नो भोट सुरक्षित हुँदा एन्फालाई हाइसन्चो छ । क्लबहरू लिग नखेल्ने तर निर्वाचनमा मत हालेर त्यसबापत फाइदा लिने पक्षमा छन् ।’

नयाँ मन्त्री आएपछि चर्चामा फुटबल
जेनजी आन्दोपछि बनेको नयाँ सरकारमा केही समयअघि मात्रै युवा तथा खेलकुद मन्त्रीको रुपमा आएका छन् जेनजी मन्त्री बब्लु गुप्ता ।
१० कात्तिकमा उनी खेलकुद मन्त्री बनेर आएपछि पछिल्लो एक साता नेपाली फुटबल चर्चामा रह्यो । यो चर्चाको कारण भने मैदानभित्र फुटबल भएर होइन । मैदानमा किन फुटबल भएन? मैदान बाहिर किन गफ मात्र भए? भन्ने गुनासोका कारण फुटबल चर्चामा रहेको हो ।
यो समयमा युवा तथा खेलकुद मन्त्री गुप्ताले नेपालको फुटबल र ए डिभिजन लिगकै विषयमा तीन फरक टिमसँग भेटघाट र छलफल गरे ।
यस्तै एन्फामा पनि बैठक भयो । यसो हेर्दा फुटबल चालयमान हुन्छ कि, भयो कि जस्तो देखियो । तर वास्तविकतामा भने जहिँको तही छ । मैदानमा केही भएको छैन ।
खेलकुदमन्त्रीले १३ कात्तिकमा एन्फा पदाधिकारी र ए डिभिजन क्लबका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै भेट गरे । जहाँ एन्फा पदाधिकारीले सरकारले बजेट नदिएकोले लिग नभएको बताए । क्लबले एन्फाले लिग गर्नका लागि आवश्यक तयारी नगरेको बताए ।
एन्फा र क्लबहरूबीचको बैठकमा मन्त्री गुप्ताले लिग गर्नुपर्ने भनेपछि सेन्ट्रल भेन्युमै भएपनि ५० दिनभित्र लिग सञ्चालन गर्न निष्कर्ष निकाल्दै बैठक सकिएको थियो ।
मन्त्रालयको छलफलपछि ए डिभिजन लिग हुन्छ कि भन्ने झिनो आशा बढेको थियो ।
बैठकको मुख्य प्वाइन्ट नै लिग सुरु गर्नुपर्छ भन्ने थियो । लिग लगायत नेपाली फुटबल सुधारका लागि एन्फा सिइओ इन्द्रमान तुलाधरको संयोजकत्वमा ७ सदस्यीय कार्यदल पनि गठन भयो । त्यसपछि खेलाडीसँगसँग मन्त्रीले छलफल गर्दा कार्यदलमा दुई जना खेलाडी पनि सदस्य थप्न निर्देशन दिने भनेका थिए ।
तर मन्त्रालयमा भएको छलफलको निष्कर्ष अहिले लत्याइएको छ ।
१७ कात्तिकमा एन्फा र क्लबहरूबीच एन्फा कम्प्लेक्समा भएको छुट्टै छलफलमा भने ए डिभिजन लिग यो वर्ष नहुने निर्णय भयो ।
ए डिभिजन लिग होम एण्ड अवेका आधारमा अर्को वर्ष २०८३ पुसमा गर्ने गरी यो वर्ष राष्ट्रिय लिग गर्ने सहमति भयो ।
राष्ट्रिय लिगको नाटक
एन्फाको विधानै हरेक वर्ष शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्ने भनेर प्रष्ट लेखिएको छ । अनि नेपालमा हरेक वर्ष ए बी र सी अनि सी क्वालिफायरसहितको लिग साइकल हुन्छ । हरेक वर्ष बढुवा घटुवाको शैलीमा फुटबल लिगहरू आयोजना हुने गर्छ ।
तर पछिल्लो नियमित रुपमा लिग हुँदैन र लिग साइकल पूरा हुन पनि एन्फा कार्यमसितिको एक कार्यकाल नै लाग्ने जस्तो देखिएको छ ।
२०७९ साल असारमा आएको वर्तमान एन्फा नेतृत्वले अहिलेसम्म जम्मा एक पटक मात्र लिग आयोजना गरेको छ । जबकी अहिले चौथो पटक लिग आयोजाका लागि तयारी गर्नुपर्ने थियो । पछिल्लो दुई सिजन लिग नै हुन सकेन । अहिले यो सिजन पनि नहुने भएपछि लगातार तेस्रो सिजन ए डिभिजन लिग नहुने पक्का भएको छ ।
अनि ए डिभिजन लिगको विकल्पको रुपमा यस वर्ष राष्ट्रिय लिगलाई अघि सारिएको छ ।
