+
+
WC Series
पोखरा एभेन्जर्स 2025
113/5 (13.1)
VS
४१ बलमा ८१ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

सहकारी पीडितको धैर्यको बाँध टुटेकै हो ?

७२ वर्षीय शाक्य यो उमेरमा पनि आन्दोलन, धर्ना र जुलुसमा सहभागी हुँदै आएका छन्, किनकि उनलाई बचत जो फिर्ता पाउनु छ ।

भुवन पौडेल भुवन पौडेल
२०८२ मंसिर ५ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सहकारी पीडितहरूले ५ मंसिर, काठमाडौंमा ३९ अर्ब ९३ करोड रुपैयाँ बचत फिर्ता माग गर्दै बुद्धनगर, बिजुलीबजार र माइतीघरमा प्रदर्शन गरे।
  • सरकारले २३ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ र ५८ हजार २ सय ८८ बचतकर्ताले अझै रकम फिर्ता पाउन बाँकी छ।
  • पीडितहरूले सहकारी सञ्चालक र राजनीतिक पार्टीका कार्यकर्ताले बचत रकम खाएको आरोप लगाउँदै सरकारको संरक्षणविरुद्ध नाराबाजी गरे।

५ मंसिर, काठमाडौं । डिल्लीबजारका बयोवृद्ध गजरत्न शाक्य पछिल्ला दिन सहकारी पीडित आन्दोलनमा लौरो टेकेर सहभागी हुँदै आएका छन् । उनी नेसनल सहकारीमा बचत गरेको १४ लाख रुपैयाँ फिर्ता पाउने आशामा दिनहुँ आन्दोलनमा सहभागी हुन्छन् ।

७२ वर्षीय शाक्य यो उमेरमा पनि आन्दोलन, धर्ना र जुलुसमा सहभागी हुँदै आएका छन्, किनकि उनलाई बचत जो फिर्ता पाउनु छ ।

हस्तकलाको काम गरेर छोरोछोरीको उच्च शिक्षाका लागि बचत गरेको रकम सहकारी सञ्चालकले खाएर बेपत्ता भएपछि उनी आफ्नो बचत फिर्ता पाउनेपर्ने भन्दै सरकारी निकाय तथा सडकमा उपस्थित हुने गरेका छन् ।

आज शुक्रबारको आन्दोलनमा पनि शाक्य लौरो टेक्दै बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय परिसर पुगेका थिए ।

यता शाक्यको भन्दा कम्ता पीडा छैन हिरा भण्डारीलाई । कर्मचारीका रूपमा कार्यरत हुँदा आफन्तलाई सम्झाइ–बुझाइ आइडियल यमुना सहकारीमा बचत गर्न लगाएकी भण्डारी अहिले आफ्नै श्रीमान्को पनि हुन नसकेको दु:खेसो गर्छिन् ।

आफन्तदेखि श्रीमान् सबैको करिब साढे ४ करोड रुपैयाँ त्यही सहकारीमा बचत गराइन् । अहिले सहकारी सञ्चालक र संस्थापकले संस्था डुबाएर भागेका छन् । अहिले श्रीमान्ले पनि ‘तैँले गर्दा’ भन्दै गाली गर्ने र आफन्तले पनि ‘तैँले गर्दा सबै डुब्यो’ भन्ने गरेको उनी सुनाउँछिन् ।

अहिले आफू दुई बच्चाको अनुहार सम्झेर मात्रै जीवित रहेको उनले भावुक भइन् । ‘बच्चा नभएको भए म जिउँदो रहन सक्ने अवस्था नै छैन,’ भण्डारीले भनिन् । आफ्ना र आफन्तहरूको बचत फिर्ता पाउनुपर्ने माग राख्दै सोही आन्दोलनमा उनी पनि सहभागी थिइन् ।

अर्का सहकारी पीडित यज्ञबहादुर श्रेष्ठ जिन्दगीभरिको कमाइ कान्तिपुर सहकारीले खाइदिएपछि बिचल्लीमा छन् । छोराले विदेशमा दु:ख गरेर कमाएको र आफूले काठमाडौंमा मजदुरी गरेर बचत गरेको करिब ४० लाख रुपैयाँ कान्तिपुर सहकारीले खाइदिएपछि आफू आन्दोलनमा आएको श्रेष्ठ बताउँछन् ।

हालसम्म कुनै पनि रकम फिर्ता नभएको उनले बताए । उनले आफ्नो, आफ्नो छोराको दु:खमात्र नभई छोरीज्वाइँको पैसासमेत सहकारीमै राखेका रहेछन् ।

ज्वाइँसहितको बचत फिर्ताको माग गर्दै उनी आन्दोलनमा सहभागी थिए । सहकारीमा बचत राख्दा पैसा त गयो–गयो सम्बन्धहरू पनि बचाउन नसकिने अवस्था रहेको उनको दु:खेसो छ ।

