+
+
Shares

के मा खर्च गर्छन् एलन मस्कले आफ्नो पैसा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते ९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एलन मस्कको सम्पत्ति आधा ट्रिलियन डलर पुगेको छ र उनी मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन्।
  • मस्कले सन् २०२० मा सबै घर बिक्री गर्ने घोषणा गरेका थिए र हाल टेक्ससको ५० हजार डलरको घरमा बस्दै आएका छन्।
  • उनले अनौठा कारहरूको संग्रह गरेका छन् जसमा जेम्स बोन्ड फिल्मको पनडुब्बी कार समेत छ र उनले ट्विटर ४४ अर्ब डलरमा किनेका छन्।

२३ कात्तिक, एजेन्सी । टेस्लाका मालिक एलन मस्क धेरै वर्षदेखि विश्वका धनी व्यक्तिहरूको सूचीमा शीर्ष स्थानमा छन् । हालसालै उनको सम्पत्तिले आकाश छोयो । उनी मानव इतिहासमै सबभन्दा धेरै सम्पत्तिको मालिक बने ।

अक्टोबरमा सार्वजनिक भएको विवरण अनुसार उनको सम्पत्ति आधा ट्रिलियन डलर अर्थात् ५०० अर्ब अमेरिकी डलर पुगेको हो ।

यति धेरै सम्पत्ति हुँदा पनि मस्क आफू भने साधारण जीवन बिताउने गरेको बताउँछन् । सन् २०२१ मा उनले आफू टेक्ससमा करिब ५० हजार डलरको घरमा बस्दै आएको बताएका थिए ।

मस्ककी पूर्वश्रीमती ग्राइम्सले सन् २०२२ मा ‘भ्यानिटी फेयर’ म्यागजिनसँग कुरा गर्दै मस्कले साधारण जीवन बिताउने गरेको बताएका थिइन् । मस्कसँगै दुई सन्तान जन्माएकी ग्राइम्सले भनेकी थिइन्, ‘उनी अर्बपतिजस्तो जीवन जिउँदैनन् । कतिपय अवस्थामा त उनी गरिबी रेखाभन्दा तलको अवस्थामा पनि बस्छन् ।’

ग्राइम्सका अनुसार, एकपटक उनले आफ्नो बिछ्यौनाको एक भाग च्यातिँदा पनि नयाँ किन्न अस्वीकार गरेका थिए ।

मस्कले दैनिक जीवन र रहनसहन साधारण रुचाएपनि उनलाई अनौठा कारहरूमा भने धेरै नै रुची राख्छन् ।

उनले संग्रह गरेका मध्ये एक कार यस्तो छ, जुन पनडुब्बी (सबमरीन) मा बद्लिन्छ । उनीसँग करोडौं डलर पर्ने निजी विमानहरूको पनि संग्रह छ ।

साथै, सन् २०२२ मा उनले ४४ अर्ब डलरमा सामाजिक सञ्जाल ट्विटर (हालको एक्स) किनेका थिए । ट्विटर खरिद गर्न मस्कले चुकाएको यति ठूलो मूल्यले यसमा उनको रुची देखिन्छ ।

बेचिदिए अलिशान घर

एक समय मस्कसँग रियल इस्टेटका धेरै शानदार सम्पत्तिहरू थिए । वाल स्ट्रिट जर्नलका अनुसार सन् २०१९ सम्म मस्कले करिब १० करोड डलरमा सातवटा घर किनेका थिए ।

उनले किनेका धेरैजसो घरहरू क्यालिफोर्नियाको बेल–एयर क्षेत्रमा एकअर्कोसँग नजिकै थिए ।

यी आलिशान बंगलाहरूमा स्विमिङ पुल, टेनिस कोर्ट, वाइन सेलर, निजी पुस्तकालय र बलरूमजस्ता विलासी सुविधाहरू थिए । मस्कले किनेका घरहरूमध्ये एउटा त प्रख्यात अभिनेता जीन वाइल्डरको पुरानो र्‍यान्च हाउस थियो ।

तर, सन् २०२० तिर मस्कको मन बदलियो । ट्वीट गरेरै मस्कले आफ्ना लगभग सबै सम्पत्ति बिक्री गरिरहेको घोषणा गरे । र अब आफूसँग कुनै घर बाँकी नरहेको बताए ।