राष्ट्रिय लिग २०८२ पुष ९ गतेदेखि सुरु गर्ने सहमति भएको एन्फाले जनाएको छ । जसमा पछिल्लो पटक (२०७९-८०) भएको ए डिभिजन लिगको शीर्ष ६ मा रहने क्लब र २०८२ कात्तिक १९ देखि सुरु भएको एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनल पुग्ने ४ क्लब गरी १० क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
राष्ट्रिय लिग पनि नियमित रूपमा हुन सकेको छैन । पछिल्लो पटक एक दशकअघि २०७२ सालमा राष्ट्रिय लिग आयोजना भएको थियो । जसमा थ्रीस्टार च्याम्पियन बनेको थियो । त्यसपछि राष्ट्रिय लिग हुन सकेको छैन । २०७९ सालमा पंकज विक्रम नेम्वाङ नेतृत्वमा नयाँ कार्यसमिति आएपछि नेम्वाङले पनि आफ्नो योजनामा राष्ट्रिय लिग सुरु गर्ने बताएका थिए । तर पछिल्लो तीन वर्षमा उनको भनाइ कार्यान्वयन भएन ।
एन्फा महासचिव किरण राई र एन्फा सिइओ इन्द्रमान तुलाधरसहित ए डिभिजनका १४ क्लबका प्रतिनिधिहरूसहित बसेको बैठकले फेरि राष्ट्रिय लिग आयोजना गर्ने सहमति गरेको छ ।
यस वर्ष ए डिभिजन लिग आयोजना गर्न सम्भव नहुने भएपछि एन्फाले क्लबहरूसँग राष्ट्रिय लिग आयोजना गर्ने प्रस्ताव गरेको थियो । त्यसमा क्लबहरूले सहमति जनाएका छन् ।
ए डिभिजनका ६ क्लबले राष्ट्रिय लिग खेल्ने भएपनि बाँकी ८ क्लबहरू भने त्यतिकै बस्नुपर्नेछ । उनीहरूले ए डिभिजन लिग खेल्न अर्को एक वर्ष भन्दा बढी समय कुर्नुपर्ने भएको छ ।
राष्ट्रिय लिगका लागि एन्फा र सबै क्लबहरूबीच सहमति हुनुले पनि भित्र केही पाक्दैछ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । ‘राष्ट्रिय लिग आयोजना गर्नु भनेको निर्वाचन लक्षित खेल पनि हो । एन्फाले भोटको राजनीति गरिरहेको छ’ एक क्लबका पदाधिकारीले भने ।
आसन्न एन्फा निर्वाचनमा मतदातालाई प्रभावित गर्ने गरी अहिले एन्फा प्रेसिडेन्ट लिगमा १० टिम खेलाउने, केन्द्रमा महत्वपूर्ण विषयमा छलफल हुँदा एन्फा अध्यक्ष लगायत जिल्ला भ्रमणमा निस्कने, ए डिभिजन लिगको सट्टा राष्ट्रिय लिग गरेर झारा टार्न प्रयास गर्ने जस्ता कामहरू हुनुले पनिले पनि धेरै कुरा प्रष्ट पारिरहेको छ ।

राष्ट्रिय लिग विजेताले एएफसी च्यालेन्ज लिग खेल्न पाउँछ ?
एन्फा र क्लबहरूबीच भएको सहमति अनुसार पुस ९ देखि हुने राष्ट्रिय लिगको विजेताले एएफसी च्यालेन्ज लिग खेल्ने उल्लेख छ ।
तर एएफसीको प्रतियोगिता खेल्नका लागि क्लब लाइसेन्सदेखि धेरै कुराहरू आवश्यक पर्छ । यसअघिको प्रावधान अनुसार ए डिभिजन लिग विजेताले च्यालेन्ज लिग खेल्ने हो । त्यसमा पनि लिग विजेता क्लबसँग एएफसी क्लब लाइसेन्स अनिवार्य हुनुपर्छ ।
तर यहाँ त न लिग हुन्छ न क्लबहरूसँग क्लब लाइसेन्स छ । कुनै निश्चित नहुँदा एन्फाले राष्ट्रिय लिगको विजेताले एएफसी च्यालेन्ज लिग खेल्न पाउने जनाएको छ ।
यसअघि नेपालमा लिग नहुँदा नेपाली क्लबहरूले एएफसी च्यालेन्ज लिगको पछिल्लो संस्करणमा सहभागिता जनाउनै पाएन । लिग नहुँदा क्लब लाइसेन्स पनि नहुने भएकोले नेपाली क्लबले मौका गुमायो ।
पछिल्लो पटक लिग विजेता चर्च ब्वायजले खेलेको थियो । दशरथ रंगशालम भुटानको पारोसँग २-१ ले पहिलो चरणमै पराजित भयो ।
