News Summary
Generated by OK AI. Editorially reviewed.- फ्रान्सको लुभ्र संग्रहालयमा गत अक्टोबर १९ मा ८ करोड ८० लाख युरो बराबरको गहना चोरी भएको थियो।
- साइबर सुरक्षा कमजोरीका कारण लुभ्र संग्रहालयको सूचना प्रविधि प्रणालीमा सजिलै पहुँच प्राप्त गर्न सकिने पाइएको छ।
- २०१४ र २०१७ मा गरिएको सुरक्षा अडिटले संग्रहालयको कमजोर पासवर्ड र पूरानो प्रणालीको समस्या देखाएको थियो।
विश्वको सर्वाधिक लोकप्रिय संग्रहालय मध्येको एक फ्रान्सको लुभ्र संग्रहालयमा गत अक्टोबर १९ मा दिनदहाडै भएको अर्बौंको बहुमूल्य गहना चोरी काण्डमा नयाँ खुलासा भएको छ ।
उक्त नयाँ खुलासासँगै म्युजियमको सुरक्षामाथि प्रश्न उठेको छ ।
अनुसन्धानका क्रममा लुभ्र म्युजियममा साइबर सुरक्षा तथा मर्मतसम्भारमा समस्या रहेको पाइएको छ ।
फ्रान्स पब्लिकेसन लिब्रेसनको रिपोर्ट अनुसार दशकौंदेखि चलिआएको उक्त समस्या धेरैपटक सार्वजनिक भएको थियो । तर कहिल्यैपनि त्यसलाई पूर्णरुपमा समाधान गर्न सकिएको थिएन ।
समाचार अनुसार उक्त सुरक्षा जोखिमको बारेमा पहिलो चेतावनी सन् २०१४ मा सार्वजनिक भएको थियो ।
फ्रान्सको राष्ट्रिय एजेन्सी एएनएसएसआईले संग्रहालयको सूचना प्रविधि प्रणालीको अडिट गरेको थियो। त्यसमा सो संग्राहलयको सुरक्षा नेटवर्कको परीक्षण गरिएको थियो जुन अलार्म, भिडियो निगरानी तथा नियन्त्रित पहुँचसँग सम्बन्धित छ ।
एजेन्सी ले त्यसबारेमा २६ पेजको एक रिपोर्ट पेश गरेको थियो । उक्त रिपोर्ट अनुसार म्युजियमको कमजोर पासवर्ड तथा पूरानो प्रणालीका कारणले गर्दा केन्द्रीय नेटवर्कमा समेत सजिलै पहुँच प्राप्त गर्न सकिने थियो । अनुसन्धानका क्रममा केवल LOUVRE लेखेर भिडियो निगरानी सर्भरमा पहुँच प्राप्त गर्न सकिने खुलासा भयो ।
त्यसैगरी THALES लेख्दा एउटा अर्को सफ्टवेयर खुलेको थियो, जसलाई Thales ग्रुपले तयार गरेको थियो ।
त्योसँगै एजेन्सीले सेक्योरिटी नेटवर्कमा निकै धेरै समस्या रहेको र त्यसका कारणले ह्याकरहरूले सजिलैसँग आन्तरिक प्रणालीमा पहुँच प्राप्त गर्नसक्ने तथा ब्याज एक्सेस र भिडियो फीड परिवर्तन गर्नसक्ने भन्दै चेतावनी जारी गरेको थियो ।
एजेन्सीले म्युजियमलाई पासवर्ड बलियो पार्न र सिस्टम अपग्रेड गर्न सल्लाह दिएको भएपनि लुभ्र म्युजियमले सार्वजनिक रूपमा त्यसको पालनाका बारेमा कहिल्यैपनि केही जानकारी गराएन ।
त्यसैगरी सन् २०१७ मा भएको अर्को प्राविधिक अडिटमा पनि म्युजियमको प्राविधिक सुरक्षा प्रणालीमा त्यस्तै समस्या रहेको पत्ता लागेको थियो ।
गत अक्टोबर १९ मा लुभ्रमा भएको उक्त चोरी केवल ८ मिनेटभित्रैमा गरिएको थियो । चारजना चोरहरू मिलेर ८ करोड ८० लाख युरो अर्थात् करीब साढे १४ अर्ब रुपैयाँ बराबरको गहना चोरेका थिए । चोरहरूले उक्त घटना फिल्मी शैलीमा घटाएका थिए ।
चोरहरू बास्केट लिफ्ट लिएर म्यूजियमको पर्खालमा चढे, झ्याल फोडे र डिस्प्लेको बाहिरी खोल फोडेर गहना लिएर फरार भए ।
उक्त घटनामा अहिलेपनि जाँच चलिरहेको छ र केही मानिसहरूले पक्राउ गरिएको बताइएको छ । -एजेन्सी
प्रतिक्रिया 4