‘मलाई पैसाको आवश्यकता छैन । अब आफूलाई मंगल र पृथ्वीलाई समर्पित गर्दैछु । सम्पत्ति त बोझ मात्र बन्छ,’ मस्कले ट्वीटमा भनेका थिए ।

क्यालिफोर्नियाको बेल–एयरमा हलिउडका धेरै कलाकारहरूको घर छन्।

मस्कले बिक्री गरे पनि अभिनेता जीन वाइल्डरको घर भने तोडफोड नगर्न भनेका थिए । मस्कले लाखौं डलर ऋण दिएर अभिनेता वाइल्डरकै भतिजा जोर्डन वाकर–पर्लम्यानलाई उक्त तीन कोठे घर बेचेका थिए ।

तर, खरिदकर्ताले ऋणको किस्ता तिर्न नसकेपछि जुन २०२५ मा मस्कले त्यो घर पुन: आफ्नो नाममा फिर्ता ल्याएका थिए ।

सन् २०२१ तिर मस्कले टेक्ससको दक्षिणी क्षेत्रमा आफ्नो प्रमुख घर रहेको बताएका थिए । टेक्ससको पचास हजार डलरको प्रीफ्याब्रिकेटेड घरमा आफू  बस्दै आएको मस्कले बताएका थिए ।

यहीँबाट मस्कको कम्पनी स्पेसएक्सको काम सञ्चालन हुन्छ, जसलाई अहिले स्टारबेस भनिन्छ ।

सन् २०२२ तिर भने मस्कले आफूसँग अब कुनै घर नरहेको बताए ।

यसले अथाह सम्पत्तिको बाबजुद पनि मस्कले कति कम उपयोग गर्छन् भन्ने देखाउँछ । उनी जुन साथीको घरमा जान्छन्, त्यहीँ बस्छन् ।

‘म जहाँ जान्छु, वास्तविकतामा आफ्ना साथीहरूको घरमा बस्छु । यदि म बे–एरिया जान्छु, जहाँ टेस्लाको निर्माणको धेरै काम हुन्छ, तब म साथीहरूको खाली कोठाहरूमा घुम्दै बस्छु,’ समाचार संस्था टीईडीका प्रमुख क्रिस एन्डरसनसँगको कुराकानीमा मस्कले भनेका थिए ।

मस्कले आफैंले यसो भनिरहँदा नौलो भने थिएन । सन् २०१५ तिरै गुगलका तत्कालीन सीईओ ल्यारी पेजले मस्क ‘केही हदसम्म घरबारविहीनजस्तै’ भएको बताएका थिए ।

‘उनी इमेल गरेर सोध्छन्, ’मलाई थाहा छैन आज कहाँ बस्ने ? के म आउन सक्छु ?’, मस्कबारेको प्रसंगमा ल्यारी पेजले भनेका थिए ।

मस्कले अमेरिकामा नयाँ सम्पत्तिहरू किनिरहेको हल्ला भने चलिनै रहन्छ । तर, हाललाई टेक्ससको घर नै उनको आधिकारिक निवास मानिन्छ ।

अनौठा कारहरूमा रुची

सन १९०० का सुरुवाती वर्षहरूमा फोर्डले यो सस्तो कार बनाएको थियो।

मस्कले आवासमा धेरै खर्च नगरे पनि कारहरूको संग्रहमा भने उनको रुची देखिन्छ । उनीसँग धेरै अनौठा र ऐतिहासिक कारहरूको संग्रह छ । जस्तै :

फोर्ड मोडेल–टी : २० औं शताब्दीमा आम मानिसका लागि बनाइएको यो कार मोटर उद्योगमा क्रान्ति थियो ।

सन् १९६७ को ज्यागुअर ई–टाइप रोडस्टर : यो कार मस्कले बाल्यकालदेखि नै मन पराउँथे भनिन्छ ।

सन् १९९७ को म्याक्लारेन एफ–१ : यो कार एक पटक मस्कबाटै दुर्घटनामा परेको थियो । उनले यसको मर्मतमा ठूलो खर्च गरे र पछि यसलाई बेचिदिए ।

टेस्ला रोडस्टर : टेस्लाको पहिलो मोडल, जसलाई मस्कले सन् २०१८ मा अन्तरिक्षमा प्रक्षेपण गरेका थिए ।

सन् १९७६ को लोटस एस्प्रिट कार : यो सबैभन्दा अनौठो कार हो । यो त्यही कार हो जुन सन् १९७७ मा रिलिज भएको जेम्स बोन्डको फिल्म ‘द स्पाइ हू लव्ड मी’ मा प्रयोग गरिएको थियो ।

