२० कात्तिक, काठमाडौं । परराष्ट्र मन्त्रालयले राहदानी विभागमा प्रहरी पठाउन अनुरोध गर्दै गृह मन्त्रालयलाई पत्र पठाएको छ । राहदानी विभागमा विचौलिया बढेको गुनासो आएको भन्दै परराष्ट्रले निगरानी बढाउन गृहलाई आग्रह गरेको हो ।
अनलाइनखबरले रिपोर्टिङ गर्ने क्रममा विभागमा राहदानी बनाइदिने भन्दै रकम माग्नेहरू देखिएका थिए । ती विचौलियाहरूमाथि निगरानी बढाउन अनुरोध गर्दै पत्र पठाएको हो ।
‘विभागमा सेवा लिन आउने सेवाग्राहीहरूलाई विचौलियाहरूले विभिन्न प्रलोभनमा पारी छिटोछरितो रुपमा राहदानी बनाइदिने, आफूहरूको भित्रका कर्मचारीहरूसँग जानपहिचान रहेकोले काम गराइदिने भन्दै सोका लागि आर्थिक लेनदेन समेत गर्ने गरेको गुनासो प्राप्त भएको हुँदा नेपाल प्रहरी लगायत सम्बन्धित निकायबाट गोप्य रुपमा विभाग परिसरको निगरानी गराउनुका साथै आवश्कतानुसार छापासमेत मारी यस प्रकारका अनुचित कार्यलाई निरुत्साहित गर्दै राहदानी वितरणसम्बन्धी सेवाप्रवाहलाई थप सरल, सहज र विश्वासनीय बनाउने कार्यमा आवश्यक सहयोग पुर्याउने व्यवस्थाका लागि निर्णयानुसार अनुरोध छ,’ परराष्ट्रले गृहलाई लेखेको पत्रमा उल्लेख छ ।
जेनजी आन्दोलनपछि राहदानी बनाउन असहज भइरहेको बेला विचौलियाहरूको बिगबिगि बढेको हो । विचौलियाहरूले राहदानी बनाइदिने भन्दै सेवाग्राहीसँग ३ हजारसम्म पैसा माग्ने गरेको पाइन्छ । सोही आधारमा गोप्य अनुगमन गरि त्यस्तामाथि निगरानी बढाउन अनुरोध गरेको हो ।
प्रतिक्रिया 4