सहकारी पीडितले शुक्रबार काठमाडौं बुद्धनगर, बिजुलीबजार तथा माइतीघरमा प्रदर्शन गरे । सहकारी समस्या समाधानका लागि गठित सरकारी संस्थाहरूले समेत सहकारी ठग बचाउने काम गरेपछि पीडित आक्रोशित हुँदै अन्दोलनमा उत्रिएका हुन् ।

सहकारी पीडितका विभिन्न संघसंस्थाले बचत फिर्ता दिने कार्यमा विलम्ब भएको, सरकारले चासो नदिएको तथा उल्टै सहकारी ठग संरक्षण गरको भन्दै सरकार विरोधी नाराबाजी पनि गरे ।

जीवनभरि दु:ख गरी कमाएको पूँजी लगेर सहकारीमा बचत गर्दा  अहिले दैनिक जीवन नै अप्ठ्यारोमा परेपछि आन्दोलन गर्नुको विकल्प नभएको पीडित गजरत्न शाक्यले बताए ।

‘राजनीतिक पार्टीका कार्यकर्ताले सहकारी सञ्चालक गरेर आम सर्वसाधारणको पैसा खाए,’ शाक्यले भने, ‘जुन पर्टीको सरकार आए पनि आफ्नो कार्यकर्ता बचाउने मात्र काम गर्दा आम सर्वसाधारणले दु:ख पाउनुपरेको हो ।’

नेकपा ऐमाले र नेपाली कांग्रेसले पालैपालो सरकारमा जाने र आफ्ना कार्यकर्तालाई संरक्षण गरेकाले सहकारी समस्यामा परेको अर्का एक पीडितले बताए ।

विगतका सरकारले पार्टी नहेरी सहकारीको रकम अपचलन गर्नेलाई कारबाही गरेको भए आजको अवस्था नै नआउने उनको बुझाइ छ । ‘सहकारीको पैसाले राजनीतिक नेता र कार्यकर्ता मोटाए,’ ती पीडितले भने, ‘सर्वसाधारणको समस्या कसले सुन्ने कसले देख्ने ?’

सहकारी पीडितले आन्दोलन गरेको शुक्रबार पहिलो पटक होइन । विगतमा पनि बारम्बार अन्दोलन गरेका सहकारी पीडितको आक्रोश शुक्रबार अलि बढी नै देखियो ।

सहकारी समस्या व्यवस्थापन समितिको कार्यालय अगाडि धर्ना, नाराजुलुस गरेका पीडितले कार्यालको गेट तोडफोड गरे । आफूहरू शान्त हुँदा सरकारले कुरा नसुनेको उनीहरूको गुनासो छ । त्यसले गर्दा पनि शुक्रबारको आन्दोलन विगतभन्दा केही फरक देखियो ।

आन्दोलनमा सहभागी अर्का एक पीडितका अनुसार शुक्रबारको आन्दोलन बचत फिर्ता नपाएको आक्रोशसँगै राजनीतिक पृष्ठभूमिका व्यक्तिले सहकारी ठग बचाएको भन्नेमा बढी थियो ।

पछिल्लो समय कार्यालयले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक अर्थात् उक्त सहकारीका अध्यक्षकी श्रीमती सजना राजकर्णिकारलाई सहकारी कारोबारमा कुनै संलग्नता नरहेको भन्दै अदालतलाई क्लिन चिट लेखी दिएको विषयले पीडितलाई थप अक्रोशित बनाएको ती सहभागीले बताए ।

कारागारमा रहेकी सजनालाइ रिहा गर्न कार्यालयले सहयोग गरेपछि सरकारी निकायप्रति झन् अविश्वास बढ्दा पीडित थप आक्रोशित हुँदै आन्दोलनमा उत्रेको उनको भनाइ छ ।

सरकार तथा राजनीतिक पार्टीका कारण आफूहरूले दु:ख पाउनुपरेको उनको भनाइ छ । ‘पैसा राख्दा कानुन नचाहिने, फिर्ता लिन कानुन चाहिने ?,’ उनले भने, ‘सरकारले सहकारी खोल्न लाइसेन्स दिएकाले बचत फिर्ता पनि सरकारले नै दिनुपर्छ ।’

त्यसैगरी आफन्तसँगको सम्पर्क टुटेको करिब दुई वर्षभन्दा धेरै भएको बताउँदै पीडित हिरा भण्डारी पारिवारिक सम्बन्ध सहकारीका कारण समाप्त भएको सुनाउँछिन् ।

‘सहकारीका कारण पैसामात्र होइन सम्बन्धहरू पनि सकिए,’ उनले भनिन्,‘ अहिलेको जस्तो दण्डहीनता कायम रहने हो भने अब धेरै सहकारी पीडितको जीवन नै नहुने जोखिम छ ।’

आन्दोलनमा वृद्ध, अपांग समेत सहभागी थिए । हालसम्म सरकारले २३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । ती सहकारीबाट ३९ अर्ब ९३ करोडको माग दाबी भएकोमा ३५ अर्ब ४५ करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।

समस्याग्रस्त सहकारीबाट बचत फिर्ता पाउन बाँकी बचतकर्ताको संख्या ५८ हजार २ सय ८८ छ ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?