News Summary
Generated by OK AI. Editorially reviewed.- म्यानमारबाट भागेर थाइल्यान्ड पुगेका ३७ नेपालीलाई नेपाली दूतावासले स्वदेश फर्काएको छ।
- म्यानमारको म्यावडी, थाइल्यान्डको मेसोट र कम्बोडियामा रहेका २९ जनालाई चाँडै स्वदेश फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ।
- यी नेपालीहरू अनलाइन स्क्यामिङ केन्द्रमा काम गर्दै आएका थिए र म्यानमार प्रहरीले छापा मारेपछि भागेका थिए।
३ मंसिर, काठमाडौ । म्यानमारबाट भागेर थाइल्यान्ड पुगेका ३७ नेपालीलाई स्वदेश फर्काइएको छ ।
म्यानमारका सुरक्षाकर्मीले छापा मारेपछि भागेर थाइल्यान्ड प्रवेश गरेका उनीहरूलाई नेपाली दूतावास थाइल्यान्डले विभिन्न निकायसँग समन्वयमा स्वदेश फर्काइएको हो ।
त्यसैगरी म्यानमारको म्यावडीमा रहेका थप २३, थाइल्यान्डको मेसोटमा रहेका २ र कम्बोडियामा रहेका ४ जना गरी २९ जनालाई चाँडै स्वदेश फर्काइने दूतावासले जनाएको छ ।
उनीहरू आकर्षक रोजगारी प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमार पुगी अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रमा काम गर्दै आएका थिए ।
उनीहरू अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायत काममा संलग्न रहेको पाइएको थियो । ती क्षेत्रमा म्यानमार प्रहरीले छापा मारेपछि उनीहरू भागेर थाइल्यान्ड पुगेका थिए ।
नेपाल फर्काउन बाँकी २९ जनालाई म्यानमार, कम्बोडिया तथा थाइल्यान्डका सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएरमात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यान्मार, थाइल्यान्ड लगायत देशमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन दूतावासले अनुरोध गरेको छ ।

प्रतिक्रिया 4