+
+
Shares

बजारमा स्वदेशी सुन्तला भित्रिएसँगै आउन छाड्यो भारतीय

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बजारमा नेपाली सुन्तलाको सिजन सुरु भइसकेकाले लमजुङ, स्याङ्जा र गोरखाबाट धमाधम सुन्तला भित्रिन थालेको छ।
  • नेपाल फलफूल थोक व्यवसायी महासंघका अध्यक्ष अमर बानियाँले भने, 'अहिले नेपाली सुन्तला बजारमा भित्रिसकेको छ' र भारतीय सुन्तला नआउने बताए।
  • कालीमाटी बजारमा नेपाली सुन्तलाको थोक मूल्य ८० देखि १०० रुपैयाँ र खुद्रा मूल्य १५० देखि १७० रुपैयाँसम्म कायम छ।

२७ कात्तिक, काठमाडौं । बजारमा नेपाली सुन्तला भित्रिन थालेको छ । नेपाली सुन्तलाको सिजन सुरु भइसकेकाले बजारमा विभिन्न जिल्लाहरूबाट धमाधम सुन्तला भित्रिन थालेको व्यवसायीहरू बताउँछन् ।

मंसिर लागेपछि बजारमा अझै ठूलो परिमाणमा सुन्तला भित्रिन्छ । नेपाल फलफूल थोक व्यवसायी महासंघका अध्यक्ष अमर बानियाँका अनुसार अहिले भारतीय सुन्तला आयात भएको छैन । ‘थोरै मात्रामा आएका दुई–चार टन भारतीय सुन्तला पनि बिक्री हुन छोडेको छ,’ अध्यक्ष बानियाँले भने, ‘अहिले नेपाली सुन्तला बजारमा भित्रिसकेको छ ।’

जबसम्म बजारमा नेपाली सुन्तला उपलब्ध हुन्छ, तबसम्म भारतीय सुन्तला नआउने उनको भनाइ छ । काठमाडौंमा अहिले नेपाली सुन्तला विशेषगरी लमजुङ, स्याङ्जा र गोरखा तथा अन्य क्षेत्रबाट आइरहेको छ । अध्यक्ष बानियाँका अनुसार हाल कालीमाटी फलफूल तथा तरकारी बजारमा स्वदेशी सुन्तला आपूर्ति भइरहेको छ । मंसिर लागेपछि बल्खुमा पनि आउन थाल्नेछ ।

कालीमाटी बजारमा आज बिहीबार स्वदेशी सुन्तलाको भाउ प्रतिकिलो थोकमा न्यूनतम ८० देखि अधिकतम १ सय र औसत ९० रुपैयाँ कायम छ । यस्तै खुद्रामा भने व्यापारीहरूले १ सय ५० देखि १ सय ७० रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् ।

हिजो बुधबार कालीमाटी बजारमा भारतीय सुन्तलाको मूल्य न्यूनतम १ सयदेखि अधिकतम १२० रुपैयाँ थियो । तर, आज बिहीबार भने भारतीय सुन्तलाको मूल्य तथ्यांकमै समावेश छैन ।

‘हाल कालीमाटी बजारमा दैनिक १० देखि १५ वटा साना गाडीमा नेपाली सुन्तला आइरहेको छ,’ बानियाँले भने, ‘यी सुन्तला हरियो नै छन्, पूर्ण रूपमा पाकेका छैनन्, केही अमिलो भए पनि सर्वसाधारणले रुचाउन थालेका छन् ।’

मंसिर महिनाबाट बल्खुमा दैनिक करिब २० गाडी सुन्तला भित्रिने उनले बताए । यसले दैनिक २ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अध्यक्ष बानियाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?