+
+
Shares
मुख्यमन्त्री नियुक्त विवाद :

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

एक सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्काले कुर्सी फालेका हुन् । झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते ११:१९

२४ कात्तिक, जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् ।

एक सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्काले कुर्सी फालेका हुन् । झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् । तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ ।

मधेशको प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । उनीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि रहेको बोर्ड सहितका गमलाहरूमा क्षति पुर्‍याएका छन् ।

प्रदेश प्रमुख भण्डारीले आज कात्तिक २४ गते बिहान ४ बजेतिर बिरामी भएको भन्दै काठमाडौं जान लागेको बताएकी थिइन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिएर स्वास्थ्यलाभको कामना गर्दै बिदाइ गरेका थिए ।

तर महोत्तरीको बर्दिबास नगरपालिका-३ कालापानीस्थित होटेल पानसमा पुगेर प्रदेश प्रमुख भण्डारीले ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री पदको शपथग्रहण गराएकी थिइन् । यो घटनापछि मधेशको राजनीति तरंगित भएको छ ।

यसमा असन्तुष्ट दलहरुले आलोचना गरिरहेका छन् । निवर्तमान मुख्यमन्त्री एवम् लोसपा नेता सोनलले प्रदेश प्रमुखले मधेश प्रदेशको अस्मिता लुटेको प्रतिक्रिया दिएका छन् ।

यसैगरी जनमत पार्टीका अध्यक्ष डा‍. सीके राउतले मधेशलाई स्वायत्त घोषणा गर्ने मौका यही भएको बताएका छन् । डा. राउतले मधेश प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि स्वायत्त घोषणा गर्न आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?