News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सले दोस्रो सिजनका लागि टिमको लोगो र ब्रान्डिङ चेन्ज गर्दै बलियो बनेर बउने संकेत गरेको छ । जिम्मी निशमलाई अनुबन्ध गरेपछि पोखरा सन्तुलित देखिएको छ ।
- पोखराले राष्ट्रिय टिमका कुशल भुर्तेलसहित ७ खेलाडी रिटेन गरी विदेशी खेलाडीमा बार्बाडोसका रेमोन रेइफरलाई निरन्तरता दिएको छ ।
- पहिलो सिजन पोखरा एभेन्जर्सले ८ टोलीमध्ये सातौं स्थान हासिल गरेको थियो र दोस्रो सिजनका लागि मुख्य प्रशिक्षक राजिव कुमारलाई निरन्तरता दिएको छ।
२७ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्स भन्ने बित्तिकै सबैको दिमागमा नेपाल प्रिमियर लिग (एनपीएल) को महँगो टोली भन्ने आउँछ ।
पोखरा एभेन्जर्सले सन् २०२२ मा क्यानकै आयोजनामा भएको नेपाल टी-२० लिग पनि खेलेको थियो । त्यसपछि एनपीएलको पहिलो सिजनमा पोखरा सबैभन्दा महँगो टोली बन्यो ।
एनपीएलकै सबैभन्दा महँगो टोली पोखरा फ्रेन्चाइज टिम लिनकै लागि ३ करोड ५७ लाख खर्च गरिएको थियो । पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीले क्रिकेटलाई उद्योगको रुपमा विकास गर्न र ग्रासरुटबाटै क्रिकेट विकासमा योगदान दिनका लागि पोखरा एभेन्जर्सको टिम बनाएर एनपीएलमा पनि सहभागि भएको बताएका थिए ।
पहिलो संस्करण राम्रो टिम बनाएपनि अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको पोखरा एभेन्जर्सले दोस्रो सिजनका लागि टिमको लोगो देखि लिएर हरेक कुरामा ब्रान्डिङ गरेको छ । पोखराले एनपीएल अघि क्रिकेट र संगितलाई जोड्न पोखरा रंगशालमा नेपथ्यको कन्सर्ट समेत आयोजना गरेको थियो ।
यसले एनपीएलको महँगो टोली पोखराको चर्चा अझ बढाएको छ । पोखरा आईपीएलको अनुभव भएको प्रशिक्षकहरुलाई पहिलो सिजन अनुबन्ध गरेको थियो ।
पोखराले फिल्डिङका बादशाह जोन्टी रोड्सलाई मेन्टर बनाएको थियो । उनी नेपाल आएर पोखरा समेत पुगे अनि काठमाडौंमा भएको जर्सी लन्चमा सहभागि भएर फर्किएका थिए ।

यस्तै चेन्नई सुपर किङ्सको सहायक तथा फिल्डिङ प्रशिक्षक रहेका राजीव कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । पहिलो सिजन पारिवारिक कारणले राजिव बीचमा भारत फर्कनु परेको थियो । दोस्रो संस्करण पनि राजीव कुमारलाई नै निरन्तरता दिएको जनाएको छ । उनले घरेलु प्रशिक्षक रिजन प्रजुले साथ दिनेछन् ।
पोखरामा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की खेलाडी छन् । भुर्तेलसहित पोखराले पहिलो सिजनबाट ७ खेलाडी रिटेन गरेको छ । भुर्तेलसँगै दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, विपिन खची, किरण ठगुन्ना र तृत राज दासलाई पोखराले दोस्रो सिजनका लागि रिटेन गरेको हो ।
यस्तै अक्सनमा पोखराले स्थानिय खेलाडी प्राथमिकता दिएको छ । पोखराले युवा ब्याटर अर्जुन कुमालसहित सन्दिप क्षेत्री कृष्ण पौडेललाई अभिषेक तिवारीलाई अक्सनबाट अनुबन्ध गरेको छ ।
