+
+
Shares

राना थारू ‘होमस्टे’मा आकर्षण : वार्षिक तीन हजार पाहुनाको बास

दश वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा स्थापना भएको होमस्टे राना थारू समुदायको आयआर्जनको माध्यम बनेको छ ।

रासस रासस
२०८२ कात्तिक २६ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलाली र कञ्चनपुरमा राना थारू समुदायले सञ्चालन गरेको पाहुना घर (होमस्टे) फष्टाउँदै गएको छ।
  • भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा दश वर्षअघि स्थापना भएको होमस्टेले वार्षिक रु डेढदेखि दुई लाखसम्म आम्दानी गर्ने गरेको छ।
  • होमस्टेमा पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बन्यजन्तु अवलोकन र स्थानीय थारू सांस्कृतिक कार्यक्रमको अनुभव गर्ने गर्छन्।

२६ कात्तिक, महेन्द्रनगर। कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायले सञ्चालन गरेको पाहुना घर (होमस्टे) फष्टाउँदै गएको छ।

दश वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा स्थापना भएको होमस्टे राना थारू समुदायको आयआर्जनको माध्यम बनेको छ ।

यहाँबाट विश्वमै बाह्रसिङ्गेको विशाल बथानले परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको पाहुनाघरमा हिउँदका बेला बासका लागि आउँदा बाह्रसिङ्गे, चित्तल, मयूर, बदेल र विभिन्न प्रजातिका चराचुरुङ्गी सहज रुपमा अवलोकन गर्न पाइने गरेको होमस्टे सञ्चालकहरुको भनाइ छ।

राना थारू सामुदायिक होमस्टेका अध्यक्ष परशुराम रानाले निकुञ्जसित जोडिएकाले बन्यजन्तु अवलोकन गर्न पाइने गरेको बताए । ‘निकुञ्जले तार जाली नहालेका बेला त चित्तल, बँदेलले हाम्रो खेतबारीमा निकै नोक्सान पुर्‍याउथे’, अध्यक्ष रानाले भने, ‘निकुञ्जमा भ्रमण अवलोकनका लागि आउनेहरु प्रायः बासका लागि होमस्टेमै आउँछन्।’

यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने जाने क्रम चलिरहेको भए पनि आवश्यक प्रचार अझै नभएको उनको छ। ‘मुलुकका अन्य निकुञ्ज छेउछाउबाट यहाँ अवलोकनका लागि आउनेहरु बास यही बस्छन्’, रानाले भने, ‘गतवर्ष मात्रै तीन हजारको हाराहारीमा पाहुनाहरु आएको तथ्याङ्क छ।’

उनले आठ वटा घरमा सञ्चालित होमस्टेमा सञ्चालकहरुले प्रतिघर वार्षिक रु डेढदेखि दुई लाखसम्म आम्दानी गर्ने गरेको जानकारी दिए । निकुञ्जका साथै होमस्टेमा बास बस्ने पर्यटकलाई दोधारा चादँनी झोलुङ्गे पुल र पिपरियामा रहेको हात्तीसारमा हात्ती अवलोकनका लागि पनि दूरीका हिसाबले नजिक पर्छ ।

‘यहाँ हिउँदको समय र फागुनदेखि जेठसम्म पर्यटकहरु बासका लागि धेरै आउँछन्’, अध्यक्ष रानाले भने, ‘यहाँ राना थारू परिकारदेखि पहिरन र सांस्कृतिक कार्यक्रममा रमाउने गर्छन्।’ यहाँ गत साउनयता दुई सयभन्दा बढी पर्यटकले बास बसेको उहाँको भनाइ छ। रानाका अनुसार छिटपुट रुपमा होमस्टे सञ्चालनमा दातृ निकायले सहयोग गर्दै आएका छन्।

‘दश वर्षअघि होमस्टे सुरु गर्दा पनि दाताहरुबाट सहयोग मिलेको थियो’, उनले भने, ‘यहाँको थारू नृत्यहरुको माग धेरै कार्यक्रममा अन्त हुनेगर्छ।’ सुलभ बसाइ हुने भएकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने प्रायः पर्यटक होमस्टेमै बास बस्ने गरेको विगतझै अहिले पनि पर्यटक आवागमनमा कमी आएको छ । यहाँ बासका लागि आउने पर्यटकले स्थानीय उत्पादनको स्वादसमेत लिन पाउँछन्।

भीमदत्त नगरपालिकाको नयाँ कटानसँगै कृष्णपुरको वाणी र शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा समेत होमस्टे सञ्चालमा छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका सचिव राहुल भट्टले जिल्लामा आउने पर्यटकहरुका लागि होमस्टेहरु सहज र उपयोगी भएको बताए ।

‘पर्यटकमैत्री प्याकेजहरु सञ्चालन गरेर जिल्लाका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा निजी क्षेत्रले पनि प्रयास गरिरहेको छ’, उनले भने, ‘यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा उद्योग वाणिज्य सङ्घ सधैं अग्रसर रहँदै आएको छ।’ उनले होमस्टे वृद्धि तथा सञ्चालनमा निजी क्षेत्रको सहकार्य पनि जरुरी रहेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?