News Summary
Generated by OK AI. Editorially reviewed.- रामभक्त नामका बाहुन बाजे कंगालकोट नगरमा भोजभतेरको जिम्मा लिएर खाना पकाउने काम गर्थे तर उनी घोटाला गरेर नमिठो खाना पकाउँथे।
- रामभक्तले आफूलाई 'राजभान्से' प्रचार गराएर नगरवासीलाई बेवकूफ बनाउँदै भोजभतेरमा गुणस्तरहीन खाना खुवाउँथे र विरोध गर्नेहरूलाई दमन गर्थे।
- शेखर र अन्यले रामभक्तलाई भोजभतेर नदिँदा उनले भान्साघर भत्काएपछि उनको साख घट्यो र अन्ततः नगरले उनलाई भोजभतेरको जिम्मा दिन छाड्यो।
कंगालकोट नामको एउटा सानो नगरीमा एकजना रामभक्त नामका बाहुन बाजे बस्थे । खाना पकाउनु उनको पेशा थियो तर उनी मुखैमा हाल्न नसकिने नमिठो पकाउँथे । यसको कारण थियो-उनलाई नुनमा पनि घोटाला गर्नुपर्थ्यो । तेलमा खेल र झेल गर्नुपर्थ्यो ।
मसलामा कमिशनको कला नदेखाए असहज लाग्थ्यो । इन्धनबाट आफू र आफ्ना भुसतिघ्रेका लागि धनको जोहो गर्नैपर्ने वाध्यता थियो । खाद्यान्न, फलफूल तथा तरकारीको त झन् कुरै गर्नु परेन । अन्य मेवा, मिष्ठान्न र पकवान्नमा त झन् किन छोड्थे र ! फलत: उनले पकाएको खानेकुरा कहिले अलिनो, कहिले विलिनो, कहिले काँचोकचिलो हुन्थ्यो। अलिक खान हुने पकाए भने आधा मान्छेले खाइसकेपछि खानेकुरा नै सिद्धिन्थ्यो । बाँकीलाई पुग्दैनथ्यो।
तर, दुनियाँभरमा आफू जत्तिको मिठो र गुणस्तरीय खाना पकाउने कोही छैन भनेर गफ दिन्थे । आफ्नो पाककला देखेर दुनियाँ चकित छ पनि भन्थे । यो विश्व ब्रम्हाण्डले सबैभन्दा स्वादिष्ट भोजन पकाउने भान्सेको रूपमा आफूलाई चिन्ने भन्दै आत्मविज्ञापन गर्थे । आत्मरति लिन्थे ।आत्मतारीफ गर्थे । सोझासाझा नगरवासीले पत्याइ पनि दिन्थे।
उनको वरिपरि परिक्रमा गर्ने लठैतहरूले त ताली नै ठोकिदिन्थे । जयजयकार गरिदिन्थे । उनीबाट असीमित लाभ लिने लोभीपापीहरूले उनको जयजयकार गर्नु खासै अनौठो पनि भएन । बाजे एकदमै मिठो पकाउँछन् भनेर तिनले बारम्बार चर्चा गरिदिरहन्थे । फुर्क्याइरहन्थे । जयजयकार गर्थे । त्यो उनीहरूको ड्यूटी नै थियो । ड्यूटी तोक्ने क्रममै एक दिन रामभक्त बाजेले भने, ‘अब यतिले मात्र मात्र हुँदैन केटा हो । मलाई राजभान्से भनेर प्रचार-प्रसार गर्न पनि थालिहाल ।´
बाजेको आदेश मुताबिक केटाहरू खटिए । त्यो स्वभाविक पनि थियो किनभने केटाहरूले रामभक्त बाजेको `सिता´ खाएपछि उनको `गीता´ गाउनु अनौठो थिएन । त्यसैले उनीहरूले नगरभरी ‘राजभान्से’ भनेर पोस्टर टाँसे । माइक फुक्दै हिंडे ।