राष्ट्रिय टिमका खेलाडी बाहेक पोखराको टोली एनपीएलअघि तयारीका लागि भारत गएको छ । मुख्य प्रशिक्षक राजिव कुमार पनि उतै टिमसँग जोडिएका छन् ।
पहिलो सिजन नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा पोखरा विदेशी खेलाडीमा भर पर्नुपरेको र यस सिजन डोमेस्टिक खेलाडीमा मुख्य प्राथमिकतामा राख्दै तयारी र प्रशिक्षण गरेको प्रशिक्षक रिजन प्रजुले जानकारी दिए ।
यस्तै पोखराले लिग सुरु हुनु तीन दिन अघि मात्रै जिम्मी निशमलाई अनुबन्ध गर्दै सबैलाई सरप्राइज दिएको छ । पहिलो सिजन जनकपुर बोल्ट्सबाट खेल्दै उपाधि जितेका निशम दोस्रो सिजन पोखरा एभेन्जर्सको जर्सीमा देखिने भएका छन् । त्यसअघि पोखराले इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेइट तथा बार्बाडोसका रेमन रेइफरलाई अनुबन्ध गरेको थियो ।
निशम अुनबन्धपछि सन्तुलित पोखरा, रेइफरको निरन्तरता
विदेशी खेलाडी अनुबन्धमा पोखरा अन्य टिमभन्दा सुस्त देखिएको थियो । लिगको नजिक आइसक्दा पनि पोखराले जम्मा तीन मात्र विदेशी खेलाडी अनुबन्ध गरेको थियो । तर टेष्ट खेलाडी अनुबन्ध गर्न पाउने अवसर पाएको पोखरा त्यसको पर्खाईमा थियो ।
सुरुवाती तीन विदेशी अनुबन्ध गर्दा खासै उत्साह नभएपनि पोखराले नीशमलाई अनुबन्ध गर्दै समर्थकहरुलाई उत्साह दिएको छ । यो मुभले टिममा पनि उत्साह बढेको छ । पहिलो सिजनको च्याम्पियन प्लेअर भित्र्याएपछि अब पोखराको टिमको रुप नै फेरिएको छ ।

निशमको आगमनले टिमको सन्तुलत देखि ब्याटिङ बलिङ दुवैमा फाइदा पुग्नेछ । पहिलो सिजनमा उनले जनकपुरका लागि अलराउण्ड प्रदर्शन गर्दै त्यो देखाइसकेका छन् ।
यस्तै पोखराले बार्बाडोसका अलराउण्डर रेमोन रेइफरलाई पनि दोस्रो सिजनमा निरन्तरता दिएको छ । बार्बाडोसका अलराउण्डर रेइफरले पहिलो सिजन भएको एक मात्र सुपर ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै पोखरालाई जिताएका थिए । उनी लोअर अर्डरमा ब्याटिङ समेत गर्न सक्छन् । पहिलो सिजन उनले अलराउण्ड प्रदर्शन गरेका थिए ।
अहिलेसम्म पोखराले विदेशी खेलाडीमा रेइफरसहित इंग्लिस विकेटकिपर एडम रोसिङगटन र इंग्ल्याण्डकै बलिङ अलराउण्डर डान डौटवेइटलाई अनुबन्ध गरिसकेको छ । पोखराले अझै दुई खेलाडी अनुबन्ध गर्न बाँकी छ ।
पोखराले टप अर्डरमा इंग्लिस विकेटकिपर ब्याटर रोसिङटननलाई अनुबन्ध गरेर बलियो बनाएको छ । यस्तै निशम, रेइफर र डौथवेइट अनुबन्धपछि पोखराको लोअर अर्डर पनि राम्रो देखिएको छ । निशमले आवश्कता अनुसार मिडल अर्डरमा पनि ब्याटिङ गर्न सक्छन् ।
कप्तान कुशल भुर्तेलसँगै दिनेश खरेल, रोसिङगटन हुँदा टप अर्डर सन्तुलित छ । यस्तै अक्सनबाट लिएको युवा ब्याटर अर्जुन कुमाल पनि राम्रो विकल्प बन्न सक्छन् । पहिलो सिजन सुदूरपश्चिममा रहेका अर्जुनले खेल्न पाएका थिएनन् । गण्डकी प्रदेशबाटै घरेलु क्रिकेट खेल्दै आएका अर्जुन यस पटक पोखराको लागि राम्रो विकल्प बन्न सक्छन् ।

