+
+
Shares

‘बालेन लुकेर बसेजस्तो देखियो, हाम्रो नकारात्मक धारणा छैन’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धरान उपमहानगरका मेयर हर्क साम्पाङको नेतृत्वमा श्रम संस्कृति पार्टी गठन भइसकेको छ र सातवटै प्रदेशमा संगठन विस्तार भइरहेको छ।
  • श्रम संस्कृति पार्टीले ३०–३५ जिल्लामा तदर्थ समिति गठन गरिसकेको छ र प्रवासमा पनि संगठन विस्तार भइरहेको छ।
  • पार्टी अध्यक्ष हर्क साम्पाङले चुनाव लड्ने सम्भावना व्यक्त गर्नुभएको छ तर अन्तिम निर्णय उम्मेदवारी दर्ता बेलामा थाहा हुने बताउनुभयो।

जेनजी आन्दोलनपछि धरान उपमहानगरका मेयर हर्क साम्पाङको नेतृत्वमा श्रम संस्कृति पार्टी गठन भएको छ । यो पार्टीले अहिले पूर्वी पहाडमा आमसभाहरू गरिरहेको छ । यसै सन्दर्भमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईसँग अनलाइनखबरकर्मी हरि अधिकारीले गरेको कुराकानीको सम्पादित ‌अंश :

पार्टी दर्ता भइसकेपछि गतिविधिहरू कसरी अघि बढिरहेका छन् ?

अहिले हाम्रो सातवटै प्रदेशमा संगठन विस्तार भइरहेको छ । ७७ वटा जिल्लामा, पालिका र स्थानीय स्तरमा जहाँ–जहाँ सम्भावना छ, सबै ठाउँमा काम भइरहेको छ ।

संगठन विस्तारमा हामीले पनि पहल गरेका छौँ, र स्व:स्फूर्त रूपमा आउनेहरू पनि धेरै छन् । साना जिल्ला स्तरीय वा नगरस्तरीय कार्यक्रमहरू दिनमा १०–१५ ठाउँमा भइरहेका छन् । अध्यक्षज्यू सहभागी हुनुभएको मोरङको लेटाङ, धरान, इटहरी र पाँचथरमा हो । आज इलामको माङसेबुङमा भयो ।

कतिवटा जिल्लामा पार्टी गठन भयो ?

मोटामोटी ३०–३५ जिल्लामा तदर्थ समिति गठन भइसकेको छ । प्रवासमा पनि संगठन विस्तार भइरहेको छ । नगर कमिटी, वडा कमिटी सबै तीव्र गतिमा गठन भइरहेका छन् ।

नयाँ–नयाँ संगठन बनेकाले वास्तविक तथ्यांक संकलन गर्दैछौँ । तर, अहिले व्यापक विस्तार भएको छ । सातवटै प्रदेशमा हाम्रा अभियन्ताले काम गरिरहेका छन् ।

संघीयता र प्रदेश संरचनाका विषयमा पार्टीको धारणा के छ ?

अहिलेको व्यवस्था भन्दा सुन्दर व्यवस्था कुनै पनि छैन । जनताको अधिकार, जनताको नेता जनताले नै चुन्ने । लोकतान्त्रिक गणतन्त्र नै हो । क्षमता र योग्यताको आधारमा जनताका छोराछोरी नै राष्ट्र प्रमुख बन्नुपर्ने हो । यो व्यवस्थाभन्दा अर्को विकल्प छैन । संघीयता ठीक छ, प्रदेश पनि ठीक छ, तर सुधार गर्नुपर्ने कुराहरू धेरै छन् ।

जेनजी आन्दोलनपछि नयाँ दलहरू खुल्ने ट्रेन्ड चलेको छ। भविष्यमा श्रम संस्कृति पार्टी कसरी अगाडि बढ्छ ? अरू दलहरूसँग सहकार्य गरेर जाने हो कि एक्लै जाने ?

विचार र सिद्धान्त मिल्नेहरूसँग र राष्ट्रको पक्षमा उभिनेहरूसँग एकता र सहकार्य गर्ने पक्षमा हामी छौँ ।

केही गृहकार्य भएका छन् ?
भइरहेका छन् । साना–साना दलहरू थुप्रै प्रवेश गरिरहनुभएको छ। संघसंस्थाहरू पनि आबद्ध छन् ।

कुलमान घिसिङ, रास्वपा र बालेन शाहहरूसँग केही सल्लाह भएको छ ?

विगतमा हामीले कुलमान (घिसिङ) दाइसँग एकताका लागि पहल गरेका थियौँ । उहाँ दल दर्ता गरेर अघि सर्नुभयो । हामी पहिलेदेखि नै सहकार्यमा जानुपर्छ भन्नेमा थियौँ ।

जेन्जी आन्दोलन पछाडि कुलमानज्यूसँग एकपटक बसेका थियौँ । बालेनजीसँग धेरै बस्ने प्रयास गर्यौँ । हाम्रो पार्टी प्रमुखले धेरै पहल गर्नुभयो, तर,उहाँहरू भित्रै लुकेर बसेजस्तो देखिनुभएपछि खासै भेटघाट भएन ।

तथापि, त्यसमा हाम्रो कुनै नकारात्मक धारणा छैन । आउने दिनमा मिल्दै जाने कुरा हो । हामी हिजोदेखि नै काठमाडौंमा बालेनजी, कुलमानजी र वैकल्पिक शक्तिहरूसँग एकीकृत हुनका लागि पहल गर्दै आएका छौँ ।

रास्वपासँगको संवाद केही अगाडि बढेको छ ?

यसबीचमा त भएको छैन, तर पहिले एकपटक भएको थियो । म स्वयं बसेको थिएँ । त्यसमा अध्यक्षज्यू बस्नुभएको थिएन । रास्वपाको सिंगो टिम नभए पनि केही टिमका सदस्यहरूसँग छलफल भएको थियो ।

कुलमान घिसिङसँग कहिले बस्नुभएको थियो ?

जेन्जी आन्दोलन भएको दुई-तीन दिनभित्र बसेका थियौँ ।

त्यसपछि वार्ता हुन सकेको छैन ?

त्यसपछाडि हामी आफ्नो कार्यव्यस्तताले गर्दा अगाडि बढ्न सकेका छैनौँ । हाम्रो दैनिक कार्यक्रम र अभियानले गर्दा वार्ताका लागि समय मिलेको छैन ।

अध्यक्षज्यूले चुनाव लड्ने भन्ने कुरा चाहिँ के हो ?

चुनाव त लड्नु परिहाल्छ नि । लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धात्मक रूपमा आउनु स्वाभाविक हो । धरानको मेयरको कार्यकाल बाँकी नै भए पनि अध्यक्ष स्वयं पनि चुनाव लड्ने लाइनमा हुनुहुन्छ । तर, यसको अन्तिम निर्णय र उम्मेदवारी दर्ता हुने बेलामा मात्रै थाहा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?