उनी नगरवासीलाई यसैगरी बेबकूफ बनाइरहन्थे । नगरवासीको एउटा हिस्सा यसैगरी बेबकूफ बनिरहन्थ्यो । यसरी ठग्न सकेकोमा बाजे एकदमै प्रफुल्ल हुन्थे । गौरवान्वित हुन्थे । फलत: उनको पाकशालामा खानेकुरा कम, गफ र खुराफातका मिठामिठा परिकारहरू पाक्थे । गफैको बलमा, खुराफातकै सहारामा सोझासाझा दुनियाँलाई उल्लू बनाउँदै नगरभरीको भोजभतेरको भान्साको जिम्मा लिन सफल थिए उनी।
विवाह, पास्नी, ब्रतबन्ध आदिका भोजभतेरको जिम्मा उनैलाई दिनुपर्थ्यो । नत्र बेपत्तै रिसाउँथे । गर्न हुने, नहुने सबै हर्कत गर्थे । त्यो क्षमता उनीसँग धेरै समयसम्म रह्यो । यहाँसम्म कि बिहेको भोजभतेर रैछ भने त बिहे नै पनि भाँडिदिन्थे । बिहे भाँड्नमा त उनले कीर्तिमान नै कायम गरेका थिए । उनलाई भोजभतेरको जिम्मा दिँदा पनि नगरवासीलाई दु:ख, नदिँदा पनि दु:ख । यो थियो नगरवासीको नियति । जे गरेपनि दु:खै पाउने भएपछि धेरैले रामभक्त बाजेलाई जिम्मा दिएरै दु:ख पाउने बाटो रोज्दथे ।
जिम्मा लिएको त्यही भोजको खानपिनमा चुहावट, मिसावट, रोकावट आदि अनेक-अनेक कृत्य गरेर उनले आफ्ना समर्थक, भक्तहरू पालेका थिए । चाहेका भए रामभक्तले मिठो खुवाएरै दुनियाँलाई आफ्नो काबुमा राख्न सक्थे । उनले पकाएको खानेकुराको बास्नाले नगर नै मगमग हुने सम्भावना थियो । तर यो हुन पाएन । किनभने उनलाई कर्ममा कम र गफमा ज्यादा रुचि थियो । खाना पकाउने कलामा कम घोटालामा ज्यादा विश्वास थियो । उनको घोटाला र गफकारिताले पूरै नगर नै ह्वास्सै गन्हाएको थियो । वरपरका अरू नगरमा पनि त्यो दुर्गन्ध फैलिन थालिसकेको थियो।
उनले नजानेर, नसकेर अथवा पाककला नभएर नमिठो पकाएका थिएनन् । मिठो पकाउन जान्दथे तर पकाउँदैनथे । मिठो पकाउँदा एक त मेहनत ज्यादा गर्नुपर्थ्यो । पसिना बगाउनुपर्थ्यो । दोस्रो, भान्साभित्रको उनको गोरखधन्दा गोलखाडी जान्थ्यो । गोरखधन्दा चौपट भएपछि आसेपासे भड्किन्थे । भुसतिघ्रे र भक्तहरू भोकभोकै पर्थे । खान पाउञ्जेल रामभक्तको जयजयकार गर्ने तमाम लठैतहरू खान नपाएपछि आफूले बोकेको लाठो रामभक्ततिर नै उजाउने भय पनि थियो। यसो हुँदा ‘राजभान्से’ को हैकम गुम्थ्यो ।
त्यसैले, भोजभतेरको किनमेलदेखि खानपिन सम्पूर्ण प्रक्रियासम्मै घोटाला गर्नु रामभक्त बाजेको नसैर्गिक हक जस्तै थियो । न्यून गुणस्तरीय सरजाम प्रयोग गर्नुलाई उनी आफ्नो मौलिक अधिकार ठान्थे । मौलिक अधिकार ठानेरै हुनुपर्छ उनी आफूले घोटाला नगरेकोमा बडो स्पष्ट थिए । उनकासामु कसैले ‘तपाइँले घोटाला गर्नुभो बाजे’ भन्यो भने रिसले चुर हुन्थे । आमा, बाउ, श्रीमती, यहाँसम्म कि कलिला लालाबाला समेतको कसम खान्थे । होइन कि झैं पार्थे । किनभने जेलाई दुनियाँले घोटाला भन्थ्यो त्यो उनको नजरमा आफूले गर्दाको हदसम्म पुण्य कर्म थियो ।
