+
+
Shares

हत्याका आरोपीबाटै मारिए प्रहरी जवान, राजावादी आन्दोलनबाट परे पक्राउ

हिजो (शनिबार) मात्रै राजावादी समूहले काठमाडौंमा गरेको प्रदर्शनमा एक व्यक्ति भेटिए । ती व्यक्तिबाट खुल्यो- उनी (इन्द्रबहादुर राई) प्रहरी हत्यामा संलग्न व्यक्ति रहेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते २१:४८

२३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जका प्रहरी मारिए । आन्दोलनमा क्रममा असई मिलन राय र उत्तम थापालाई कुटीकुटी हत्या गरियो ।

प्रहरीमा प्राप्त एउटा भिडियोमा केएजेएआरआईए (कजारिया) लेखिएको टीसर्ट लगाएको कालो हाफ पाइन्ट र सेता जुत्ता लगाएका एक युवकको एउटा हुलिया देखियो । जहाँ ती युवाले वृत्त महाराजगञ्जकै परिसरमा रहेको मन्दिर अगाडि निर्मम तरिकाले प्रहरीलाई भाटाले कुटेको देखिन्छ । भुईँमा बेहोस अवस्थामा ढलेका प्रहरीलाई निर्मम प्रहार गरेर ती युवा गएको भिडियोमा प्रष्ट देखिन्छ ।

यही भिडियोको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ‘अपरेशन’ सुरु गर्‍यो । विभिन्न प्राविधिक कोणबाट विश्लेषण अनुसन्धान गर्नेदेखि अनुसन्धानका विभिन्न कामहरू भए । यो बीचमा प्रहरी हत्या गर्ने दुई नाबालकसहित १२ जना पक्राउ गर्दा पनि ती व्यक्तिको भने पहिचान नै हुन सकेन ।

उक्त हुलिया भएका व्यक्ति को हुन् भन्ने लामो समय अनुसन्धान गर्दा पनि खुलेन । यद्यपि प्रहरीले आफ्नो अनुसन्धान भने जारी राखेको थियो । हिजो शनिबार मात्रै राजावादी समूहले काठमाडौंको सामाखुसी क्षेत्रमा जुलस तथा प्रदर्शन निकाल्यो ।

लामो समयदेखि अपरेशनमा खटिएका प्रहरीले त्यही टीसर्ट लगाएको व्यक्ति आन्दोलनको छेउमा देखे । परिसर काठमाडौंको सादा पोशाकको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लियो । अनि ती व्यक्तिको पहिचान भयो- इन्द्रबहादुर राई । भोजपुरको दोभान गाउँपालिका-२ का ३६ वर्षीय राईमाथि प्रारम्भिक सोधपुछकै क्रममा खुल्यो- उनी जेनजी आन्दोलनमा प्रहरी हत्या गर्ने मध्येका एक थिए ।

प्रहरीमाथि आक्रमण गर्दा उनले लगाएको टीसर्ट नै लगाएर राजावादी प्रदर्शनमा पुगेका थिए । उनी प्रदर्शनमा जानुको पछाडि जेनजीको प्रदर्शनमा जस्तै घुसपैठ गरेर अर्को कुनै घटना गराउनु हुनसक्ने प्रहरीको बुझाइ छ ।

प्रहरीले नियन्त्रणमा लिएर उनको पवित्रनगरस्थित कोठा खानतलासी गर्दा प्रहरी हत्या गर्ने क्रममा लगाएको जुत्ता मात्रै होइन प्रहरीबाटै लुटिएको पेस्तोलदेखि गोलीसम्म फेला परे । उनको कोठाबाट टाइप ५४ लेखिएको पेस्तोल, त्यसको म्यागजिन र ७ राउण्ड गोली फेला परेको परिसरका प्रमुख तथा एसएसपी रमेश थापाले बताए ।

सार्वजनिक भिडियोमा उनले वृत्त महाराजगञ्जका प्रहरी जवान उत्तम थापालाई आक्रमण गरेको देखिन्छ । उनीविरुद्ध यसअघि पनि हत्यामा मुद्दा चलेको देखिएको परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

२०८० सालमा उनीविरुद्ध महाराजगञ्जबाटै मुद्दा चलेको देखिएको छ । पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?