News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल आईएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक हो जसको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख र सम्पत्ति ६ खर्ब ११ अर्ब ७७ करोड रुपैयाँ छ।
- बैंकले ग्लोबल फाइनान्स म्यागजिनबाट दोस्रो पटक 'बेस्ट बैंक अवार्ड २०२५' पाएको छ र यसले बैंकको विश्वसनीयता र ग्राहक सेवा दर्शाउँछ।
- ग्लोबल आईएमई बैंकले ७७ जिल्लामा सेवा प्रदान गर्दै आएको छ र विश्वका विभिन्न देशबाट नेपालीलाई सुरक्षित रेमिट्यान्स सेवा उपलब्ध गराइरहेको छ।
२५ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंक अहिले समग्र वित्तीय प्रणालीकै महत्त्वपूर्ण बैंकका रूपमा चिनिन्छ । बैंकको चुक्ता पूँजी, सम्पत्ति तथा व्यवसायका दृष्टिकोणबाट सबैभन्दा ठूलो अर्थात् पहिलो बैंक हो ।
बैंकले आजको आकारमा आइपुग्न ३ वाणिज्य बैंकसहित कुल २१ संस्था गाभेको छ । २०६४ सालमा स्थापना हुँदा ५१ करोड चुक्ता पूँजी रहेको बैंकको हाल ३८ अर्ब ११ करोड ५८ लाख बराबर चुक्ता पूँजी छ ।
हाल बैंकको सम्पत्तिको आकार पनि सबैभन्दा धेरै ६ खर्ब ११ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । समग्र वित्तीय प्रणालीको वासलातको आकारको १० प्रतिशत बराबर वासलात हुने बैंकलाई प्रणालीगत महत्त्वपूर्ण संस्थाका रूपमा लिइन्छ ।
पछिल्लो समय बैंकलाई ग्लोबल फाइनान्स म्यागजिनले ‘बेस्ट बैंक अवार्ड २०२५’ ले सम्मानित गरेसँगै अन्तर्राष्ट्रिय ध्यान खिचेको छ । नेपालको उत्कृष्ट बैंकका रूपमा निरन्तर दोस्रो पटक सम्मानित भएको हो ।
विगतमा पनि उत्कृष्ट बैंकका रूपमा विभिन्न अवार्डबाट सम्मानित बैंकले प्रविधि, ग्राहक सेवा तथा नवीनतम सिर्जनाका लागि छुट्टै पहिचान बनाएको छ । ग्लोबल आईएमई बैंक आजको अवस्थामा आइपुग्न सक्षम र उत्कृष्ट नेतृत्वले मात्रै सम्भव भएको बैंकको दाबी छ ।
हाल बैंकले ३ सय ५२ शाखा तथा ३ सय ८४ एटीएम मार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका शाखारहित आउटलेट संख्या १ सय १० छ । बैंकले ६८ एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले पाएका सम्मान तथा अवार्ड
ग्लोबल आईएमई बैंकले हालसम्ममा करिब एक दर्जन अवार्ड तथा सम्मान पाएको छ । पछिल्लो समय बैंकले ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२५’ पाएको छ । बैंकले यो अवार्ड दोस्रो पटक पाएको हो ।
यसले बैंकको विश्वसनीयता, रणनीतिक वृद्धि र ग्राहक केन्द्रित सेवालाई दर्शाउँछ । उक्त म्यागाजिनले संस्थाको वित्तीय सबलता, स्रोत परिचालन, पहुँच विस्तार प्राविधिक सिर्जनशीलता, रणनीतिक साझेदार र शाख मूल्यांकनका आधारमा बैंकलाई उत्कृष्ट घोषणा गरेको बैंकले जनाएको छ ।
यो सम्मान पाउने पहिलो नेपाली बैंक भएका नाताले पनि नेपालको बैंकिङ क्षेत्र अन्तर्राष्ट्रिय स्तरको रहेको स्थापित गर्न मद्दत गरेको छ ।
बैंक सन् २०१४ मा द बैंकर म्यागजिनको ‘बैंक अफ द इयर’ बाट सम्मानित भएको छ । त्यसैगरी २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक अवार्ड’ तथा २०२२, २०२४ र २०२५ मा ‘युरो मनी अवार्ड अफ एक्सलेन्स’ बाट पनि सम्मानित भएको छ ।
ग्लोबलदेखि ग्लोबल आईएमईसम्मको यात्रा
२०६४ सालमा स्थापना हुँदा ग्लोबल मात्रै रहेको बैंकको नाम अहिले ग्लोबल आईएमई भएको छ । बैंक स्थापना पनि कमर्ज एन्ड ट्रस्ट, जनता बैंक र बैंक अफ काठमाडौंलाई आफूमा समाहित गरेको ग्लोबल आईएमई बैंक स्थापना हुँदा नै स्पष्ट लक्ष्य लिएको जनाएको छ ।
बैंकले स्थापना हुँदा नै सबल, नवीनतम र समावेशी वित्तीय संस्थाका रूपमा स्थापना भई नेपाललाई विश्व अर्थतन्त्रमा जोड्ने थियो । पछिल्लो समयमा बैंकले सोही अनुसार काम गर्दै आएको समेत बैंकले जनाएको छ ।
बैंकले हाल अहिले देशका ७७ जिल्लामा सेवा प्रदान गर्दै आएको छ । देशमा सबै जिल्लाबाट सेवा दिने दृष्टिकोणबाट पनि बैंक पहिलो हो । बैंकले हासिल गरेको पछिल्लो सफलता प्रकृतिक वृद्धिबाट मात्र नभई रणनीतिक मर्जरको पनि उत्तिकै योगदान छ ।
रेमिट्यान्स र अन्तर्राष्ट्रिय सञ्जाल
ग्लोबल आईएमई बैंकले नेपाली बैंकिङ क्षेत्रलाई विश्व अर्थतन्त्रसँग जोड्ने वित्तीय मध्यस्थताका रूपमा काम गर्दै आएको छ । विश्वभरि छरिर रहेका नेपालीले सुरक्षित र भरपर्दो रूपमा स्वदेशमा पैसा पठाउने माध्यमका रूपमा सेवा गर्दै आएको छ ।
बैंकले अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार लगायत देशबाट सहज र सुरक्षति रेमिट्यान्स नेपाल भित्र्याउने काम गर्दै आएको छ ।
आगामी दिनमा पनि प्रविधिक क्षेत्रमा आएका नवीनतम परिवर्तन स्वीकार गर्दै ग्राहक सेवा गर्ने बैंकले जनाएको छ । साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बैंकको सम्पर्क सञ्जाल थप मजबुत बनाउने बंैंकले जनाएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय व्यापार मार्फत व्यपारमा समेत थप सहजता ल्याउने गरी काम गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया 4