News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले राजीनामा दिएका छन् र केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको छ।
- केन्द्रीय समितिको बैठकले अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको छ।
- भदौ २३ को जेनजी आन्दोलनपछि कडरियाले पदबाट राजीनामा घोषणा गरेका थिए र कात्तिक २४ मा कार्यालय फर्किएका थिए।
१ मंसिर, काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले राजीनामा दिएका छन् ।
उनको राजीनामा आजको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको छ । आजको बैठकले अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको छ ।
‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ कडरियाले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै अग्रज तथा सहयोद्धाप्रति म सदैव कृतज्ञ रहनेछु ।’
भदौ २३ को जेनजी आन्दोलनपछि कडरियाले पदबाट राजीनामा घोषणा गरेका थिए । तर एमालेले घर फर्क अभियान घोषणा गरेर रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतलाई भित्राएको दिन कात्तिक २४ गते कडरिया पनि कार्यालय फर्किएका थिए ।
त्यसैदिन कडरियाले वक्तव्य जारी गरेर जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका अरु सबै नेताहरुलाई पनि आ–आफ्नो भूमिकामा फर्कन अपिल गरेका थिए ।
कडरियालाई केही पदाधिकारीले जुलुस सहित केन्द्रीय कार्यालयमा लगेका थिए । र, कार्यालयमै अध्यक्ष कडरियाले सम्बोधन समेत गरेका थिए ।
लगत्तै, महासचिव दीपक धामीले परित्याग गरिसकेको अध्यक्ष पदमा नफर्कन चेतावनी दिँदै वक्तव्य जारी गरेका थिए ।
यो विवाद सतहमा आएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुले केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । सोही अनुसार आज बसेको केन्द्रीय समिति बैठकबाट कडरिया अध्यक्ष पदबाट बिदा भएका छन् र त्यो जिम्मेवारी धामीले सम्हालेका छन् ।
प्रतिक्रिया 4