यस बाहेक रिटेन गरिएका तृतराज दास र किरण ठगुन्ना मिडल अर्डर र लोअर अर्डरमा खेल्छन् । अक्सनबाट अनुबन्ध भएका नेपाल यू१९ टिमबाट खेलिसकेका युवा खेलाडी अभिषेक तिवारी पनि विकल्पमा छन् ।
रिटेन गरिएका स्पीनरद्वय सागर ढकाल र विपिन कार्कीसँगै मिडियम पेसर आकाश चन्द बलिङमा छन् । रेइफरसहित पहिलो सिजन पोखराबाट खेलेका ८ खेलाडी दोस्रो सिजन पनि टिममै हुँदा टिमको माहोल बुझेका छन् ।
अब पोखराले दुई विदेशी अनुबन्ध गर्न बाँकी छ । चार विदेशी खेलाडी अनुबन्ध पछि पोखराको टिम सन्तुलित बनेको छ र टिम कम्बिनेसन पनि लगभग तय भएको छ । अब पोखराले यदी विदेशी ब्याटर अनुबन्ध गरेमा कम्बिनेसन केही फेरबदल हुन सक्छ ।
पहिलो सिजनको प्रदर्शन
पहिलो सिजन पोखरा एभेन्जर्स ८ टोलीमध्ये सातौं स्थानमा रहेको थियो । लिग चरणमा ७ मध्ये दुई खेल मात्र जितेको पोखरा ५ खेलमा पराजित भएको थियो ।
पहिलो सिजन पोखराको एनपीएल यात्रा उतारचढाव रह्यो । कुनै खेलमा १० विकेटको जित निकालेको पोखराले त्यो लय कायम राख्न सकेन ।
पोखराको दुवै जित चर्चित थियो । लुम्बिनी लायन्सले १० विकेटले पराजित गरेको थियो । त्यस खेलमा पोखराका आन्द्रेस गौसले एनपीएलकै पहिलो शतक प्रहार गरेका थिए ।
यस्तै पोखराको दोस्रो जित सुपर ओभरमा सम्भव भएको थियो । पोखरा विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो । जुन एनपीएल इतिहासमा पहिलो सुपर ओभर खेल थियो भने सुपर ओभरमा जित्ने पहिलो टोली पोखरा एभेन्जर्स थियो ।
यस बाहेक चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोएल्ससँग पोखरा पराजित भयो । सुदूरपश्चिमसँग पोखरा ५ रनको झिनो अन्तरले पराजित भएको थियो ।
पोखराका लागि पहिलो सिजन कुनै पनि खेलाडी चम्कन सकेनन् । खेलाडीको प्रदर्शन औषत नै रह्यो । पोखराका लागि आन्दरे गौसले सर्वाधिक २२४ रन बनाए । उनले एकै खेलमा अविजित १०४ रन बनाएका थिए । सर्वाधिक रन बनाउनेमा उनी आठौं स्थानमा रहे ।
यस्तै दिनेश खरेलले १६२ र रेमन रेइफरले १४० रन बनाए । कप्तान तथा मार्की कुशल भुर्तेलले भने जम्मा ५४ रन बनाए । त्यसमा उनको व्यक्तिगत उच्च स्कोर ३१ थियो ।
यसैगरी बलिङमा पोखराका लागि विपिन खत्रीले सर्वाधिक ९ विकेट लिँदा कुशल भुर्तेल, सागर ढकाल र रेइफरले समान ५ विकेट लिएका थिए ।
पोखरा एभेन्जर्स टिम
रिटेन खेलाडी : कुशल भुर्तेल, दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, तृत राज दास, विपिन खत्री, किरण ठगुन्ना
अक्सनमा अनुबन्ध खेलाडी : अर्जुन कुमाल, सन्दिप क्षेत्री, कृष्ण पौडेल, अभिषेक तिवारी
विदेशी खेलाडी : एडम रोसिङ्गटोन, रेमन रेइफर, डान डौथवेइट, जिम्मी निशम
मुख्य प्रशिक्षक : राजिव कुमार
सहायक प्रशिक्षक : रिजन प्रजु
प्रतिक्रिया 4