News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न सिंहदरबारमा सञ्चालक समिति र व्यवस्थापनलाई ताकेता गरेकी छन्।
- उनले इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्तो बेथिति सहन नसकिने चेतावनी दिएकी छन्।
- बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र निगमका अध्यक्ष विक्रम राई उपस्थित थिए।
२७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मर्मतका लागि इजरायल पठाइएको नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न ताकेता गरेकी छन् ।
निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले आफ्नो इन्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने चेतावनी दिएकी हुन् ।
‘उता आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ । यता भाडा बढेको बढ्यै छ। यस्तो पनि हुन्छ ?’ उनले भनिन् ।
‘सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम हुन्छ, जसरी पनि नतिजा दिनुपर्छ,’ उनले भनिन्, ‘कुनै प्रक्रियागत बहाना नगरौँ । यो जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेड गर्ने अवस्था आउन दिनुहुँदैन ।’
देश, जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि प्रधानमन्त्री कार्कीको आग्रह छ ।
उनले भनिन् ‘मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन । गलत काम गर्दा मात्र डराउनुहोस् ।’
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, निगमका अध्यक्ष विक्रम राई, निमित्त महाप्रबन्धक जनकराज कालाखेती लगायतको उपस्थिति थियो ।
नेपाल वायु सेवा निगमको ए–३२० जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । त्यसका बदलाव मर्मत गर्ने कम्पनीबाटै अर्को इन्जिन भाडामा झिकाएर निगमले विमान सञ्चालन गर्दै आएको थियो ।
इन्जिनको भाडा समेत नतिरेको र मर्मत भइसकेको इन्जिन नलगेको भन्दै इजरायली कम्पनीले समेत निगमलाई ताकेता गरेको थियो ।
प्रतिक्रिया 4