यति धेरै उपक्रम गर्दा पनि कसैले नपत्याएर फेरि प्रश्न उठायो भने त्यसको सातो खान्थे । आफ्ना भुसतिघ्रे लगाएर हुर्मत लिन्थे । ‘मर्मत’ गराउँथे । उनका भक्त र लठैतले त प्रश्न उठाउने कुरै थिएन । यसरी उनको भान्सामा कसैले खानेकुराको गुणस्तरबारे प्रश्न उठायो भने त्यो व्यक्ति रामभक्त बाजे र उनका चेला चपेटाहरूको सबैभन्दा ठूलो दुश्मन हुन्थ्यो।
यत्तिकैमा नगरमा जसवीर साहूको छोराको बिहे आयो । सो बिहेको भोजमा जसवीरले रामभक्तलाई भान्से नराख्ने निधो गरे । यो कुरा थाहा पाएपछि रामभक्त निक्कै मुर्मुरिए । आफ्ना चाटुकारहरूको भेला गराएर त्यो भोजको जिम्मा आफैंले पाउन के-के तिकड्म गर्न सकिन्छ त्यस विषयमा छलफल गरे । छलफलमा पहिला बिहे भाँडिदिने धम्की दिने, त्यतिले नमाने साँच्ची नै भाँडिदिने निर्णय गरे । बिहे भाँड्नमा उनको विचित्रको कला थियो । अघिल्लो पटक पाण्डेजीले यस्तै जिम्मेवारी नदिंदा उनका छोराको बिहे भाँडेका थिए । केटालाई भिरिंगी लागेको छ भनेर बिहेको अघिल्लो दिन केटीको घरमा हल्ला फिजाइदिएका थिए । बिहे भाँडिने धम्की सुनेपछि जसवीर उनै पाण्डेजी सम्झेर डराए । अन्ततोगत्वा रामभक्त बाजेलाई नै भान्साको जिम्मेवारी दिन बाध्य भए ।
जसवीरका छोराको बिहेमा पनि उनको भान्सेगिरी राम्रै चल्यो । खानै मुश्किल पर्ने नमिठो गुणस्तरहीन खानालाई पनि उनका आसेपासेहरूले `राजभान्सेले पकाएको खाना आहा ! कत्ति मिठो !´ भन्दै खाए । खुवाए । जसले नमिठो भन्यो तीनलाई मुक्का खुवाए । जसोतसो जसवीरको छोराको बिहे भोज पनि सकियो । अब नजिकै आउँदैथ्यो शेखरको छोरीको बिहे । रामभक्तको चर्तिकला देखेर वाक्क भएका शेखरले बरू बिहे भाँडिए भाँडियोस् तर रामभक्तलाई भान्से नलाउने अडान लिए । रामभक्तको आक्रोश चुलियो । उनी सरासर शेखरकहाँ गए र बिहे भाँडेदिने धम्की दिए । शेखर डराएनन्।
उनले ठाडै भने- भाँडे भाँड तर म तिमलाई भोजभतेरको जिम्मा दिन्न बाजे ।
शेखरले भोजको जिम्मा अर्कै भान्सेलाई दिए । भोलिपल्ट रामभक्त बाजेले त्यो अर्को भान्सेलाई भेटेर थर्काउनुसम्म थर्काए । भने- मैले पकाउन पाइनँ भने चुल्होसुल्हो सबै भत्काइदिन्छु। र, तिम्रा बंगारा पनि भत्काइदिन्छु ।
बंगारा त भत्काए भत्काएनन् थाहा भएन तर चुल्हो चाहिँ नामोनिशान नरहने गरी भत्काइदिए । भान्साघर पनि भत्काइदिए । भत्केको भान्साघर र चुल्हो शेखरले पुनर्निर्माण गरे तर रामभक्तले फेरि पनि भत्काइदिए । दुई-दुई पटक भान्साघर भत्काएपछि बाजेलाई निकै आत्मगौरव प्राप्त भएछ क्यारे ! आफूले आफूलाई राजभान्से मात्र नभएर ‘महान् राजभान्से’ करार गरे । त्यसको प्रचार-प्रसारमा केटाहरू खटाइहाले। यो भान्साघर भत्काएपछि उनको साख बेपत्तै गिरिरहेको थियो । तर आफ्नो साख गिरेको उनलाई रत्तिभर पर्वाह थिएन ।
