+
+
Shares

छिमेकीको घरमा बिरालो छिर्दा ३ लाख जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्सको हेराउल्ट क्षेत्रमा ७० वर्षीया डोमिनिकले आफ्नो बिरालोले छिमेकीको घरमा बारम्बार छिरेपछि अदालतले उनलाई ३ लाख रुपैयाँ जरिबाना तिर्न आदेश दिएको छ।
  • अदालतले बिरालोले छिमेकीको सम्पत्तिमा क्षति पुर्‍याएको र भविष्यमा पुनः छिरेमा थप जरिबाना लाग्ने चेतावनी दिएको छ।
  • पशु अधिकार समूहहरूले बिरालोको प्राकृतिक अधिकारमाथि हस्तक्षेप भएको भन्दै अदालतको फैसलालाई अस्वीकार गरेका छन्।

फ्रान्सको हेराउल्ट क्षेत्रमा एक महिलाले आफ्नो घरमा पालेको बिरालो छिमेकीको घरमा छिरेका कारण चर्को जरिबाना तिर्नु परेको छ ।

डोमिनिक नामकी ७० वर्षीयाले घरमा पालेको रेमी नामक बिरालो छिमेकीको घर तथा परिसरमा बारम्बार छिरेर दिसा पिसाब गर्ने लगायतका काम गरेपछि दिक्क भएका छिमेकीले अदालतमा मुद्दा हाले ।

अन्तत: अदालतले बिरालोले छिमेकीलाई पुर्‍याएको नोक्सानीवापत डोमिनिकले साढे १२ सय युरो अर्थात् करीब ३ लाख रुपैयाँ जरिबानाको फैसला गरेको हो ।

उक्त बिरालोले आफ्नो सम्पत्तिमा क्षति पुर्‍याएको,  भर्खरै गरेको प्लास्टरमा पञ्जाको छाप पारिदिएको, सिरकमा पिसाब तथा बगैंचामा दिसा गरेको जिकिर उजुरीकर्ता छिमेकीले गरेका छन् ।

अन्तत: अदालतले पीडित छिमेकीको पक्षमा फैसला सुनाउँदै जरिबाना तोक्यो र भविष्यमा बिरालोले बार नाघेर छिमेकीकोमा छिरेमा थप जरिबाना लाग्ने चेतावनी पनि दियो।

अदालतको निर्णयपछि डोमिनिक निकै स्तब्ध छिन्। फ्रान्सेली अखबारले पेरिसियनसँग कुरा गर्दै उक्त फैसला पश्चात् आफूले रेमीलाई घरभित्रै राख्न बाध्य भएको र यसले गर्दा बिरालो मोटो हुनुका साथै आक्रामक बनेको बताएकी छिन्।

उनी भन्छिन्: यो त उसलाई घरमै नजरबन्द दिएजस्तो भयो, जुन एक प्रकारको कारावास र मेरो लागि दोहोरो सजाय हो।

साथै आफ्नो छिमेकमा अन्य त्यस्तै बिरालोहरू पनि भएकाले छिमेकीको घरमा क्षति पुर्‍याउने रेमी नै हो भनी प्रमाणित गर्ने बलियो प्रमाण नभएको तर्क पनि डोमिनिकको थियो । तर उनको तर्कलाई न्यायाधीशले  स्वीकार गरेनन्।

दुर्भाग्यवश, यो कानुनी लडाइँ अझै सकिएको छैन। बिरालो पुन: बार नाघेर छिमेकीकोमा छिरेको भन्दै डोमिनिकलाई आगामी डिसेम्बरमा फेरि अदालत बोलाइएको छ। यस पटक उनलाई थप दुई हजार युरो सम्मको जरिबाना लाग्नसक्ने सम्भावना छ।

यो असामान्य घटनाले फ्रान्सका पशु अधिकार समूहहरूको ध्यान तानेको छ। उनीहरूका अनुसार घरपालुवा बिरालोहरूमा आफ्नो वरपरको वातावरण खोजी गर्ने प्राकृतिक प्रवृत्ति हुन्छ । त्यसैले अदालतको यो फैसलाले बिरालोको प्राकृतिक अधिकारमाथि हस्तक्षेप गरेको उनीहरूको दाबी छ।

यदि यो मुद्दाले कानुनी नजिरको रूप लियो भने, यसले भविष्यमा बिरालो पाल्न चाहने मानिसहरूलाई निरुत्साहित गर्न सक्ने चिन्ता पनि अधिकारकर्मीहरूले व्यक्त गरेका छन्। -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?