News Summary
Generated by OK AI. Editorially reviewed.- सूर्य स्नानले शरीरमा भिटामिन डी उत्पादन गर्छ र रक्तसञ्चार सुधार, रोगप्रतिरोधी क्षमता वृद्धि तथा मानसिक स्वास्थ्यमा लाभ पुर्याउँछ।
सूर्यस्नान, जसलाई आयुर्वेदमा रोगनिवारक माध्यम मानिन्छ । सूर्यस्नानको सोझो अर्थ हो, घाम ताप्नु ।
घाम किन ताप्ने ? त्यसको विधि के हो ? लाभ के हो ?
सूर्य स्नान भनेको शरीरलाई नियन्त्रित रूपमा सूर्यको किरणमा राख्ने प्रक्रिया हो । प्राचीन कालदेखि नै यसलाई शरीरका लागि लाभदायक प्रक्रियाका रूपमा लिइन्छ । पश्चिमी संस्कृतिमा यसलाई ‘सन बाथ’ भन्छन् । समुन्द्रको किनारमा गएर अर्धनग्न भएर घाम ताप्ने गरिन्छ । यही प्रक्रिया हाम्रो संस्कृतिमा ‘सूर्य स्नान’ हो ।
सूर्य स्नान किन यति महत्वपूर्ण छ ?
जब घामको किरण छालामा पर्छ, तब छालामा भएको डिहाइड्रोकोलेस्ट्रोल भन्ने पदार्थले रासायनिक प्रतिक्रिया गरेर भिटामिन डी३ कोलेक्याल्सिफेरोल बनाउँछ । यो प्रक्रिया कलेजो र मिर्गौलामा पूरा भएपछि सक्रिय भिटामिन डी बन्ने प्राकृतिक चिकित्सक प्रतिक्षा पाण्डे बताउँछिन् ।
१५–२० मिनेट घाम ताप्दा गोरो छालाले १० हजारदेखि २० हजार आइयू भिटामिन डी बनाउँछ । सामान्य गहुँगोरो/खैरो छालाले ८ हजारदेखि–१५ हजार आइयू भिटामिन डी बनाउँछ ।
क्याप्सुलमा जम्मा ४०० देखि २ हजार आइयू मात्र भिटामिन हुन्छ । त्यसैले प्रकृतिको क्याप्सुल लाखौँ गुणा शक्तिशाली हुने पाण्डेको भनाइ छ । नेपालमा गरिएका अध्ययनहरू नेपाल मेडिकल कलेज जर्नल २०२१ र काठमाडौँ विश्वविद्यालय मेडिकल जर्नल २०२२ अनुसार काठमाडौँका ८० प्रतिशत मान्छेमा भिटामिन डी को कमी छ ।
विशेष गरी दिनभर अफिसमा बसेर काम गर्नेहरू, महिला, बालबालिका र वृद्धहरूमा भिटामिन डीको कमी देखिन्छ ।
भिटामिन डी कमी हुँदा हड्डी कमजोर ‘ओस्टियोपोरोसिस’, दाँत कमजोर, बारम्बार रुघा लाग्ने, डिप्रेसन, चिडचिडापन, अल्छी लाग्ने, जोर्नी दुख्ने, मधुमेहको जोखिम बढ्ने, मुटुरोग, क्यान्सरको जोखिम बढ्ने डा. पाण्डे बताउँछिन् । ‘भिटामिन डी सानो कुरा जस्तो लाग्छ तर शरीरमा यसको कमी हुँदा अन्य समस्याहरू देखिन्छन्’ पाण्डे भन्छिन्, ‘धेरै मानसिक रोगको जरा नै भिटामिन डी को कमी हुन्छ ।’
प्राकृतिक चिकित्सा र आयुर्वेदमा सूर्य स्नानको महत्त्व
