News Summary
Generated by OK AI. Editorially reviewed.- फागुन २१ को चुनावी तयारीमा रास्वपा र काठमाडौंका मेयर बालेन शाहसहितका समूहबीच संवाद जारी छ।
- ऊर्जामन्त्री कुलमान घिसिङले दल दर्ता गरेर अलग्गै बाटो तय गरेका छन्।
- रास्वपा र बालेन शाह समूहबीच पार्टी प्रवेश र चुनावी सहकार्यमा सकारात्मक वार्ता भइरहेको छ।
३० कात्तिक, काठमाडौं । फागुन २१ को चुनावी चाप बढ्दै जाँदा वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकजुट हुने प्रयास स्वरूप रास्वपा र काठमाडौंका मेयर बालेन शाहसहितका समूहको संवाद जारी छ ।
यो संवादको प्रक्रियामा रहेका ऊर्जामन्त्री कुलमान घिसिङले दल दर्ता गरेर आफ्नो बाटो तय गरे पनि अन्य शक्तिहरू मिल्ने कोसिसमा छन् । यसमा मुख्य रूपमा रास्वपा र मेयर शाहको समूह छलफलमा छ ।
तीन पक्ष मिल्ने विषयमा सहमति जुट्न नसकेपछि कुलमानले छुट्टै दल दर्ता गरेका थिए । कुलमानले प्रारम्भमा रास्वपासँग छलफल गरेका थिए । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले र कुलमानबीच संवाद भएको थियो ।
रास्वपा प्रवेश गर्नका लागि कुलमानले पार्टी सभापतिको दाबी गरेका थिए । पार्टी सभापति आफूलाई बनाउनुपर्ने अडानमा कुलमान रहेपछि तत्कालका लागि दुई पक्षीय संवादको ‘च्याप्टर क्लोज’ भएको थियो ।
कुलमान संवादबाट बाहिरिए पनि रास्वपा र बालेन शाहको मिल्ने गरी संवादहरु भने टुटेको छैन । रास्वपामा बालेन प्रवेश गर्ने गरी छलफलहरू भइरहेको संवादमा संलग्न स्रोतले अनलाइनखबरलाई जानकारी गरायो ।
रास्वपामा कुलमान प्रवेश गरेको अवस्थामा बालेनपनि जोडिने केही दिन अघि चर्चामा आएको थियो । साथै, कुलमानलाई रास्वपाको सभापति स्वीकार्न बालेन तयार रहेको प्रचार समेत गरिएको थियो । कुलमान अलग्गै तरिकाले अघि बढेपछि रास्वपा र बालेनको संवादको क्रम भने जारी छ ।
पार्टी एकता, पार्टी प्रवेश, चुनावी सहकार्य लगायतमा अन्य पक्षसँग छलफल गर्न रास्वपाले कार्यदल बनाएको छ ।
उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उच्चस्तरीय संवाद समिति गठन गरिएको छ । साथै, केन्द्रीय सदस्य पुकार बमको नेतृत्वमा जेनजी लगायतसँग छलफल गर्न वार्ता समिति बनाइएको छ ।
स्वर्णिमले रास्वपामा कुलमानलाई प्रवेश गराउन लामो कुराकानी गरेका थिए । पार्टी सभापतिमा आफू नै हुनुपर्ने कुलमानको दाबीसहित दलको नाम, चुनाव चिह्न, केन्द्रीय समितिमा प्राप्त गर्ने प्रतिशत लगायतमा सहमति जुट्न सकेको थिएन ।
दुई पक्षको वार्तामा सहमति जुट्न नसके लगत्तै कुलमानले पूर्वसचिव अनुप कुमार उपाध्यायलाई अध्यक्ष बनाएर उज्यालो नेपाल पार्टी गठन गरे ।
कुलमान आफ्नै तरिकाले अघि बढेपछि रास्वपा र काठमाडौंका मेयर बालेन शाह पक्षबीच वार्ताहरू भइरहेको छ । उज्यालो नेपाल पार्टी दर्ता पछि पनि दुई शक्ति मिल्ने प्रयत्नले संवाद भइरहेको छ । दुई पक्ष मिलाउन सक्रिय स्रोतका अनुसार रास्वपाबाट संवादको नेतृत्व उपसभापति स्वर्णिमले गरेका छन् ।
अर्कोतर्फ बालेन पक्षबाट उनी निकट व्यक्ति कुमार बेन संवादमा संलग्न भइरहेका छन् । स्रोतका अनुसार केही दिन अघि स्वर्णिम र शिशिर खनालसँग कुमार बेनले वार्ता गरेका थिए ।
दुई पक्षको छलफलमा बालेन रास्वपामा प्रवेश गर्ने गरी संवादहरू भइरहेको स्रोतको दाबी छ । संवादमा भएका विषयबारे जानकार स्रोतले भन्यो, ‘वार्ताहरू सकारात्मक भएको छ । सहकार्यका लागि दुबै पक्ष सकारात्मक छन् । अन्तिम निष्कर्षमा पुग्नका लागि वार्ता फेरि पनि हुन्छ ।’
पदीय भूमिका, चुनावी तयारी लगायतका एजेण्डामा चरणबद्ध वार्ता हुने जानकारी गराइएको छ । कुलमानले पार्टी गठन गर्नुअघि भएका छलफलहरूमा रास्वपा सभापति कुलमान हुने गरी बालेन समेत जोडिने चर्चा पार्टीभित्रकै नेताहरूले गरेका थिए ।
बालेन स्वयंले भने सभापति बन्ने आकांक्षा देखाएका छैनन् । जेनजी आन्दोलन पछि बालेन निकटका कुमार बेन रास्वपा सभापति लामिछानेलाई भेट्न नख्खु गएको उक्त दलका एक नेताले दाबी गरे ।
प्रतिक्रिया 4