फिल्ममा यो कार ‘वेट नील’ नामले चिनिन्छ, जुन पनडुब्बी (सबमरीन) मा बदलिन्छ । सन् २०१३ मा भएको लिलामीमा मस्कले १० लाख डलर खर्चेर पनडुब्बीमा बद्लिने यो कार खरिद गरेका थिए ।

उक्त कारको पनडुब्बी क्षमतालाई फेरि काम गर्न लायक बनाउन खरिद गरेको उनले बताएका थिए ।

मस्कले लिलामीबाट जेम्स बन्ड सिरिजको फिल्ममा प्रयोग भएको ‘वेट नेल’ कार खरिद गरे र यसको पानीमुनि चल्ने क्षमता फेरि सुधार गर्ने बताएका थिए।

उड्दै अफिस पुग्छन् मस्क

आफ्नो ख्यातीका कारण अफिस जानका लागि हवाई जहाजमा खर्च गर्नु परेको मस्क स्वीकार्छन् । समय बचतका लागि पनि हवाई जहाजको प्रयोग गर्ने गरेको उनी भन्छन् ।

सन् २०२२ मा समाचार संस्था टीईडीसँगको कुराकानीमा मस्कले भनेका थिए– ‘यदि मैले प्लेनको प्रयोग गरिनँ भने मेरो काम गर्ने समयको नोक्सान हुन्छ ।’

उनीसँग करोडौं डलरका गल्फस्ट्रीम मोडलका धेरै निजी जेटहरू छन् । उनी मस्कले अमेरिकामा रहेका स्पेसएक्स र टेस्लाका साइटहरूबीचको यात्राका साथै अन्य देशहरूको यात्रामा पनि यी विमान प्रयोग गर्छन् ।

अर्बौं गरे दान

अमेरिकी नियामकहरूको कागजातअनुसार मस्कले अर्बौं डलरको शेयर दान गरेका छन् । साथै अन्य धेरै कामको लागि करोडौं डलरको दान दिएका छन् ।

यद्यपि, परोपकारको उनको यो तरिकाको आलोचना पनि हुने गरेको छ ।

‘न्युयोर्क टाइम्स’ले मस्कले आफ्नो फाइदा हेरेर मात्रै दान गर्ने गरेको भन्दै आलोचना गरेको थियो । करमा भारी छुट, व्यवसायलाई मद्दत पुग्ने स्थितिमा मात्रै मस्कले दान गर्ने गरेको उक्त रिपोर्टमा उल्लेख थियो ।

उनको च्यारिटी संस्था मस्क फाउन्डेशनले भने मानवताको विकासको लागि वैज्ञानिक शोध, प्राविधिक खोज र महत्त्वाकांक्षी प्रयासहरूलाई बढावा दिन दान गर्ने गरिएको बताउने गरेको छ ।

तर, न्युयोर्क टाइम्सले भने मस्क फाउन्डेशनले तीन वर्षसम्म अनिवार्य दानको तोकिएको राशि समेत निकासा नगरेको र धेरै दान मस्कसँग सीधा सम्बन्ध भएका संगठनमा गएको देखिएको दाबी गरेको छ ।

परोपकारबारे सोध्दा मस्कले आफू परम्परागत ‘दान’को अवधारणालाई लिएर अन्योलमा रहेको बताएका थिए ।

उनले सन् २०२२ मा क्रिस एन्डरसनको अन्तर्वार्तामा भनेका थिए– ‘यदि तपाईं भलाइको, सत्यको मात्रै चिन्ता गर्नुहुन्छ, न कि त्यसको छविको, तब परोपकार गर्न धेरै गाह्रो छ ।’

उनको कारोबार नै आफैंमा परोपकार भएको मस्कको तर्क छ ।

मस्कले भने भने, ‘यदि परोपकारको अर्थ मानवताप्रतिको प्रेम हो भने, यी सबै (कारोबार) परोपकार हुन् ।’

टेस्लाले टिकाऊ ऊर्जालाई बढावा दिइरहेको, स्पेसएक्सले मानव जातिको दीर्घकालीन अस्तित्वलाई बचाउने प्रयास गरिरहेको र न्यूरालिंकले मस्तिष्कको चोट र एआईको कारणले हुने जोखिमलाई कम गर्न काम गरिरहेको बताउँदै मस्कले यसैलाई परोपकारको रूपमा अर्थ्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?