सूर्य स्नान अर्थात् शरीरलाई नियन्त्रित रूपमा सूर्यको किरणमा राख्ने विधिलाई यी दुवै विधामा अत्यन्त महत्त्वपूर्ण उपचारात्मक तथा रोग निवारक साधन मानिन्छ । आयुर्वेदमा सूर्यलाई संसारको औषधि भनिएको छ । सूर्य स्नान स्वास्थ्यका लागि हितकारी हुन्छ भन्ने कुरा सुश्रुत संहितामा भनिएको छ ।
सूर्यको किरणले शरीरका तीनै दोष वात, पित्त, कफलाई सन्तुलनमा ल्याउँछ । बिहानको सूर्य स्नान अत्यन्त लाभदायक मानिने आयुर्वेदिक चिकित्सक शान्ति तिमल्सिना बताउँछिन् ।
प्राकृतिक चिकित्सामा पनि सूर्य स्नानलाई ‘हेलियो थेरापी’ भनिन्छ र यो पाँच तत्त्व चिकित्सामध्ये एक प्रमुख अङ्ग हो । प्राकृतिक चिकित्सकहरूले सूर्य स्नानलाई रोगमुक्त जीवनको आधार मानिने प्राकृतिक चिकित्सक पाण्डेको भनाइ छ ।
पाण्डेका अनुसार भिटामिन डी शरीरमा मिर्गौलाले उत्पादन गर्छ । रगतमा क्याल्सियमको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ जुन हड्डी बलियो बनाउनका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ । घामको किरणले जीवाणुनाशकको काम पनि गर्छ ।
दमको समस्या भएमा यसले लक्षणहरू कम गर्न मद्दत गर्छ । घामको पराबैजनी युभी किरणले जीवाणु मार्छ र कोठाभित्रका एलर्जी गर्ने तत्त्वहरू पनि घटाउने उनले बताइन्।
भिटामिन डी को प्राकृतिक स्रोत सूर्य छालामा युभिबि किरण पर्दा भिटामिन डी संश्लेषण हुन्छ, जसले हड्डी बलियो बनाउँछ, रोगप्रतिरोधी क्षमता बढाउँछ र डिप्रेसन हटाउने आयुर्वेदिक चिकित्सक तिमल्सिनाले बताइन् ।
‘सूर्यको तापले रक्तनली खुकुलो हुदाँ रक्तसञ्चारमा सुधार हुन्छ र रक्तचाप नियन्त्रण हुन्छ, मुटु बलियो हुन्छ’ तिमल्सिना भन्छिन्, ‘सूर्यको किरणले सेरोटोनिन हर्मोन बढाउँछ, जसले तनाव, चिन्ता, डिप्रेसन हटाउँछ ।’
तिमल्सिनाका अनुसार आयुर्वेदमा सूर्यलाई प्राण वायुको स्रोत भनिएको छ । सूर्य स्नानले प्राण तत्त्व ग्रहण गरी शरीरमा ओज, तेज र बल बढ्छ । सूर्य स्नान गर्दा विषाक्त पदार्थ निष्कासन हुन्छ । पसिना मार्फत शरीरका विकार बाहिर निस्कँदा यसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने तिमल्सिना बताउँछिन् ।
सूर्य स्नान गर्ने विधि
बिहान ७ देखि १० बजेसम्म वा साँझ ४ देखि ६ बजेसम्म सूर्य स्नान गर्नु लाभदायक हुन्छ । सूर्य स्नान गर्दा सुरुमा ५–१० मिनेट, बिस्तारै ३०–४५ मिनेटसम्म गर्न सकिन्छ। टाउको छोपेर, खाली खुट्टा जमिनमा रहेर सूर्यस्नान गर्नुपर्छ । सूर्य नमस्कार, प्राणायाम वा शान्तसँ बसेर स्थान गर्नाले लाभ दोब्बर हुन्छ ।
भिटामिन डी का लागि क्याप्सुलभन्दा घाम किन राम्रो ?