रामभक्तको जति साख गिरे पनि आफन्त र नातागोताले त उनैलाई जिम्मा दिन्थे । यत्तिकैमा उनका एक धनाढ्य आफन्तको छोराको ब्रतबन्धको भव्य भोजको जिम्मा रामभक्तले पाए । त्यो भोजमा पनि अरू भोजमा जस्तै भयो । नानीदेखि लागेको बानी आफन्त भएकै भरमा कसैले किन छाड्थ्यो र ! रामभक्तले पनि छाडेनन् ।अरू भोजमा जे-जे हुन्थ्यो त्यो भोजमा पनि सबै दोहोरियो ।
यो कुरा नौजवान केटाकेटीहरूले पनि टड्कारै देखे । तिनले भोज खानै नसकेर ‘कस्तो नमिठो पकाएको ?’ भनेर रामभक्तलाई प्रश्न गरे । र्याखर्याख्ति पारे । उनको पहिलादेखिकै घोटालाका फेहरिस्त सुनाउन थाले । हिसाबकिताब माग्न थाले । यो सुनिरहँदा रामभक्तको रिसले सीमा नाघ्यो । सही नसक्नु भो। ‘तिमेरू ठेट्नाले मलाई औंलो ठड्याउने ?’ भन्दै प्रश्न उठाउने सबै केटाकेटीलाई एक-एक गर्दै टाउको फुट्नेगरी हिर्काए । दर्जनौं केटाकेटी ठाउँको-ठाउँ ढले । होहल्ला भो। भोजस्थल रणमैदानमा परिणत भो । खानेकुरा सबै पोखियो । खेर गयो ।
अलि शान्त भएपछि भोजका आयोजक आफन्तले रामभक्तलाई सोधे- ‘त्यसो किन गरेको?’
रामभक्तले उल्टै थर्काउँदै भने- ‘राजाभान्सेले पकाएको खानालाई ती छिचिमिराहरूले नमिठो भन्ने, घोटाला गर्यो भन्ने, मसँग हिसाबकिताब माग्ने ?’
‘मलाई जे भनेपनि सहन्थें तर मैले पकाएको खानालाई जेपायो त्यही भनेको म सहन सक्दिनँ’ उनी कड्किए ।
रामभक्तको तर्क सुनेर ती आफन्त ट्वाँ परे !
यो घटनापछि उनलाई गाउँमा कसैले पनि भोजभतेरको जिम्मा दिनै छाडे । आफन्तले पनि दिन छाडे । भोजभतेरको जिम्मा पाउन छोडेपछि उनका भक्तहरू पनि एक-एक गर्दै घट्न थाले । एक किसिमले उनी एक्लिन थाले ।
आफ्ना बचेखुचेका र विगतमा उनीबाट अति लाभ लिएका एकाध चाटुकार लिएर उनी नगरभरी नारा लाउँदै हिंडे- `राजभान्से रामभक्त- अमर रहून् ।’
अन्यमा,
ती अति लाभान्वित भक्तहरूले पनि उनलाई छाडे । कंगालकोट नगरमा उनी एक्लै `यो दुनियाँमा म जत्तिको मिठो पकाउने कोही छैन´ भन्दै फलाक्दै हिंड्न थाले । यसपछि जीवनपर्यन्त भान्साबिनाका ‘महान् राजभान्से’ भएर त्यत्तिकै परलोक भए ।
आज पनि कंगालकोट नगरीले रामभक्तलाई सम्झिरहन्छ । कसैले बेपत्तै नमिठो पकायो भने `कस्तो रामभक्तेको जस्तो खाना´ भनेर उनको नाम लिइरहन्छ । यसरी उनी कंगालकोट नगरमा अमर भए ।
प्रतिक्रिया 4