२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले अघिल्लो सरकारले तयार पारेको संसदीय विशेष छानबिन समितिले तयार पारेको सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गर्न वर्तमान सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार पार्टी सभापति रवि लामिछानेलाई नख्खु कारागारमा भेटेर निस्किएपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
वर्तमान सरकार प्रतिशोधको राजनीति भएकोबारे बुझेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले त्यतिबेला संसदीय छानबिन समितिले बनाएको प्रतिवेदनको ४ सय ४९ नम्बर पाना पुन: पल्टाएर हेर्न पनि सरकारलाई आग्रह गरेका छन् ।
‘रवि लामिछानेलाई नख्खुमै राखेको ४/५ महिना भयो । भैरहवामा त्यस्तो तरिकाले राखियो, त्यो भनेको संसदीय छानबिन रिपोर्टको आधारमा हो,’ वाग्लेले भने, ‘त्यस्तो रिपोर्ट तयार भएको केही घन्टामै क्याबिनेटमा लगेर निर्णय गराइएको थियो । त्यो प्रतिवेदनको पाना नम्बर ४४९ फेरि पढ्न आग्रह गरेका छौं ।’
अहिलेको सरकारले क्याबिनेटबाटै त्यो रिपोर्ट पुर्नविचार गरिदियोस् भन्ने अपेक्षा आफूहरूको रहेको उनले बताए ।
‘सहकारी छानबिन प्रतिवेदनलाई फेरि रिभ्यु गरोस् । त्यसलाई अनुसन्धान फेरि गर्नुपर्ने विन्दुमा कानुनी राय लिओस् । अदालतमा भने हामी इन्टरफेयर गर्दैनौं,’ वाग्लेले भने, ‘क्याबिनेट बैठकबाट पहिलेको सरकारले कुन दुरासय राखेर निर्णय गरेको थियो, त्यसमा पुनर्विचार होस् भन्ने हो ।’
सभापति लामिछानेसँग पार्टी जीवन, राष्ट्रिय जीवन, व्यक्तिगत सुस्वास्थ्य लगायतका विषयमा छलफल भएको उनले बताए ।
मंगलबार दिउँसो सवा ११ देखि पौने २ बजेसम्म उनले सभापति लामिछानेसँग भेटवार्ता गरेका थिए ।
यसैबीच आजै विघटित प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले पनि सभापति लामिछानेसँग भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया 4