भिटामिन डी हाम्रो शरीरका लागि अत्यावश्यक पोषक तत्त्व हो । यो हड्डीको स्वास्थ्य, रोग प्रतिरोधी क्षमता, मुटुको स्वास्थ्य र मानसिक स्वास्थ्यका लागि आवश्यक हुन्छ । बजारमा भिटामिन डीका क्याप्सुल र ट्याब्लेट सजिलै पाइन्छन्, तर त्यस्ता क्याप्सुल भन्दा प्राकृतिक रूपमा सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी कैयौँ गुणा प्रभावकारी र सुरक्षित मानिन्छ ।
प्राकृतिक र पूर्णरूपमा अवशोषित हुन्छ
घामबाट बन्ने भिटामिन डी ठ्याक्कै त्यही रूप हो जुन शरीरले आफैँ बनाउँछ । यो क्याप्सुलमा हुने कृत्रिम डी२ वा डी३ भन्दा धेरै प्रभावकारी रूपमा रगतमा मिसिन्छ र लामो समयसम्म सक्रिय रहन्छ । अध्ययनहरूले देखाएअनुसार घामबाट प्राप्त भिटामिन डीको स्तर क्याप्सुलको तुलनामा २–३ गुणा बढी रहन्छ ।
अतिरिक्त स्वास्थ्य लाभ
घाम लाग्दा शरीरमा नाइट्रिक अक्साइड बन्छ, जसले रक्तचाप कम गर्छ, रक्तनलीलाई स्वस्थ राख्छ र मुटु रोगको जोखिम घटाउँछ । यसबाहेक घामले सेरोटोनिन हर्मोन बढाउँछ, जसले डिप्रेसन र चिन्ता कम गर्छ । क्याप्सुलले यी सब लाभ दिन सक्दैनन् ।
अतिदोष ‘टक्सिसिटी’को जोखिम अत्यन्त कम
क्याप्सुल धेरै खाँदा भिटामिन डीको मात्रा अत्यधिक बढेर किड्नीमा पत्थरी, मुटुको समस्या वा क्याल्सियम असन्तुलन हुन सक्छ । तर घामबाट शरीरले आफैँ आवश्यकता अनुसार भिटामिन डी बनाउँछ र अतिरिक्त बनाउँदैन । अर्थात् शरीरको आफ्नै ‘स्मार्ट कन्ट्रोल सिस्टम’ हुन्छ ।
खर्च शून्य र सधैँ उपलब्ध
घाम त हरेक दिन निःशुल्क उपलब्ध छ । क्याप्सुल किन्न पैसा लाग्छ, गुणस्तरमा शङ्का हुन्छ र म्याद गुज्रने डर पनि हुन्छ ।
हर्मोनको रूपमा काम गर्छ
भिटामिन डी वास्तवमा भिटामिन मात्र होइन, यो एक हर्मोन पनि हो । घामबाट बनेको भिटामिन डीले २००० भन्दा बढी जिनहरूलाई नियन्त्रण गर्छ । क्यान्सर, मधुमेह, अटोइम्युन रोगहरू जस्तैः थाइरोइड, रूमेटोइड आर्थराइटिसबाट बचाउँछ । क्याप्सुलले यति व्यापक प्रभाव पार्न सक्दैन ।
सूर्य स्नानको वैज्ञानिक महत्त्व
न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार, दिउँसो १०–२० मिनेट हात–खुट्टा र अनुहारमा पर्ने सूर्यको प्रकाश पर्याप्त हुन्छ । यसले १० हजार २० हजार अन्तर्राष्ट्रिय एकाइ भिटामिन डी उत्पादन गर्छ ।
द ल्यान्सेटमा सन् २०१४ मा प्रकाशित अध्ययनका अनुसार विश्वका ८०–९० प्रतिशत जनसङ्ख्यामा भिटामिन डीको कमी छ, जसले हाड कमजोर हुने, मधुमेह, क्यान्सर र डिप्रेसनको जोखिम बढाउँछ ।
जर्नल अफ स्टेरोइड बायोकेमिस्ट्री एण्ड मोलिक्युलर बायोलोजीमा सन २०२० मा प्रकाशित एक अध्ययन अनुसार पर्याप्त भिटामिन डी भएका व्यक्तिमा कोभिड–१९ को गम्भीर लक्षण ५० प्रतिशत कम देखिएको उल्लेख छ ।
सूर्यको प्रकाशले मस्तिष्कमा सेरोटोनिन हर्मोन बढाउँछ, जसले मुड राम्रो बनाउँछ र निराशा कम गर्छ । सन् २००२ मा द ल्यान्सेटले गरेको एक अध्ययन अनुसार जाडोमा सूर्यको प्रकाश कम हुँदा मौसमी भावनात्मक विकार हुने दर १० प्रतिशत सम्म पुग्छ । सूर्य स्नान वा प्रकाश उपचारले ६०–८० प्रतिशत बिरामीलाई फाइदा पुग्छ ।
स्लिप मेडिसिन रिभ्यूज २०१९ का अनुसार सूर्यको प्रकाशले मेलाटोनिनको सर्काडियन रिदम नियन्त्रित गर्छ र राम्रो निद्रा लाग्छ । जर्नल अफ इन्भेस्टिगेटिभ डर्माटोलोजीका अनुसार २० मिनेट पराबैजनी किरण (यूभीबी) स्नानले माथिल्लो रक्तचाप (सिस्टोलिक बिपी) ६ मिलिमिटर पारा कम गर्छ ।
ब्रिटिस जर्नल अफ डर्माटोलोजीको, विभिन्न अध्ययन अनुसार नियन्त्रित पराबैजनी किरण (यूभीबी÷यूभीए) सोरायसिस, एक्जिमा, सेतो दागको उपचारमा ७०–९० प्रतिशत प्रभावकारी मानिन्छ ।
प्रतिक्रिया 4