एन्फा सिइओ इन्द्रमान तुलाधरले राष्ट्रिय लिगको विजेताले एएफसी च्यालेन्ज लिग खेल्न पाउने दावी गरे । ‘राष्ट्रिय लिग विजेताले एएफसी च्यालेन्ज लिग खेल्न मिल्छ । हामीले त्यही कुरा एएफसीलाई पठाएको छ । हामीले राष्ट्रिय लिगमा एएफसी क्लब लाइसेन्सिङ लागु गर्छौँ भनेर भनेका छौँ । उनीहरूले क्राइटेरिया पठाएको छ । त्यो पुरा गर्यो भने खेल्न पायो ।’
तुलाधरले लिग बाहेक अन्य प्रतियोगिताको विजेताहरूले पनि एएपसी च्यालेन्ज लिग खेल्न पाउने प्रावधान रहेको दावी गरे । ‘राष्ट्रिय लिग, नकआउट च्याम्पियन, कप च्याम्पियन, एफए कप च्याम्पियनहरूले पनि पाउँछ ।’
राष्ट्रिय लिग खेल्ने क्लबहरूको आफ्नै घरेलु मैदान पनि छैन । राष्ट्रिय लिग जितेपनि नेपाली क्लबहरूले एएफसीको प्रतियोगिता खेल्न धेरै मापदण्ड पूरा गर्नुपर्छ । त्यसमा घरेलु मैदान पनि पर्छ । तर नेपालमा भने जुन क्लबको पनि दशरथ रंगशालालाई नै घरेलु मैदान मानिँदै आएको छ ।
‘नेपालमा जुन क्लबले राष्ट्रिय लिग जितेपनि दशरथ रंगशाला ने देखाउने हो । अब क्लब लाइसेन्सिङको पाटो क्लबहरूले पुरा गर्नुपर्यो । एन्फाले सहभागिताको लागि सहजीकरण मात्र गर्छ ।’ तुलाधरले भने ।
राष्ट्रिय लिग विजेता भएपनि क्लबले एएफसी क्लब लाइसेन्स पाउने सम्भावना कम छ ।
अहिलेकै अवस्थामा नेपाली क्लबसँग क्लब लाइसेन्सिङको सबै प्रक्रिया पूरा गर्ने स्रोत साधान छैन । होम ग्राउण्डदेखि धेरै कूरा पालना गर्नुपर्छ । विगतमा नेपालका क्लबले झुटा कागजात बनाएर क्लब लाइसेन्स लिँदा जरिवानामा परेका उदाहरण पनि छन् ।
खेलाडीको भविष्य अनिश्चित
नियमित लिग नहुँदा फुटबल खेल नहुँदा यसको सिधार मार खेलाडीलाई नै पर्छ । खेलाडीले काम नै नियमित खेल्न हो । त्यसैका लागि उनीहरूले आफ्नो जीवन दिएका हुन्छन् । प्रशिक्षण गरिरहेका हुन्छन् । तर फुटबलको मेरुदण्ड मानिने लिग नै खेल्न नपाउँदा खेलाडीहरू निराश मात्र छैनन् अन्योल भविष्य लिएर कोही विदेश पलायन भइरहेका छन् त कोही फुटबलबाट नै टाढिदैँ छन् ।
एन्फा अन्तर्गत नै रहेका पुटबल खेलाडी संघले ए डिभजन लिग नगरी राष्ट्रिय लिग गर्ने एन्फा र क्लबहरूको सहमितले खेलाडीमाथि अन्याय भएको बताएको छ ।
खेलाडी संघले सोमबार विज्ञप्ती जारी गर्दै खेलकुद मन्त्री र एन्फम क्लबहरूबीच मन्त्रालयमा भएको छलफललाई नै वेवास्ता गर्दै लिग अर्को वर्ष सार्नु अन्याय भएको जनाएको छ ।

‘ति सबै छलफललाई वेवास्ता गर्दै ए डिभिजन लिग अझै अर्को वर्ष पुषमा सुरु गर्ने निर्णय गर्नु व्यावसायिक फुटबल खेलाडीहरू माथि ठुलो अन्याय भएको हाम्रो बुझाई छ ।’ खेलाडी संघका अध्यक्ष विक्रम लामाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
ए डिभिजन लिग नहुँदा हजारौं खेलाडीहरू ए डिभिजनसहित अन्य लिग खेल्न वञ्चित हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै खेलाडी संघले अब संघर्षमा उत्रन बाध्य भएको महसुस समेत गरेको छ । ‘खेलाडीको मर्म र भावनामाथि खेलवाड नै गर्ने यस निर्णयले खेलाडी संघ घोर भर्त्सना गर्दै एन्फाको यो कदमविरुद्ध मौखिक, लिखित र सामाजिक सञ्जालबाट उठेर अब सडक संघर्षमै उत्रन बाध्य भएको महसुस गराएको छ । यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी एन्फा हुनेछ ।’
फुटबल गराउने एन्फा नेतृत्व नै निर्वाचन केन्द्रित हुँदै गतिविधि बढाउन थालेपछि खेलाडीहरू भने प्रत्यक्ष मारमा परिरहेका छन् ।
प्रतिक्रिया 4